ओझेलमा चतरा– हेटौंडा सडक निर्माण

दुई दशक अघि सप्तकोशी नदीमा आएको बाढीका कारण कोशी व्यारेजको पूर्वी तटवन्ध भत्कियो । भत्किएको ठाउँबाट कोशी नदीको एउटा भंगालो महेन्द्र राजमार्गलाई छिचोलेर दक्षिण तिर प्रवेश गर्यो । भंगालोलाई स्थायी रुपमा नियन्त्रण गरेर मुलधारमा फर्काउन महिनौ लाग्यो । यतिन्जेलसम्म कोशी पूर्वको क्षेत्र देशको बाँकी भूभागका लागि दुर्गम जस्तै बन्यो । लामो समयसम्म अवात जावत ठप्प भए पछि स्थायी बिकल्पको खोजीमा सरकार जुट्यो । कोशी नदी माथि चतरा क्षेत्रमा पुल निर्माण गरी सुनसरी र उदयपुर जोड्ने विकल्प अघि सारियो । सप्तकोशी माथि पक्की पुल निर्माण सहज थिएन । २०६३ सालमा अन्तरिम संविधान जारी भए पछि मधेसी आन्दोलन भयो । मधेसी आन्दोलनका कारण महेन्द्र राजमार्ग महिनौसम्म अवरुद्ध भयो । महेन्द्र राजमार्ग अवरुद्ध गरेर सरकारलाई घुँडा टेकाउन सकिन्छ भन्ने ठाने स्थानीय बासिन्दाले । सामान्य निहुँमा पनि राजमार्ग अवरुद्ध गर्ने सिलसिला सुरु भयो । यो सिलसिला पछि भने चतरामा पुल निर्माण गरी महेन्द्र राजमार्गको विकल्प खोज्ने कामले गति लियो । धेरै ठूलो प्रयास पछि चतरामा पक्की पुल बन्यो । पुल बने सँगै चतराबाट उदयपुर , सिन्धुली हुँदै हेटौंडासम्म जोड्ने सडक निर्माणका लागि स्थानीय बासिन्दा उत्साहित भए । सरकारले पनि बजेट छ्ट्याउन थाल्यो । चतरादेखि हेटौंडासम्मको दुरी जम्मा ४ सय किलोमिटर हो । पूर्वी नेपालका लागि महेन्द्र राजमार्ग भन्दा भन्दा पनि छोटो पर्ने भएकोले यो सडक खण्ड निर्माणका लागि स्थानीय तहहरुले पनि चासो दिए ।

अहिले मदन भण्डारी राजमार्गका रुपमा चर्चामा रहेको सडकमध्ये सबै भन्दा महत्वपूर्ण खण्ड भनेकै चतरा–हेटौंडा खण्ड हो । नेकपा एमालेको नेतृत्वमा सरकार भएका बेला यो सडक खण्डलाई महेन्द्र राजमार्गको समानान्तर हुने गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म तन्काउने र मदन भण्डारी राजमार्ग नाम राख्ने योजना अघि बढेको हो । प्रस्तावित मदन भण्डारी राजमार्गको कुल लम्वाई १३ सय ९० किलोमिटर रहेको छ । जसमध्ये हेटौंडादेखि नारायणगढसम्म साविकको महेन्द्र राजमार्ग हो । नारायणगढबाट पश्चिम तर्फ भने कालिगण्डकी नदीको किनारै किनार रिडी पुर्याउने , रिडीबाट बाडीगाड नदीको किनारै किनार प्युठान पुर्याउने , प्युठानबाट घोराही तुल्सीपुर हुँदै सुर्खेत पुर्याउने र सुर्खेतबाट डोटी हुँदै डडेलधुराको जोगबुडा पु¥याउने गरी रेखांकन गरिएको छ । यसरी रेखांकन भएकोमध्ये नारायणगडदेखि रिडी खण्ड निर्माणको काम कालीगण्डकी कोरिडोर सडकका नाममा भइरहेको छ । घोराहीदेखि सुर्खेतसम्म पनि ट्रयाक खुलिसकेको छ । तर यही रफ्तारमा काम हुने हो भने आगामी २० वर्ष सम्म पनि मदन भण्डारी राजमार्ग पुरै संचालन संभव छैन । यो कुरा सकारमा रहनेहरुले पनि बुझेकै छन् ।

सरकारले सबै भन्दा महत्वपूर्ण र अपरिहार्य मानिएको चतरा– हेटौंडखण्डलाई पहिलो प्राथकितामा राखेको छ । २०८२ साल भित्रमा यो खण्डको निर्माण सक्ने भनिएको थियो । तर म्याद सकिन एक वर्ष बाँकी रहँदा सम्म निर्माणको काम ६० प्रतिशत पनि पुरा भएको छैन । सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा आयोजनाले गति लिन नसकेको सडक विभाग, मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । सरकारले चालु आवमा आयोजनाका लागि २ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । आयोजनालाई गति दिन प्रत्येक आर्थिक वर्षमा ६ देखि ७ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने कार्यालयका सूचना अधिकारी बद्रीप्रसाद शर्माको भनाई छ । फेरी मधेसी आन्दोलन नभएसम्म वा कोशी नदीले वितण्डा नमच्चाए सम्म यो सडक खण्डबारे सरकारले चासो नदिने हो की ? भन्ने आशंका उत्पन्न भएको छ । त्यसो त आर्थिक कारण मात्रै होइन, रणनीतिक दृष्टिले पनि यो सडक खण्ड महत्वपूर्ण छ । किनकी भारतको नियन्त्रणमा रहेको कोशी ब्यारेज प्रयोग नगरी नहुने वाध्यताको अन्त्य तब हुनेछ, जब मदन भण्डारी राजमार्गको चतरा–हेटौंडा खण्ड निर्माणको काम सम्पन्न हुनेछ ।

प्रतिक्रिया