बंगलादेशले दिएको सन्देश

बंगलादेश अवामी लिग पार्टीकी नेतृ शेख हसिना वाजेद लगाार चौथो कार्यकालका लागि प्रधानमन्त्री पदमा निर्वाचित भएकी छिन् । सन् २००९ देखि उनी लगातार प्रधानमन्त्री पदमा निर्वाचित भइरहेकी छन् । उनको पार्टीले सन् २००९ देखि यताका हरेक निर्वाचनमा संसदीय सिट उल्लेख्य रूपमा वृद्धि गरेको छ । यसपटक त अवामी लिगले संसद्मा करिब दुईतिहाइ सिट हासिल गरेको छ । हसिना नेतृत्वको आवामी लिगले संसद्को २ सय ९८ सिटमध्ये २ सय २२ सिट जितेको छ । चौथोपटक प्रधानमन्त्री पदमा नियुक्त भएपछि बुधवबर हसिनाले मिडियासँग भनेकी छिन्, ‘आगामी १० वर्षभित्र विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका १० वटा देशहरूको सूचीमा बंगलादेशको नाम पनि समावेश हुनेछ ।’ सन् २००९ मा हसिनाले प्रधानमन्त्रीको कार्यभार संहाल्दै गर्दा बंगलादेश विश्वका गरिब र अविकसित देशहरूको सूचीमा थियो । एकतिहाइ जनसंख्या गरिबीको रेखामुनि थिए । बेरोजगारी व्याप्त थियो । तर यतिबेला बंगलादेश विश्वको ३४औँ ठूलो अर्थतन्त्र भएको देश बनेको छ । गरिबीको रेखामुनि रहेको जनसंख्या १० प्रतिशतमा झरेको छ । विकासका भौतिक पूर्वाधार निर्माणको काम सकेर बंगलादेशले विश्वलाई नै चकित पार्ने नौ किलोमिटर लामो पद्मा नदी पुल, तीन किलोमिटर लामो समुन्द्रमुनिको कर्णफुली सुरुङ सडक, ढाका मेट्रो रेल निर्माण गरिसकेको छ । आणविक केन्द्र निर्माण गरी ऊर्जामा आत्मनिर्भर बन्न बंगलादेश सफल भइसकेको छ । शेख हसिना वाजेद लगातार चारपटकसम्म प्रधानमन्त्री पदमा निर्वाचित हुनुको मुख्य कारण यही हो ।

सन् १९७१ मा पाकिस्तानबाट टुक्रेर बनेको बंगलादेशले सन् १९७४ मा ठूलो भोकमरीको सामाना गरेको थियो । त्यस यता बंगलादेशले चरम राजनीतिक अस्थीरता बेहोरेको थियो । जब हसिना वाजेदले राजनीतिक स्थिरता दिइन् तब बंगलादेशले विकास तथा आर्थिक समृद्धि हासिल गरेको हो भन्ने कुरामा दुईमत छैन । विकास र आर्थिक समृद्धिका लागि शासन सत्तामा स्थिरता हुनैपर्ने रहेछ भन्ने सन्देश सर्वप्रथम उत्तरको छिमेकी मित्रराष्ट्र चीनले विश्व समुदायमा दिएको थियो । दक्षिणको छिमेकी मित्रराष्ट्र भारतले पनि शासन सत्तामा स्थिरता कायम गर्दै उत्साहजनक आर्थिक समृद्धि तथा विकास गरिरहेको छ । अस्थीर शासन सत्ता हुँदा देशको हालत के हुँदो रहेछ ? शासन सत्तामा स्थिरता आएपछि देशले के कस्तो गति लिँदो रहेछ ? भन्ने ज्वलन्त तथा स्पष्ट उदाहरण बुझ्न भारत र बंगलादेशको तुलना गर्दा पुग्छ । पाकिस्तान लगातार अधोगतिमा जाँदा अहिले दयनीय अवस्थामा पुगेको छ, यता बंगलादेशले लगातार प्रगति गर्दै जाँदा विश्वमा आफ्नो प्रभाव विस्तार गर्ने हैसियतमा पुगेको छ ।

बंगलादेशको आर्थिक प्रगतिबाट नेपालले पनि लाभ प्राप्त गर्ने संभावना बढेको छ । किनकी सन् २०२३ मा नेपाल घुम्न आउने करिब १० लाख पर्यटकहरूमध्ये बंगलादेशी पर्यटकहरूको संख्या करिब ४० हजार छ । यो संख्या अघिल्लो वर्षको तुलनामा तेब्बर हो । बंगलादेशसँग नेपालको सीमा जोडिएको छैन, तर भारतको बाटो हुँदै नेपालको बिजुली आफ्नो देशमा लैजाने अभियानमा बंगलादेश सफल भएको छ । किनकी बंगलादेशलाई चिढ्याउने तथा हेप्न सक्ने अवस्थामा अब भारत छैन । यसको मुख्य कारण भनेकै बंगलादेशले हासिल गरेको आर्थिक प्रगति हो । बंगलादेशका जनताबाट पाठ सिक्दै भारतीय जनताले पनि शासन सत्तामा स्थिरता कायम गर्न थालेका छन् । लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका नरेन्द्र मोदी तेस्रो कार्यकाल पनि प्रधानमन्त्री निर्वाचित हुने अनुमान गरिन थालिएको छ । छिमेकी देश चीन, बंगलादेश तथा भारतबाट पाठ सिक्दै स्थिर शासन सत्ताको उपायतर्फ नेपाल जुट्न ढिलाइ भइसकेको छ ।

एक–डेढ वर्षमा सरकार परिवर्तन भइरहने दुश्चक्रबाट हामी नेपाली मुक्त हुनैपर्छ । कम्तिमा पनि पाँच वर्षसम्म एउटै सरकारले काम गर्न पायो भने देशको अर्थतन्त्र लयमा आउन सक्छ । तर हामीले संविधानमा यस्तो निर्वाचन पद्धति राखेका छौँ, जसका कारण कुनै एउटा पार्टीको बहुमत आउने संभावना ज्यादै नै न्यून छ । निर्वाचनको यो पद्धति अब परिवर्तन हुनुपर्छ । संविधान जारी भएको पनि आठ वर्ष बितिसकेको छ । हरेक १०–१० वर्षमा संविधानका प्रावधानहरू पुनरावलोकन गर्ने प्रचलन छ । हाम्रो संविधान पनि पुनरावलोकन गर्ने बेला आइसकेको छ । अबको चार वर्षपछि हुने आमनिर्वाचनमा समानुपातिक सिट संख्या कम्तिमा पनि दुईतिहाई घटनाउनुपर्छ । सिमान्तकृत समुदायबाहेक अरूलाई समानुपातिक कोटा जरुरी छैन ।

प्रतिक्रिया