नवनिर्मित राम मन्दिरका लागि जानकी मन्दिरबाट भार पठाइयो

धनुषा । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट कोसेली (भार) उपहारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास सहितको टोली प्रस्थान गरेको छ ।

कोसेलीमा चाँदीको धनुषवाण, सीताको पादुका, वस्त्र, आभूषण, फर्निचर, भाँडा वर्तन, मिठाई, फलफूलसहितका परिकार राखिएको छ ।
कोसेलीसहितको लागि जाने टोलीलाई जानकी मन्दिर परिसरबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सहितले बिदाई गरेका थिए ।

जानकी मन्दिरबाट निस्केको टोली हुलाकी राजमार्ग हुँदै जलेश्वर, मलंगवा, गौर, कलैया हुँदै वीरगञ्ज पुगेर टोलीले विश्राम गर्नेछ । शुक्रबार बिहान भारतको रक्सौल हुँदै अयोध्या प्रस्थान गर्नेछ भने जनवरी ५ तारिखमा जनकपुरधामको टोली अयोध्या पुग्ने बताइएको छ । अयोध्या पुगेको भोलिपल्ट जनकपुरधामको कोसेली अयोध्यास्थित रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको भगवान् रामको मन्दिरमा प्राण प्रतिष्ठाको कार्यक्रम छ । प्राण प्रतिष्ठानका लागि नेपालका पवित्र जलाशयबाट संकलन गरिएको जल पनि अयोध्या पठाइएको छ ।

यता यसभन्दा पहिले नेपालबाट पठाइएका शिलाको प्रयोग नगरी त्यतिकै छाडेको र यहाँबाट लगिएको भारको पनि बेवास्ता गरिएको भन्दै जनकपुरधाममा यसको विरोध पनि भएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले भार अहिले लान नहुने भन्दै प्रतिक्रिया जनाए पनि बिहीबार व्यापक दबाबका कारण महन्थ दासले भारी मनले बिदाइ गरेका थिए ।

प्रतिक्रिया