इन्टेग्रिटी आइकनको पाँच विधाका आइकन सार्वजनिक

काभ्रे इन्टेग्रिटी आइकन नेपाल २०२३ सार्वजनिक गरिएको छ । यो वर्ष विभिन्न पाँच विधाबाट प्रतिनिधित्व गर्दै नारायणी अस्पताल वीरगञ्जका नर्सिङ निरीक्षक हेमा थापा, महिला तथा बालबालिका विभागका निर्देशक निरा अधिकारी, शितोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङका बागवानी विकास अधिकृत पदमनाथ आत्रेय, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत प्रतिक राई र मनमैजु माध्यमिक विद्यालय तारकेश्वर काठमाडौंका प्रधानाध्यापक रविना मर्हजनलाई इन्टेग्रिटी आइकनको रूपमा सार्वजनिक गरिएको छ ।

यस वर्ष इन्टेग्रिटी आइकनका लागि देशभरीबाट ४ सय ६६ मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेको हो ।

निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशीराज दाहाल, पूर्वसचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा सुचेता प्याकुरेल रहेका थिए ।

इन्टेग्रिटी आइकनमार्फत सार्वजनिक संयन्त्र भित्रका सदाचार प्रवर्द्धन गर्ने कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको अकाउन्टेबिलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले सौर्य दैनिक लाई जानकारी दिए ।

नेपालबाट सुरु भएको यो कार्यक्रम अहिले विश्वका १६ देशमा फैलिएको छ । इन्टेग्रिटी आइकन २०२३ को रूपमा सोमबार सार्वजनिक आइकनहरूलाई पुस २७ गते विशेष कार्यक्रम गरी सम्मान गरिने अकाउन्टेबिलिटी ल्याब नेपालका कार्यक्रम अधिकृत अस्मिता शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया