भूकम्प सुरक्षा दिवस मनाइँदै

प्राकृतिक प्रकोपहरू आफैँमा दुःखदायी हुन्छन् । त्यसमाथि पनि भूकम्प भनेको यस्तो प्राकृतिक प्रकोप हो, जसको पूर्वसूचना त परै जाओस् संकेतसम्म पनि पाउन सक्ने प्रविधि अहिलेको विज्ञानले समेत बनाउन सकेको छैन । त्यसैले भूकम्पलाई गम्भीर खालको प्राकृतिक प्रकोपका रूपमा लिइने गरिएको छ । भौतिक पूर्वाधार निर्माण कसरी गर्ने ? र भूकम्प आइसकेपछि जोगिन के उपाय गर्ने ? तथा भूकम्पपछिको राहत र उद्धारमा कसरी जुट्ने ? भन्ने जनचेतनालाई नै सर्वोपरी मानिएको छ । यही जनचेतना दिने उद्देश्यले नेपालमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको छ । १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा विनाशकारी भूकम्प गएको सम्झनामा विगत २५ वर्षदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । दुई वटा उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । पहिलो हो, ‘भूकम्पबाट हुने क्षति तथा क्षतिबाट बच्ने उपायबारे व्यापक जनचेतना अभिवृद्धि गराउनु ।’ दोस्रो हो, ‘भूकम्पको क्षतिपछिको पुनर्निर्माणमा सरकार सक्षम छ भन्ने विश्वास जनतालाई दिलाउनु ।’ तर उद्देश्य पूरा गर्नभन्दा पनि कर्मकाण्डकै रूपमा भूकम्प सुरक्षा दिवस मनाउने गरिएको कुरा २०७२ सालमा पुष्टि भयो । देशले १७ पटक राष्ट्रिय भूकम्प दिवस मनाइसक्दा २०७२ सालमा ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्प गएको थियो । भूकम्पले निकै ठूलो क्षति पुर्यायो । तत्काल उद्धार हुन नसक्दा कैयौँको ज्यान गयो । समुचित राहत पुर्याउन नसक्दा पनि कैयौँको ज्यान गयो ।

इतिहास पढ्ने हो भने नेपालमा ठुल्ठूला भूकम्प गएको पाइन्छ । त्यसमध्ये १९९० सालको भूकम्पका अनुभवीहरू अझै पनि छन् । आजभन्दा आठ वर्षअघि गएको २०७२ सालको भूकम्पका कहालीलाग्दा स्मृतिहरू हामी सबैको दिमागमा अहिले पनि ताजा छन् । तर, जोखिम न्यूनीकरण हुने बासस्थान (घर) निर्माण गर्ने, उद्धार तथा राहत व्यवस्थित गर्ने मामिलामा हामी अझै पनि सचेत छैनौँ भन्ने कुरा केही महिनाअघि जाजरकोटमा गएको मझौला खालको भूकम्पका क्रममा पुष्टि भएको छ । वास्तवमा जाजरकोट भूकम्प २०७२ सालको भन्दा ज्यादै सानो हो । तर कैयौँको ज्यान गयो । तत्कालीन उद्धारमा राज्य संयन्त्र चुक्यो । राहतको कुरा गर्ने हो भने त झन दर्दनाक छ । घरबारविहीन भएकाहरूलाई तत्काल त्रिपालको व्यवस्थासमेत भएन । भूकम्पका क्रममा भत्किएका भौतिक संरचनाले पुरिएर मृत्यु हुनेको संख्याभन्दा भूकम्पपछि राहत नपाएर मृत्यु हुनेको संख्या बढी देखियो । कोही चिसोले कठ्यांग्रिएर मरे, कोही झाडापखालालगायत सरुवा रोगका कारण मरे ।

भूकम्प रोक्न नसकिने र पूर्वसंकेतसमेत नपाइने प्राकृतिक प्रकोप हो । त्यसैले भूकम्पको जोखिम न्यूनीकरणका उपायहरू सीमित छन् । त्यसमध्येको मुख्य उपाय हो, ‘बलिया भौतिक संरचना निर्माण गर्ने ।’ सर्वप्रथम आफू बस्ने घर–भवन बलियो बनाउनुपर्छ । अग्ला घर बनाउनै हुँदैन । कस्तो घर–भवनले कति रेक्टर स्केलसम्मको भूकम्प धान्न सक्छ ? भन्ने प्रविधि विकास भइसकेको छ । यस्तो प्रविधि र सीप भएको जनशक्तिको कमी नेपालमा छैन । तर, निर्माण खर्च कम गरी पैसा जोगाउने नाममा आफू बस्ने घर कमजोर निर्माण गर्नेहरूको संख्या २०७२ सालको भूकम्पपछि पनि बाँकी नै छ । भूकम्प आफँैले हामीलाई मार्ने हैन बरु भूकम्प आएपछि हामीहरूले बनाएका घर अनि गाह्राहरूले किचेर हाम्रो ज्यान जान्छ भन्ने कुरा थाहा छ । यति हुँदाहुँदै पनि सरकारको आँखा छलेर भ्रष्टकर्मचारीको मिलेमतोमा आफैँ बस्ने घरसमेत धरापजस्तो बनाउनेहरू पनि छन् । भूकम्पपछि जोगिनका लागि खाली ठाउँहरू आवश्यक पर्छ भन्ने कुरा थाहा छ, तर खाली सार्वजनिक जग्गाहरूसमेत मिचेर व्यक्तिका नाममा लैजाने र अग्ला घर निर्माण गर्ने दुश्चक्र अझै जारी छ ।

प्रतिक्रिया