मधेसबाट करिब दुई लाखले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि युवाहरू पलायन हुने बढदो

जनकपुरधाम । वैदेशिक रोजगारीका लागि मधेसबाट युवाहरू पलायन हुने क्रम बढदो रहेको छ । नेपाल राष्ट्र बैंक जनकपुरधामले मधेस प्रदेशको आर्थिक गतिविधि अध्ययन गरी सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या लाखाँै रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा मधेस प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १ लाख ८१ हजार ६ सय १३ रहेको छ जुन संख्या मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २३ दशमलव ५५ प्रतिशत रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

समष्टिगतरूपमा मधेस प्रदेशको आर्थिक स्थितिलाई अध्ययन गरी नेपाल राष्ट्र बैंक जनकपुरधामले आर्थिक वर्ष २०७९/०८० को मधेश प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

समष्टिगत आर्थिक स्थितिलाई नियाल्दै यस आर्थिक वर्षको कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहने बैंकले अनुमान गरेको छ । भने मधेस प्रदेशको कुल ग्रार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ७ खर्ब ७ अर्ब रुपैयाँ रहने अनुमान गरेका बैंकका निर्देशक अशोक घिमिरेले जनाएका छन् ।
त्यस्तै कुल गार्हस्थ्य उत्पादन वृद्धि दर चालु आर्थिक वर्ष २०८०÷०८१ मा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत अनुमान गरिएकोमा मधेस प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ६९ प्रतिशत रहने अनुमान गरिएको छ ।
मधेस प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३५ दशमलव २ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान शून्य दशमलव दुई प्रतिशत खानी तथा उत्खनन क्षेत्रको रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा मधेस प्रदेशमा प्रमुख कृषि उपज खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्रफलमा ३ दशमलव १६ प्रतिशतले वृद्धि भई १० लाख ३७ हजार ४४ हेक्टर पुगेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस आर्थिक वर्षमा प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा ३ दशमलव २५ प्रतिशतले ह्रास आएको छ । जसले गर्दा ६१ लाख ८२ हजार १ सय ३४ मेट्रिक टन पुगेको जनाइएको छ ।

मधेस प्रदेशमा समीक्षा वर्षमा दूधको उत्पादनमा १ शदमलव ७० प्रतिशत, मासुको उत्पादनमा १ दशमलव ३७ प्रतिशत, अण्डाको उत्पादन १ दशमलव ८८ प्रतिशत र माछाको उत्पादनमा ५ दशमलव २७ प्रतिशत वृद्धि भएको जनाइएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट मधेस प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा कुल कर्जाको १२ दशमलव ५५ प्रतिशत पुगी ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको जनाइएको छ ।

त्यस्तै उद्योग क्षेत्र तर्फको समीक्षा वर्षमा मधेस प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ५४ दशमलव २५ प्रतिशत रहेको छ भने उत्पादन वृद्धि औसतमा ५ दशमलव २३ प्रतिशत रहेको जनाइएको छ ।
त्यस्तै समीक्षा वर्षमा मधेस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७ दशमलव ३० प्रतिशतले वृद्घि भई १ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । मधेस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स एवं धातुका सामान उत्पादनतर्फ पाँच प्रतिशत, निर्माण उद्योगतर्फ ६ प्रतिशत, खानी उद्योगतर्फ दुई प्रतिशत र विद्युत्, ग्याँस तथा पानी उद्योगतर्फ एक प्रतिशत कर्जा प्रवाह भएको सो प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सेवा क्षेत्रतर्फको समीक्षा वर्षमा मधेस प्रदेशको पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीहरूको संख्या र पर्यटकको आगमनमा क्रमशः ३६ दशमलव ९९ प्रतिशत र ५५ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा घरजग्गा रजिस्ट्रेसन संख्यामा ७५ दशमलव २७ प्रतिशतले ह्रास भएको छ भने घरजग्गा रजिस्ट्रेसनबाट संकलित राजस्वमा २६ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले समीक्षा वर्षमा मधेस प्रदेशबाट संकलन गरेको कुल निक्षेप १३ दशमलव २५ प्रतिशतले वृद्धि भई २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने यस प्रदेशमा प्रवाह गरेको कर्जा ४ दशमलव ६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ५० अर्ब २१ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै पूर्वाधार र रोजगारी क्षेत्रतर्फको मधेस प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम रहेको सो प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया