भारतको फैजावाद जिल्लाको अयोध्यामा यतिबेला विश्वकै भव्य राम मन्दिर निर्माण गरिएको छ । करिव २१ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको राम मन्दिरको सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । साथै भगवान् रामको नवनिर्मित मूर्तिको पनि सोही समारोहमा धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा गरिएको छ । १५औँ शताव्दीमा बनेको मस्जिद ३२ वर्षअघि भारतीय जनता पार्टीको मातृ संगठन राष्ट्रिय स्वयं सेवक संघका लडाकुहरूले राम मन्दिर बनाउने भन्दै भत्काइदिएका थिए । त्यस क्रममा दंगा हुँदा करिब दुई हजारको ज्यान गएको थियो । यही काण्डको जगमा भारतीय जनता पार्टी (भाजपा) ले हिन्दूहरूको मत आफूतिर तान्दै लग्यो । विगत दुई वटा निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरी भाजपाले सरकार चलाइरहेको छ । प्रधानमन्त्री मोदी दोस्रो कार्यकालको अन्त्यतिर छन् । अबको केही महिनापछि संसदीय निर्वाचन हुँदै छ । आगामी संसदीय चुनावमा हिन्दूहरूको थप मत आफूतिर तान्ने उद्देश्यले हतारहतार मन्दिरको उद्घाटन गरेको आरोप शंकराचार्यहरूले लगाएका छन् । मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठाको कार्यक्रम धार्मिक नभएर राजनीतिक भएको दावी शंकराचार्यहरूको छ । हिन्दू दर्शनमा शंकराचार्य भनेको सबैभन्दा माथिल्लो ओहोदा हो । हिन्दू दर्शनले प्रधानमन्त्री चिन्दैन । त्यसैले विवाद उत्पन्न भएको हो ।
भगवान राम जन्मेको स्थानमा परापूर्वकालदेखि मन्दिर रहेको र त्यो मन्दिरलाई भत्काएर मुस्लिम सम्राट बाबरले मस्जिद बनाएको कुरामा सबै हिन्दूहरू एक मत छन् । १५औँ शाताव्दीमा बनेको मस्जिद भत्काएर परापूर्व कालमा बनेको राम मन्दिर पुननिर्माण गर्नुपर्ने मामिलामा पनि हिन्दूहरूले सयौं वर्षदेखि आवाज उठाउँदै आएका थिए । यस सन्दर्भमा कानुनी लडाइँ पनि अघि बढेको थियो । अदालतले मन्दिरको पक्षमा फैसला गरिसकेको थियो । मस्जिदको ठाउँमा मन्दिर निर्माणको मार्ग अदालतद्वारा प्रसस्त हुनुमा आफ्नो मुख्य भूमिका रहेको दावी भाजपाले गर्दै आएको छ । तर भारतका उल्लेख्य हिन्दूधर्म गुरुहरू यो प्रकरणलाई राजनीतिभन्दा बाहिर राख्नुपर्ने अडानमा छन् । अहिले देखिएको विवाद त्यसैको उपज हो । तर, यो विवादले नेपालमा समेत तरंग ल्याएको छ । राम मन्दिर उद्घाटन तथा मूर्तिको प्राण प्रतिष्ठाको दिन नेपालको तराई क्षेत्रका दर्जनौँ पालिकाहरूले सार्वजनिक बिदा दिएका छन् । यो कार्यक्रम यदि धार्मिक हो भने स्थानीय तहहरूले आ–आफ्नो विवेक प्रयोग गर्नु स्वभाविक पनि हो । किनकी अयोेध्याको राम मन्दिर नेपालीहरूको पनि निकै नै ठूलो सरोकार भएको स्थल हो, प्रतिशतका आधारमा भन्नुपर्दा रामका भक्तहरूको जनसंख्या भारतमा भन्दा नेपालमा ठूलो छ । तर यो कार्यक्रम राजनीतिक हो भने नेपालमा बिदा दिइनु सरासर गलत हो । भारतीय बिस्तारवादको गन्ध हो ।
राजनीतिमा जातीय सम्प्रदाय तथा धर्म संप्रदाय मिसिनु भनेको प्रतिगमन हो । यसले समाजलाई अधोगतितिर लैजान्छ । दूरदर्शी राजनेता बिपी कोइरालाले २०३३ सालतिर भारत निर्वासनमा रहेको बेला भनेका थिए, ‘सत्ता सञ्चालनको जिम्मेवारी पाउने मूलधारका राजनीतिक दलहरूले बाटो बिराउँदै गए भने धार्मिक तथा जातीय अतिवादीहरू शासन सत्तामा पुुग्ने खतरा रहन्छ ।’ त्यतिबेला भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर जनताका अधिकार खोसेपछि बिपी कोइरालाले राजनीतिक भविष्यवाणी गर्दै भनेका थिए, ‘अब भारतमा क्षेत्रीय पार्टीहरू जन्मनेछन्, क्षेत्रीय पार्टीहरूको असफलतापछि राष्ट्रिय पार्टीको खोजी जनताले गर्नेछन्, त्यस क्रममा राष्ट्रिय पार्टीका रूपमा धार्मिक अतिवादी पार्टीको उदय हुनेछ ।’ नभन्दै भारतमा त्यही भइरहेको छ । नेपालमा पनि त्यसको बाछिटा आउन थालेको संकेत देखिएको छ । एकातिर हिन्दू धर्मको एजेन्डा बोक्न थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा भिड बढ्दै गएको छ । अर्कातिर भारतीय प्रधानमन्त्री मोदीका ‘फ्यान’हरूको संख्या पनि नेपालमा बढ्न थालेको छ । मोदीले उठाएको हिन्दू अतिवादी एजेन्डाको भेलले नेपालको राष्ट्रियता बगाइदिने त होइन ? भन्ने आशंका उत्पन्न हुनु स्वभाविकै हो ।
प्रतिक्रिया