धोती र टोपीबीच द्वन्द्व निम्त्याउने षड्यन्त्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहलाई सोमबार प्रहरीले पक्राउ गरी केही बेर महेन्द्र पुलिस क्लब भृकुटी मण्डपमा राख्यो । आमरण अनशन बस्ने चेतावनी दिएपछि उनी हिरासत मुक्त भइन् । उनीसँगै हिरासतमा राखिएका जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसहित एक दर्जन नेता तथा कार्यकर्ताहरू पनि तत्काल रिहा भए । १ जनवरीको दिन धोती दिवस भन्दै जनमत पार्टीले माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेको थियो । माइतीघर मण्डला निषेधित क्षेत्रमा पर्छ । निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै प्रहरीले मन्त्री साहलगायत जनमत पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । बहालवाला मन्त्री निषेधित क्षेत्र तोड्न गएको सायद नेपालको इतिहासमा पहिलो घटना होला । बहालवाला मन्त्रीलाई प्रहरीले पक्राउ गरेको घटना त अनौठौ नै हो । यो घटनाले नेपालमा के कसरी अराजकता बढिरहेको छ ? भन्ने कुरा छर्लंग पारेको छ । जनमत पार्टीको माग के हो ? कसका विरुद्ध जनमत पार्टी निषेधित क्षेत्र तोड्न गएको हो ? भन्ने प्रश्न निकै गम्भीर छ । किनकी यतिबेला जनमत पार्टी राज्यसँग माग्ने होइन, जनताको माग सुनुवाई तथा सम्बोधन गर्ने जिम्मेवारीमा छ । जनमत पार्टीकी नेतृ साह मन्त्री पदमा बहाल छिन् । मन्त्रिपरिषद्कै बैठकमा प्रस्ताव लैजान उनलाई केहीले पनि छेक्दैन । सडकमै ओर्लनुपर्ने जरुरी थिएन, निषेधित क्षेत्र तोड्नुपर्ने जरुरी पनि थिएन । जनमत पार्टीले मन्त्रीलाई नै सडकमा उतारेर दिन खोजेको सन्देश नेपालका लागि सामान्य हुँदै होइन ।

अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष जनवरी १ लाई विश्वभर छरिएर रहेका नेपालीहरूले केही दशकदेखि राष्ट्रिय टोपी दिवसका रूपमा मनाउन थालेका छन् । जनवरी १ लाई राष्ट्रिय टोपी दिवसका रूपमा औपचारिक मान्यता दिन विश्वभर छरिएर रहेका नेपालीहरूले सरकारलाई आग्रह गरिरहेका छन् । यही आग्रहको विरुद्धमा जनमत पार्टी परिचालित भएको होइन भन्न सकिने अवस्था रहेन । किनकी जनमत पार्टीले सोमबार गरेको प्रदर्शन नाटकीय थियो । पहिलो कुरा त पूर्वघोषित थिएन, दोस्रो कुरा निषेधित क्षेत्र तोडिएको थियो । तेस्रो कुरा प्रदर्शनमा उत्रिनेहरूले पाइन्टमाथि धोती लगाएका थिए । यो गतिविधि टोपी दिवसको विरुद्धमा केन्द्रित थियो ।

बास्तवमा धोती र टोपी नेपालीहरूका सम्मानित पोसाक हुन् । पहाडी समुदायमा त कसैको इज्ज्त गयो वा आर्थिक रूपमा टाट पल्टियो भने ‘धोती न टोपी भयो’ भन्ने उखान भन्ने गरिन्छ । फरक यति हो कि, टोपीको प्रचलन पहाडी समुदायमा बढी छ भने धोतीको प्रचलन मधेसी समुदायमा बढी छ । पहाडी समुदायमा धार्मिक क्रियाकलापहरूमा टोपी फुकाल्ने र धोती लगाउने चलन छ । धोती सबैजसो नेपालीहरूको पवित्र धार्मिक तथा सांस्कृतिक पोसाक हो । तर धोती र टोपीबीच विवाद झिकेर साम्प्रदायिक सद्भाव खलबल्याउने प्रयास भने नयाँ होइन । २००७ सालको परिवर्तनदेखि नै सुरु भएको यो प्रयासले पञ्चायतकालमा मूर्तरूप लिएको मात्रै हो । हरेक देश तथा समुदायको राष्ट्रिय पोसाक हुन्छ । नेपालको राष्ट्रिय पोसाकका रूपमा दौरासुरुवाल र टोपी निर्धारण गरिनु अनौठो थिएन, तर बेमौसम र बेप्रसंगमा समेत राष्ट्रिय पोसाक अनिर्वाय गरिएका कारण विवाद उत्पन्न भयो । धार्मिक स्तरमा त टोपी निषेध नै छ, धोतीको इज्जत सर्वोपरी छ ।

राजनीतिक स्तरमा टोपीको जत्तिकै औपचारिक मान्यता धोतीले पनि पाउनुपर्छ भन्ने मधेसी समुदायको आवाज नाजायज होइन । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई धोती लगाएरै प्रतिनिधिसभाको बैठकमा सहभागी भएका थिए । अहिले सिके राउत पाइन्टमाथि धोती लगाएर निषेधित क्षेत्रमा जानु कुनै बहादुरी होइन । टोपी दिवस मनाइएकोमा रिस र द्वेष बाहेक केही होइन । उनी धोतीको साथ टोपीसमेत लगाएर सोमबार वसन्तपुरमा आयोजित कार्यक्रममा पुग्न सक्नुपथ्र्यो । टोपीका साथै धोतीविना नेपालीको राष्ट्रिय पहिचान अधुरो हुन्छ भन्ने सन्देश दिने मौका थियो यो । मध्य जाडोको बेला पर्ने जनवरी १ लाई टोपी दिवसका रूपमा मनाए जस्तै वर्षात र प्रचण्ड गर्मी हुने धार्मिक महिना साउन १ गतेलाई धोती दिवसका रूपमा मनाउने अभियान सुरु गर्न पनि सकिन्छ । धोती र टोपीबीच द्वन्द्व निम्त्याउन खोज्नेहरूले देशको भलो कसरी गर्लान् ?

प्रतिक्रिया