किन ओझेलमा पर्यो लुम्बिनी ?

इश्लाम धर्मावलम्वीका लागि साउदी अरबको मक्का मदिना जति महत्वपूर्ण छ, इसाई धर्मावलम्वीका लागि इजरायलको जेरुसेलम जति महत्वपूर्ण छ, बुद्ध धर्मावलम्वीहरूका लागि नेपालको लुम्बिनी त्यति नै महत्वपूर्ण छ । मक्का मदिना र जेरुसेलममा धार्मिक पर्यटकहरूको ओहिरो लाग्ने गरेको छ । साउदी अरब र इजराइल समृद्ध हुनुको एउटा कारण धार्मिक पर्यटन पनि हो । तर गौतमबुद्ध जन्मस्थल लुम्बिनी भने करिबकरिब सुनसान छ । नेपाल स्वयंमा पर्यटकीय मलुक हो । तर नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये लँम्बिनी पुग्नेहरूको संख्या ज्यादै थोरै छ । उदाहरणका लागि सन् २०२३ मा १० लाख ४४ हजार विदेशी पर्यटक नेपाल आए । जसमध्ये ७६ हजार २ सय १० जनाले मात्रै लुम्बिनी भ्रमण गरेको तथ्यांक छ । कोरोनाकाल अघि अर्थात सन् २०१९ कै हाराहारीमा यो वर्ष विदेशी पर्यटक नेपाल आएका छन् । तर लुम्बिनी भ्रमण गर्नेहरूको संख्या भने सन् २०१९ को तुलनामा २०२३ मा आधाभन्दा पनि थोरै देखिएको छ । मक्का मदिना र जेरुसेलममा वार्षिक १०औँ करोड विदेशी पर्यटक पुग्ने तर लुम्बिनीमा वार्षिक एक लाख पनि नपुग्ने अवस्था हुनु भनेको सामान्य होइन । नेपाल घुम्न आउने मध्ये सात प्रतिशत मात्रैले लुम्बिनी भ्रमण गर्नु गम्भीर हो । गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसारमा हामी चुकिरहेका छौँ भन्ने कुरा प्रष्ट छ । तेस्रो मुलुकका मात्र होइन लुम्बिनी आउने आन्तरिक पर्यटकहरूको संख्या पनि कोरोनाकाल अघिका वर्षहरूको भन्दा सन् २०२३ मा झन्डै आधाले घटेको देखिएको छ । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार २०१७ मा १२ लाख ५१ हजार ३ सय ४६ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । सन् २०२३ मा भने जम्मा ६ लाख ५६ हजार २ सय १८ आन्तरिक पर्यटक लुम्बिनी आएका छन् । जनसंख्यात्मक हिसाबले बौद्धधर्म विश्वको चौथो ठूलो हो । विश्वमा सबैभन्दा धेरै इसाई, त्यसपछि इस्लाम र तेस्रोमा हिन्दूहरूको जनसंख्या छ ।

विश्वमा बौद्धमार्गीहरूको जनसंख्या एक अर्बको हाराहारीमा रहेको अनुमान छ । ७० प्रतिशत श्रीलंकाली जनता बौद्ध धर्मावलम्बी छन् । म्यान्मारमा ८५ प्रतिशत जनता आफूलाई बुद्धधर्मको अनुयायी रहेको बताउँछन् । थाइल्यान्डमा करिब ९५ प्रतिशत जनता बौद्ध धर्मावलम्वी छन् । लाओसमा ९० प्रतिशत मानिसले बौद्धधर्म मान्छन् । क्याम्बोडियामा ९५ प्रतिशत मानिस बौद्धमार्गी छन् । १६ प्रतिशत भियतनामीले आफूलाई बौद्धमार्गी बताउँछन् । मलेशियामा २० प्रतिशत जनसंख्या बुद्धधर्म मान्दछन् । भारतीय जनसंख्याको करीब दुई प्रतिशत बौद्ध धर्मावलम्बी छन् । करीब २० प्रतिशत चिनियाँ जनताले बुद्धधर्म मान्ने गरेको अनुमान गरिएको छ । ताइवान, हङकङ, सिंगापुर र मलेसियामा पनि बुद्धधर्म अनुयायीहरूको संख्या बढ्दै गएको छ । दक्षिण कोरियामा २३ प्रतिशत जनताले बुद्धधर्म मान्छन् । जापानमा करिव ४० प्रतिशत जनता बौद्धमार्गी छन् । पूर्वी तुर्किस्तान र मंगोलियामा पनि उल्लेख्य छन् बौद्धमार्गीहरू ।

गौतमबुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि राज्यले गरेको आर्थिक लगानी निराशाजनक छैन । लुम्बिनी बिकास गुरुयोजनाका लागि अर्बौं रुपैंया खर्च भइसकेको छ । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलसमेत निर्माण भइसकेको छ । सडक यातायातको दृष्टिले नेपालकै सबै धार्मिक पर्यटकीय क्षेत्रभन्दा सुगम छ लुम्बिनी । भौगोलिक रूपमा पनि पर्यटकका लागि निकै अनुकूल छ । निजी क्षेत्रले पनि लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई दृष्टिगत गर्दै धमाधम सुविधा सम्पन्न होटलहरू खोलिरहेका छन् । तर पनि विदेशी पर्यटक आकर्षित छैनन् । जे जति जान्छन्, उनीहरूमध्ये पनि रात बस्ने पर्यटक ज्यादै कम छन् ।

प्रचारप्रसारको कमी हो भनौँ भने विश्वकै सबैभन्दा धेरै बौद्धमार्गीहरूको देश चीनले नै लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग गरेको हो । बौद्धमार्गीहरूको दोस्रो ठूलो देश जापानले लुम्बिनी क्षेत्र विकासको गुरुयोजना बनाइदिएको हो । बौद्धमार्गीहरूको तेस्रो ठूलो देश म्यानमारका नेता उ थान्त संयुक्त राष्ट्रसंघको महासचिव भएको बेलामा नै लुम्बिनीले बुद्ध जन्मस्थलका रूपमा सर्वाधिक अन्तर्राष्ट्रिय चर्चा पाइसकेको थियो । बौद्धमार्गीहरू आर्थिक रूपले सम्पन्न पनि छन्, बौद्धमागीहरूको उल्लेख्य जनसंख्या रहेका प्रायः सबैजसो देशमा नेपालको राजदूतावाससमेत छन् । ती देशका राज दूतावास पनि नेपालमा छन् । बौद्ध मार्गीहरू विदेश भ्रमणमा रुची राख्दैनन् भन्ने अवस्था पनि छैन । किनकी विश्व भ्रमण गर्न जाने पर्यटकहरूको कुल संख्यामा बौद्धधर्मालम्बीहरूको संख्या उल्लेख्य रहने गरेको छ । तै पनि किन ओझेलमा पर्यो लुम्बिनी ?

प्रतिक्रिया