महानकलाकार अरनिकोलाई सम्झँदा

नेपाल भनेको ज्यादै नै गौरवपूर्ण इतिहास बोकेको देश हो भन्न कत्ति पनि हिच्किचाउनु पर्दैन । किनकी यसका तमाम उदाहरणहरू छन् । त्यसमध्ये एक उदाहरण हुन्, ‘महान् कलाकार अरनिको ।’ आजभन्दा करिब आठ सय वर्षअघि ८० जना कालिगढहरूको नेतृत्व गर्दै कलाकार अरनिको चीनको औपचारिक भ्रमणमा गए । चीन सरकारको आग्रहलाई स्वीकार गर्दै उनी आजीवन चीनमै बसे । अरनिकोलगायत यो टोलीका प्रायः सबैजसो कालिगढहरूले उतै विवाह गरे ।

उनीहरूका सन्तान दरसन्तानहरू पनि उतै बसे । कलाकार अरनिको तथा यिनै नेपाली कालिगढका सन्तान दरसन्तानहरू आज पनि नेपाल–चीनबीच घनिष्ट संबन्धको कारक बनेका छन् । कलाकार अरनिकोका विषयमा अध्ययन तथा अनुसन्धान गर्न आजभन्दा करिब ६० वर्षअघि नेपाल सरकारको तर्फबाट संस्कृतिविद् सत्यमोहन जोशी चीन गएका थिए । उनले करिब दुई वर्ष अनुसन्धान गरे । अरनिकोको समाधीस्थलमा राखिएको शिलालेख अध्ययन गरेपछि संस्कृतिविद् जोशी आश्चर्यचकित भए । त्यतिबेला कलाकार अरनिकोलाई चीन सरकारले आफ्ना सम्राट कुब्लाई खाँ पछिको दोस्रो मर्यादाक्रममा राखेको रहेछ । अरनिकोका दरसन्तान भन्दै आफूलाई गौरव गर्ने चिनियाँहरू पनि प्रसस्त भेटिएको सत्यमोहन जोशीले उल्लेख गरेका छन् । हुन पनि आजभन्दा आठ सय वर्षअघि चीन गएर उतै घरजम गरेका ८० जना नेपाली कालिगढहरूका दरसन्तानहरूको संख्या अहिले त हजारौँ पुगिसक्यो होला ।

यी महान कलाकार अरनिकोको जन्म विक्रम संवत १३११ पुस २३ गते ललितपुरको पाटनमा भएको थियो । मृत्यु विक्रम संवत १३६३ भदौ २१ गते चीनको बेइजिङमा भएको थियो । उनी १५ वर्षको उमेरमा चीन गएका थिए । संस्कृतविद् जोशीले चीनमा गएर गरेको अध्ययन प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरेपछि २०२४ सालमा महान् कलाकार अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । त्यसपछि मात्रै नेपाली जनताले कालिगढी तथा कलाकारिता क्षेत्रमा चीनसम्म फैलिएको नेपालको गौरवमय इतिहास थाहा पाएका थिए । २०२४ सालमा राष्ट्रिय विभूति घोषणा गरिए पनि नेपालमा अरनिकोको जन्म जयन्ती मनाउन थालिएको भने २०५८ सालदेखि हो । नेपाल कमर्सियल आर्टिस्ट संघको अगुवाइमा अरनिको जन्मजयन्तीलाई सरकारी मान्यता दिलाइएको हो । विगत २२ वर्षदेखि नेपालमा हरेक पुस २३ गते महान कलाकार अरनिकोको जन्म जयन्ती मनाउने गरिन्छ । महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्वका साथ मनाउने गरिन्छ ।

कालिगढलाई अंग्रेजी भाषामा इन्जिनियर भन्ने गरिन्छ । अहिले नेपालमा पनि कालिगढको सट्टा इन्जिनियर शब्द प्रचलनमा छ । अरनिको महान् इन्जिनियर मात्रै थिएनन्, सिद्धहस्त कलाकारसमेत थिए । मरुभूमिका देशहरूमा उँट चराउन युवाहरू निर्यात गर्नुपर्ने अवस्थामा पुगेको आजको नेपालमा बसेर आठ सय वर्षअघि एकैपटक ८० जना इन्जिनियर स्थायी रूपमै वैदेशिक सहयोगका लागि पठाउन सक्ने हैसियत भएको नेपालको इतिहास संझँदा जो सुकैको पनि मन मुटु छियाछिया हुन्छ । त्यसमाथि पनि चीनजस्तो विशाल देशमा एक जना नेपाली सम्राटभन्दा दोस्रो नम्बरको मर्यादा क्रममा रहनु साच्चै नै गर्वको कुरा हो । हुन त केही वर्षदेखि नेपालमा पनि इन्जिनियरहरू उत्पादन हुन थालेका छन् । तर आठ सय वर्ष अघिको तुलनामा नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास पाँच प्रतिशत पनि हुन सकेको छैन । पाटनको कृष्ण मन्दिर, भक्तपुरको पाँचतले मन्दिर, काठमाडौंको तलेजु मन्दिर तथा आसपासका कलाकृति हेर्दा अहिले पनि विश्वजगत आश्चर्यचकित हुने गरेको देखिन्छ । हामी नेपालीहरू अत्यन्त पीडादायी वर्तमानमा बसेर अतितको गौरवमय इतिहासप्रति गर्व गरिरहेका छौँ । इतिहासजस्तै गौरवमय भविष्य निर्माण गर्नुपर्छ भन्ने चेतना हामी नेपालीहरूमा अझै पनि आउन सकेको छैन । वर्तमान भन्दा पनि पीडादायी भविष्यमा नेपाल गुज्रने हो कि भन्ने संकेत देखिइरहेको छ । यस्तो बेलामा महान्कालाकार अरनिकोलाई संझँदा केही हदसम्म पनि प्रेरणा मिल्न सक्छ ।

प्रतिक्रिया