नयाँ वर्षको स्वागत

अंग्रेजी संवत् २०२३ समाप्त भई आजदेखि २०२४ सुरु भएको छ । यो दिनलाई नयाँ वर्षको आरम्भका रूपमा विभिन्न उत्सवका साथ मनाउने प्रचलन छ । त्यसमा पनि इस्वी सन् भनेको विश्वका धेरै देशहरूले मानिआएको संवत् हो । संयुक्त राष्ट्र संघले अख्तियार गरेका कारण इस्वी सन्को प्रभाव विश्वका सबै देशहरूमा छ । त्यसैले जनवरी १ विश्वकै सबैभन्दा ठूलो पर्व हो भन्दा फरक पर्दैन । नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने परम्परा र शैली देश तथा समुदाय पिच्चे फरक छन्, तर बितेको वर्षको समीक्षा र आएको वर्षको योजना निर्माणको रूपमा नयाँ वर्ष मनाउने चलनमा भने एकरूपता देखिन्छ ।

बितेको वर्षको अनुभवबाट पाठ सिक्दै अधुरा योजना पूरा गर्ने र नयाँ योजनाको प्रारूप तय गर्ने चलन मानव सभ्यतामा नयाँ होइन । वास्तवमा हरेक सेकेन्ड नयाँ हुन्छ । आखिर संवत भनेको पनि समय मापनको एउटा अली ठूलो इकाई हो । सेकेन्ड, मिनेट, घण्टा, दिन, सप्ताह, महिना, हुँदै वर्षका रूपमा समयको मापन गर्ने प्रचलन धेरै पुरानो हो । एक वर्षको समय सबैभन्दा ठूलो इकाई भएका कारण धेरै घटनाहरूको समीक्षा गर्न सकिन्छ । कहिलेकाहीँ एक वर्षको अवधिमा विश्वमा, समाजमा र व्यक्तिगत रूपमा पनि धेरै ठूलो उथलपुथल भइसकेको हुन्छ । युग नै परिवर्तन पनि भइसकेको हुनसक्छ ।

सन् २०२३ मा विश्वमा के के महत्वपूर्ण घटना भए ? दुःखद् घटना के कति भए, सुखद् घटना के कति भए ? किन र कसका कारणले घटना भए ? भन्ने समीक्षा यतिबेला भइरहेको छ । इतिहासको लामो कलखण्डसम्म स्मरणमा आइरहने प्रकृतिका घटना तथा परिवर्तनहरू सन् २०२३ मा के कति भए ? भन्ने प्रश्न यहाँनिर सबैभन्दा महत्वपूर्ण हुन्छ । सरसर्ती हेर्दा सन् २०२३ मा विश्व जगतले कुनै पनि क्षेत्रमा यो उपलव्धी हासिल ग¥यो भनेर गौरव गर्नुपर्ने अवस्था रहेन । रुस–युक्रेन तथा इजराइल–हमासबीचको युद्धलाई बाहिर राख्ने हो भने सन् २०२३ लाई नराम्रो भन्न मिल्दैन । यी दुई युद्धहरू पनि सन् २०२३ का उपज होइनन्, विगतदेखि नै गिजोलिएका घाउहरू प्रकट भएका मात्रै हुन् । नेपालको सन्दर्भमा भन्नुपर्दा सन् २०२३ को सुरुआतमा भएको पोखरा विमान दुर्घटना, उत्तरार्धमा आएको जाजरकोट भूकम्प, अन्तिम साता भएको ललितपुरको बालकुमारीमा भड्केको हिंसा ज्यादै नै दुःखद् हुन् । धरान, नेपालगञ्जलगायत केही क्षेत्रमा धार्मिक हिंसा भड्काउने प्रयास भए, तर यी प्रयासलाई नागरिक समाज तथा राज्यले समयमै नियन्त्रणमा लिएका कारण त्यति ठूलो क्षति हुन पाएन ।

कुन वर्ष कस्तो रह्यो ? देशले के कस्तो उपलब्धी हासिल गर्यो ? भन्ने समीक्षा गर्नुपर्दा राजनीति नै सबैभन्दा अघि आउँछ । किनकी राजनीति भनेको सबै नीतिहरूको मियो हो । सत्तामा रहनेहरूले मौकाको सदुपयोग के कसरी गरे ? भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । यस हिसाबले वर्तमान सरकारको निर्माण भएको नयाँ वर्ष २०२४ सँगै एक वर्ष पूरा भएको छ । सन् २०२३ को समीक्षा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्षमान सरकारको एक वर्षको समीक्षा एकअर्कामा खप्टिएका छन् । प्रधानमन्त्री प्रचण्डले यो एक वर्षको उपलव्धीबारे देशबासीका नाममा सम्बोधन गर्दै बताइसकेका छन् । शासकीय शैलीको दृष्टिले यो एक वर्ष त्यति धेरै निराशाजनक छैन ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुन काण्डका तस्कर पक्राउ, एनसेलको सेयर खरिद बिक्री, टेराम्याक्स घोटाला लगायतका भ्रष्टाचारका धेरै प्रकरणहरू सतहमा आएका मात्रै छैनन्, अनुसन्धान तथा छानविन प्रक्रिया अघि बढाइएको छ । वाइडबडी विमान खरिद, यती काण्ड, ओम्नी काण्ड, गिरिबन्धु काण्ड लगायतका फाइल अघि बढ्ने प्रक्रियामा छन् । यो एक वर्षको अवधिमा राजनीतिक तहमा रहनेहरू भ्रष्टाचारको काण्डमा मुछिएका समाचार आएका छैनन् । यति हुँदाहुँदै पनि विकासको गति बढ्न सकेको छैन, जनतामा निराशा बढेर गएको छ । । युवाहरू विदेश पलायन हुने क्रम यो वर्ष ह्वात्तै बढेको छ । यो हालतमा सुधार हुन सकेन भने देशको भविष्य राम्रो छैन भन्ने कुरा धेरैको मुखबाट सुनिन्छ ।

प्रतिक्रिया