अज्ञात समूहद्वारा रौतहटको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी

रौतहट । रौतहटको इशनाथ नगरपालिकास्थित गएराति अज्ञात समूहले हनुमान मन्दिर र ब्रह्मबाबाको स्थानमा आगजनी गरेका छन् । इशनाथ– ५ जटहाराटोलस्थित रहेको सामुदायिक स्कुलको प्रांगण नजिकै हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ ।

सो मन्दिरमा रहेको हनुमानको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार सार्वजनिक भएको हो । आगलागीबाट हनुमानको मुर्ति र ब्रह्मबाबाको स्थानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलयकी प्रवक्ता एवं डिएस्पी एलिजा गिरीले जानकारी दिइन् ।

हिन्दूको अस्था रहेको दुवै मन्दिरमा कसैले पराल राखेर गएराति आगजनी गरेको देखेर घटनाबारे स्थानीयले बुधबार बिहान प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मीसहितको टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको प्रवक्ता डिएस्पी गिरीले जानकारी दिइन् ।

सामाजिक सद्भाव बिगार्न यस्ता राजक गतिविधि गर्ने दोषीलाई खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीयले प्रहरी प्रशासनसँग माग गरेका छन् । आगलागीबाट क्षतिग्रस्त भएको हनुमानको उक्त मूर्ति २५ वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् ।

प्रतिक्रिया