वीरगञ्ज । अवैध भारतीय कुखुराको चल्ला पर्सा प्रहरीले नष्ट गरेको छ । भारत तथा नेपालबाट अवैध कुखुरा पशुपंक्षीजन्य वस्तु ओसारपसारमा रोक लगाएको अवस्थामा भारतबाट अवैधरुपमा भारतीय बोइलर कुखुराको चल्ला पर्सा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
चोरी पैठारी गर्ने कार्य नियन्त्रण तथा निरुत्साहित गर्नको लागि यस कार्यालयबाट थालनी गरिएको विशेष अभियानअन्तर्गत अवैधरुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई लुकाई छिपाई नेपालतर्फ भित्र्याउँदै गरेको भन्ने सूचना अनुसार खोजतलास तथा पक्राउको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका– २१ डकैलाबहुअरीस्थित सडकखण्डमा भारतबाट नेपालतर्फ BR05D 9725 र BR05Q 3265 नम्बरको मोटरसाइकलहरुमा ३८०० वटा भारतीय कुखुराको चल्ला ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी फरार भएकाले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आजै पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियामार्फत वीरगञ्ज महानगरपालिका– १९ तिलावे खोलाको बगरमा लगी सो चल्लाहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
साथै BR05D 9725 र BR05Q 3265 नम्बरको मोटरसाइकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाटै आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया