कति गिजोल्छौ मेलम्चीलाई ?

३२ वर्षअघि २०४८ सालको आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई काठमाडौं क्षेत्र नं १ बाट उम्मेद्वार बनेका थिए । भोट माग्न जाँदा सबैजसो गृहणीहरूले खानेपानीको समस्या बताएको सुनेपछि नयाँ बानेश्वर चोकमा आयोजित आमसभामा बोल्दै उनले भने, ‘काठमाडौंमा खानेपानीको समस्या हामीले सोचेभन्दा विकराल रहेछ, अझै विकराल हुने अवस्था रहेछ, अब उपत्याकाका अरू स्रोतले धान्दैन, सिन्धुपाल्चोकमा मेलम्ची नाम गरेको खोला छ, त्यहीँबाट पानी ल्याएर खुवाउँछु ।’ त्यतिबेला राजधानीबासीले मेलम्ची खोलाको नामसमेत सुनेका थिएनन् । जसले नाम सुनेका थिए, जसलाई काठमाडौंबाट मेलम्चीसम्मको दुरी थाहा थियो, उनीहरूले प्रधानमन्त्री भट्टराईलाई पागलको संज्ञा दिए । प्रतिस्पर्धी उम्मेद्वार तथा पार्टीहरूले पागल प्रधानमन्त्री भन्दै देशव्यापी नारा बनाए । नभन्दै प्रधानमन्त्री भट्टराईले चुनाव हारे । आफू पागल नभएको पुष्टि गर्नका लागि पनि उनले मेलम्चीको पानी काठमाडौं ल्याउनै पर्ने थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुआत गर्न उनी फेरी प्रधानमन्त्री बन्नै पर्ने थियो । थप सात वर्षको प्रयासमा २०५६ सालमा उनी दोस्रोपटक प्रधानमन्त्री बने । प्रधानमन्त्री नियुक्त हुनासाथ पहिलो कामका रूपमा भट्टराईले मेलम्ची खानेपानी आयोजना निर्माण प्रक्रिया सुरु गरे । निर्माणको काम सुरु भएको २२ वर्ष पछि २०७७ साल चैतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा झ¥यो । तत्कालीन राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । मेलम्चीको पानी काठमाडौं उपत्यकामा झार्ने काम सम्पन्न गर्न २२ वर्ष किन लाग्यो ? भन्ने प्रश्नको पनि छुट्टै पाटो छ । किनकी शिलान्यास र उद्घाटन बीचको २२ वर्षको अवधिमा नेपालमा धेरै नै ठूला राजनीतिक उतारचढाव तथा घटना भए, यी सबै घटनाको निशानामा मेलम्ची खानेपानी आयोजनासमेत प¥यो । शाही शासनकालमा त मेलम्ची खानेपानी आयोजनामा संलग्नहरूलाई खोजी खोजी झुठा मुद्दा लगाएर जेल हालियो ।

तत्कालीन राष्ट्रपति भण्डारीद्वारा उद्घाटन गरिएको पनि आगामी चैतदेखि तीन वर्ष पूरा भएर चार वर्ष लाग्छ । उद्घाटन भनेको निर्माणको काम सम्पन्न भएर प्रयोगमा आउन थालेको प्रमाणित गर्नु हो । तर हरेक वर्ष मेलम्चीको पानी उद्घाटन गर्ने सिलसिला जारी छ । यही सिलसिलालाई निरन्तरता दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही माघ १ गते सोमबार मेलम्चीको पानी उद्घाटन गरे । त्यसो त मेलम्चीको पानी उपभोक्ताका धारामा नआउँदै २०७७ साल फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गरेका थिए । त्यस यता राष्ट्रपति भण्डारी तत्कालीन खानेपानी मन्त्रीहरू उमाकान्त चौधरी, मन्त्री विना मगर, मणिचन्द्र थापा, खानेपानी राज्यमन्त्री रामवीर मानन्धर लगायतले मेलम्चीको पानी उद्घाटन गरेका थिए । बास्तवमा मेलम्ची खानेपानी आयोजना निर्माणको काम अझै सम्पन्न भएको छैन । मेलम्ची खोलामा स्थायी बाँध निर्माणको काम नै बाँकी छ । अस्थायी बाँध बनाएर हरेक वर्ष हिउँदमा पानी ल्याउने र तामझमका साथ उद्घाटन गर्ने सिलसिला जारी छ । यो सिलसिलाले अझै कति वर्ष निरन्तरता पाउने हो ? भन्ने टुंगो छैन ।

मेलम्चीलाई जस्तै धेरै विकास आयोजनालाई भ्रष्टाचारको दलदलमा धसाएर गिजोलिएको छ । निर्माण सुरु भएको दशकौँसम्म पनि सम्पन्न नभएका आयोजनाहरूको सूची निकै लामो छ । तर उद्घाटनको हिसाबले भने मेलम्ची खानेपानी आयोजनाले रेकर्ड तोडेको छ । किनकी तीन वर्षको अवधिमा पाँचपटक उद्घाटन गरिसकिइएको छ । वर्षा याममा बाढी आएर अस्थायी बाँध भत्काउने र हिउँदमा मर्मतसम्भार गरेर पानी ल्याउने सिलसिला जारी रहेसम्म उद्घाटनको सिलसिला पनि जारी रहने हो कि ? जस्तो देखिएको छ । करिब २० अर्ब रुपैयाँ लागतमा ६ वर्षभित्र सम्पन्न गर्ने स्टमेटका साथ निर्माण सुरु भएको २५ वर्ष पुगिसकेको छ । करिब ४० अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर स्थायी बाँध कुन ठाउँमा बनाउने ? भन्ने टुंगो अझै लागिसकेको छैन । काठमाडौं उपत्याकामा १५ लाख जनसंख्या हुँदा यो आयोजना निर्माण थालएको हो । अहिले जनसंख्या बढेर ४० लाख नाघिसकेको छ । मेलम्चीको पानीले मात्रै अब उपत्यकाको माग धान्ने अवस्था छैन । पुरक आयोजनाका रूपमा याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने गरी त्यतिबेलै स्टमेट भएको हो, तर याङ्ग्री र लार्के खोलाको पानी मिसाउने योजना अघि बढाउने सुरसार नै गरिएको छैन ।

प्रतिक्रिया