पोखरिया । सहर उन्मुख बन्दै गरेको पर्साको पोखरिया नगरपालिकाले पछिल्लो समय राजस्व संकलनमा फड्को मारेको छ । गत आर्थिक वर्षको तुलनामा २० लाख बढी राजस्व संकलन गर्ने बाटोमा पोखरिया नगरपालिका लम्केको छ । गत आर्थिक वर्षमा ४० लाख राजस्व संकलन गरेको यस नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामै ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले जानकारी दिए ।
‘चालु आर्थिक वर्ष २०८०/०८१ मा कुल ४५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ’, उनले भने, ‘तर चालु आर्थिक वर्षको ६ महिनामै अपेक्षाभन्दा बढी राजस्व संकलन गरिएको छ ।’ यही अनुपातमा राजस्व वृद्धी हुने हो भने चालु आर्थिक वर्षमा लक्ष्यभन्दा १५ लाख रुपैयाँ बढी राजस्व संकलन हुने अनुमान गरिएको उनले बताए । मालपोत कर, जन्मदर्ता, व्यक्तिगत घटनादर्ता, मृत्युदर्ता, सिफारिस दस्तुर, बजार ठेक्का, पोखरी ठेक्का लगायतका शीर्षकबाट कर संकलन भइरहेको उनले जानकारी दिए ।
विगतमा अस्तव्यस्त रहेको पोखरिया नगरपालिकाका मेयर प्रदुमनप्रसाद चौहान र प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवको सक्रियताकै कारण राजस्व संकलनमा भारी वृद्धी भएको नगरपालिकाका जिन्सी शाखा प्रमुख मनोज साहले बताए ।
‘नगरपालिकाको उन्नति प्रगतिमा दुबै सर लाग्नुभएको छ’, उनले भने, ‘वर्षौंदेखि अलपत्र परेको बजार ठेक्का र पोखरी ठेक्का उहाँहरूकै पहलमा भएको हो ।’ दुबै जनाको समन्वयकारी भूमिकाकै कारण नगरपालिकाले राजस्व वृद्धीमा मात्र होइन् । नगरको समुचित विकासमै नगरपालिकाले पछिल्लो समय फड्को मारेको उनले बताए ।
विगत पाँच वर्षदेखि ठेक्का नलागेर पोखरिया बजार अलपत्र अवस्थामा थियो । तर, प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेपछि ठेक्का राजस्व संकलनसहित कार्यालय सिस्टममा अगाडि बढेको आफूले अनुभूति गरेको मेयर चौहानले बताए । राजस्व संकलन गर्न नसकिएको पोखरिया बजार टेन्डर प्रक्रियाबाट यस वर्ष तीन लाखमा ठेक्कामा गएको उनले जानकारी दिए ।
त्यति मात्र होइन, नगर क्षेत्रको अलपत्र पोखरीको पनि यस वर्ष ठेक्का लागेको उनले जनाए । पाँच वर्षदेखि ठेक्का नलागेर राजस्व खेर गइरहेको १० वटा पोखरीलाई ठेक्का प्रक्रियामा लगिएको उनले बताए । ‘पोखरी ठेक्कामा लगाउने सूचनासमेत प्रकाशित भइसकेको छ’, उनले भने, ‘ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको पोखरीबाट कम्तीमा ५० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेका छौँ ।’ आन्तरिक आयमा द्रुत गतिमा वृद्धी भइरहेको र यसबाट नगरको विकास निर्माण लगायतका सेवामा ठुलो टेवा पुग्ने विश्वास लिइएको उनले बताए । आन्तरिक आयमा बढोत्तरी भएसँगै पोखरिया नगरपालिकाले भौतिक संरचना निर्माण, प्रशासनिक कार्य लगायतमा उल्लेखनीय भूमिका खेल्ने विश्वास आफूले लिएको उनले जानकारी दिए । आन्तरिक आय बढेपछि आर्थिक अवस्था कमजोर भएका व्यक्ति, परिवार, विपत्मा परेका परिवार, बिरामी भएका नगरवासीलाई सहयोग गर्ने वातावरण बन्ने उनको भनाइ छ ।
प्रतिक्रिया