मेयरले करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै कटहरिया नगरपालिकामा जनप्रतिनिधिद्वारा तालाबन्दी

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा जनप्रतिनिधिहरुले ताला बन्दी गरेका छन् । बिभिन्न ८ बुँदे माग गर्दै उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उपमेयर यादवसहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेको हो । नगरपालिकाको स्वास्थ, जिनसी, प्रशासन बाहेक मेयर जयसवालको समेत कार्यकक्षमा तालाबन्दी गरे पछि उपमेयर रिता देवी यादव लगायत जनप्रतिनिधिले तालाबन्दीको कारण बारे बताएका थिए । मेयर अजयप्रकाश जैसवालले करार कर्मचारी, डिजल पेट्रोल, कर्मचारीको खाजा लगायत बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता गरिरहेको उनीहरूले आरोप लगाए ।

गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त बिषय बारे जानकारी माग्दा मेयर जैसवालले आज २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए ।

१८ गतेको सूचना अनुसार आज भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल ,प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको उपमेयर यादवले बताईन । एकातर्फ मेयर अधिकृत बैठकमा सहभागी नहुनु र अर्को तर्फ मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घर–घरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले मेयरको नियतमा खोट रहेको उपमेयर यादवले बताईन ।

एकातर्फ बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको उपमेयर यादवाका साथै जनप्रतिनिधिहरुले बताएका छन् ।

उपमेयर रिता देवी यादव, वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायत तालाबन्दी गर्न गएका बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुले मेयर जैसवालले सहजरुपमा हिसाब पारदर्शी नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उपमेयर यादव र जनप्रतिनिधिहरुले नगर क्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गरे ।

त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९/०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी , करार, डोरको संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानीबारे लिखित जानकारी गराउन माग गरिएको छ ।

प्रतिक्रिया