कोलम्बो–लुम्बिनी उडानको पहल

भैरहवामा नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र श्रीलंकाबीच सिधा हवाई उडान गर्ने पहल सुरु भएको छ । दुई वर्षअघि सुरु गरिएको काठमाडौं र कोलम्बोबीच हवाई उडानले सकरात्मक परिणाम दिएपछि कोलम्बोबाट लुम्बिनीसम्म सिधै हवाई उडान गर्ने पहल सुरु भएको हो । यही पुस ५ गते नेपाल भ्रमणमा आएका श्रीलंकाका विदेशमन्त्री एमयुएम अली साब्रीसमक्ष नेपालले लुम्बिनीमा पनि सिधा हवाई उडानका लागि आग्रह गरेको थियो । त्यतिबेला श्रीलंकाका विदेशमन्त्री साब्रीले छिटै पहल गर्ने वचन दिएका थिए । नेपालमा रहेका श्रीलंकाली राजदूत सुदर्शना पाथिराना आफैँमा हवाई उडान विज्ञ हुन् । सोमबार गौतमबुद्ध जन्मस्थल पुगेर राजदूत पाथिरानाले गौतमबुद्ध विमानस्थलका सबै अवहेवको अध्ययन गरेका छन् । श्रीलंकामा एयर फोर्स चिफसमेत रहेर काम गरिसकेका राजदूत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडानका लागि आप्mनो पहल हुने जनाएका छन् । उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष खेम्पो छिमेछिरिङ डा.ल्यारक्याल लामाले लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहलका लागि आग्रह गरे । श्रीलंका बौद्ध राष्ट्रसमेत रहेको र लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकमा सबैभन्दा बढी श्रीलंकाका नागरिक भएकाले पनि यहाँको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कोलम्बोबाट सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउन चाहने श्रीलंकनलाई निकै सहज हुने उपाध्यक्ष लामाको भनाइ थियो । राजदूत पाथिरानाले बुद्धजन्मस्थल लुम्बिनीजस्तो पवित्र स्थान आउन धेरै श्रीलंकन इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्कालै काम अघि बढाउने बताए ।

लुम्बिनी र श्रीलंकाबीच सिधै हवाई उडान संभव छ भन्ने कुरा तथ्यगत रूपमा पनि पुष्टि भइसकेको छ । पहिलो कुरा २०७८ भदौ १५ देखि साताको दुई दिन काठमाडौं र श्रीलंकाबीच सिधा हवाई उडान भइरहेको छ । यात्रुहरू खचाखच हुने गरेका छन् । दोस्रो कुरा सन् २०२३ मा श्रीलंकाबाट १५ हजार पर्यटक हवाई मार्गमार्फत नेपाल आएका छन् । उनीहरू सबैजसो गौतमबुद्ध जन्मस्थल लुम्बिनी पुगेको देखिएको छ । यसका साथै हवाई मार्गमार्फत भारत आउने र भारतबाट स्थलगत मार्गमार्फत लुम्बिनी भ्रमणमा आउने श्रीलंकाली पर्यटकहरूको संख्या पनि उल्लेख्य छ । हाल साताको दुई दिन मंगलबार र शनिबार श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरले काठमाडौं–कोलम्बो उडान गरिरहेको छ । जसमध्ये परीक्षण स्वरूप एउटा उडान लुम्बिनीमा गर्न श्रीलंकन एयर स्वयं इच्छुक देखिएको छ । तर काठमाडौं–कोलम्बो उडानको भाडा भने तुलनात्मक रूपमा अली महँगो छ । करिब तीन घण्टाको काठमाडौं–कोलम्बो उडानको भाडादर न्यूनतम ५ सय ९९ डलरदेखि अधिकतम १ हजार १ सय ५८ डलरसम्म तोकिएको छ । अहिले काठमाडौं–कोलम्बो एकतर्फी भाडा ६५ हजार छ, जुन दुरीका हिसाबले अत्यन्त महँगो हो ।

श्रीलंका नेपालभन्दा थोरै जनसंख्या भएको देश हो, तर श्रीलंकालीहरूको आर्थिक हैसियत निकै माथि छ । वार्षिक करिब २५ लाख श्रीलंकालीहरू पर्यटकका रूपमा विदेश घुम्न निस्कन्छन् । तर नेपालमा १५ हजारको हाराहारीमा मात्रै आइपुग्छन् । करिब ८० प्रतिशत श्रीलंकालीहरू बौद्धमार्गी छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आउने श्रीलंकालीहरूको यो संख्या निकै न्यून हो । महँगो हवाई भाडा पनि यसको एउटा कारण हो । यदि कोलम्बो–लुम्बिनीबीच सिधै हवाई उडान हुने हो भने भाडादर सस्तो पर्न जान्छ । तर भाडादरको निर्धारण दुरीको हिसाबले मात्रै हुँदैन, दुवैतर्फ यात्रुहरू जति खचाखच हुन्छन्, व्यावसायिक उडानमा त्यति नै प्रतिस्पर्धा हुन्छ, भाडादर पनि सस्तो हुँदै जान्छ । त्यसो त पछिल्ला वर्षहरूमा अस्ट्रेलिया आवतजावत गर्ने नेपालीहरूको संख्या ह्वात्तै बढेको छ । तर नेपालीहरू घुमाउरो मार्ग भएर अस्ट्रेलिया जाने गरेका छन् । दुरीको हिसाबले नेपालबाट कोलम्बो हुँदै अस्ट्रेलिया जान निकै छोटो पर्छ, तै पनि सबैजसो नेपालीहरू सिंगापुर, थाइल्यान्ड तथा दिल्ली हुँदै अस्ट्रेलिया आवतजावत गर्ने गरेका छन् । यो समस्याका विषयमा पनि नेपाल र श्रीलंकाबीच पहल हुनु जरुरी छ ।

प्रतिक्रिया