खाँडाचक्रमा वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन

कालिकोट । खाँडाचक्रमा वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । शुक्रबार खाँडाचक्र नगरपालिकाका ११ वटै वडाहरुमा वडाध्यक्ष संयोजक रहने गरी ९ सदस्यीय वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन भएको हो ।

वडास्तरमा सञ्चालन हुने सम्पूर्ण प्रारम्भिक बालविकास कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न र वडास्तरमै प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन गर्नलगायतका बालविकाससम्बन्धी विभिन्न क्रियाकलापलाई थप मजवुद बनाई वडास्तरमा रहेका बालबालिकाहरुलाई सेवा प्रवाह गर्नको लागि समिति गठन गरिएको छ । बालबालिकाको हितका लागि उक्त वडास्तरीय प्रारम्भिक बालविकास समितिले कार्य गर्नेछ ।

वडास्तरीय प्रारम्भिक बालविकास समितिले स्थानीयस्तरमा राष्ट्रिय तथा प्रदेशको नीति, रणनीति, कार्यक्रमसँग तादाम्यता हुने गरी प्रारम्भिक बालविकासको नीति, रणनीति तथा कार्यनीति तर्जुमा गर्ने उद्देश्य वडास्तरीय प्रारम्भिक बालविकास समितिको छ ।

‘गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र मन्दिरमा, थप गरौँ लगानी प्रारम्भिक बालविकासमा’ भन्ने मुल नाराका साथ विगत लामो समयदेखि सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले काम गर्दै आएको छ । प्रारम्भिक बालविकासका कार्यक्रमले बालबालिकामा कुनै पनि भेदभाव नगरी उनीहरूको बाँच्न पाउने, विकास गर्न पाउने, सुरक्षित हुन पाउने र सहभागी हुन पाउने अधिकारलाई सुनिश्चितता गर्ने प्रारमिभ्क बालविकास संयोजक अधिकृत मिसिरा शाहीले बताइन् ।

मिसिरा शाहीले वडास्तरीय प्रारम्भिक बालविकास समितिले प्रारम्भिक बालविकासका लागि आर्थिक स्रोतको व्यवस्थापनमा समन्वय र सहजीकरण गर्ने, सबै सरोकारवालाहरूसँगको समन्वयमा कार्यक्रmमको अनुगमन तथा मूल्यांकन गर्ने यस समितिको काम कर्तव्य रहेको बताइन् ।

खाँडाचक्र नगरपालिकाको सहकार्य तथा युनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त सहयोगमा सञ्चालित नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यान्वयन परियोजनाअन्तर्गत वडास्तरीय प्रारम्भिक बालविकास समिति गठनसँगै विभिन्न निर्णयसमेत गरिएको छ । खाँडाचक्र नगरपालिका– १ का वडाध्यक्ष धर्मराज टमटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया