नयाँ जनवादी क्रान्ति : किन र कसरी ?

वास्तवमा उत्पादन पद्धति र उत्पादन सम्बन्धमा आधारभूत वर्गीय परिवर्तन आउनसक्ने उच्च चरणको परिवर्तन आउन नसकेकै कारण पिछडिएको स्थितिबाट अहिले पनि नेपाली समाज गुज्रिरहेको छ । त्यसैले क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगीकरण र आम विद्युतीकरणको एकमुष्ठ कार्यक्रममका साथ कृषि क्रान्तिलाई पूर्णता दिइनुपर्ने कुरा अहिलेसम्म पनि उठिरहेका हुन् र किसान वर्गका समस्या हल नभई राष्ट्रिय समस्या पनि हल हुन सक्तैनन् भन्ने कुरा निरन्तर चलिरहेको हो ।

लोकनारायण सुवेदी

नेपाली कम्युनिस्ट अन्दोलनको आमूल र अग्रगामी मूल कार्यक्रम नयाँ जनवादी कार्यक्रम नै हो र यसलाई सही किसिमले कार्यान्वयन नगरी कार्यभार पूरा हुँदैन । अनि नेपाल र नेपाल जनताका आधारभूत समस्याहरू हल हुँदैनन् भन्ने कुरा एकदमै प्रष्ट छ । यद्यपि कतिपय मात्रात्मक रूपमा बदलिएका र गुणात्मक स्थितिका सन्दर्भमा यसलाई नयाँ समृद्ध पार्ने र उन्नयन गर्ने विषयमा गम्भीर छलफल गर्दा र बहस चलाउँदा नेपाल र नेपाली जनताको मुक्ति र प्रगतिका लागि यस कार्यक्रमले समेट्न नसकेका कुराहरू के के विकसित भएका छन् र के के कुरा असामयिक भएर गएका छन् भन्ने यथार्थ बस्तुगत धरातलमा खडा हुनैपर्ने हुन्छ ।

मूलतः सामन्तवाद र साम्राज्यवादविरुद्ध जनमुक्ति र राष्ट्रमुक्तिका समस्याहरू समाधान गर्ने प्रष्ट उद्देश्य र दृष्टिकोणका साथ कमरेड पुष्पलालले प्रस्तुत गर्नुभएको नयाँ जनवादी क्रान्तिको कार्यक्रम सामन्ती अधिनायकवादी पञ्चायतकालीन सन्दर्भका कुराहरूलाई छाडेर अहिले पनि आधारभूतरूपमा उत्तिकै सामयिक र सान्दर्भिक छ । यो नयाँ जनवादी चरण पार नगरी नेपालमा वैज्ञानिक समाजवादमा प्रवेश गर्ने राष्ट्रिय पुँजीवादको प्रस्थान विन्दु नै विकास हुन सक्दैन । क्रान्तिकारी भूमिसुधारसहित आम कृषि क्रान्ति पनि हुन पाउँदैन र राष्ट्रिय बजार र पुँजीको विकास तथा रोजगारी सिर्जना हुने स्थिति बन्दैन । किसान वर्गको मुक्ति र प्रगतिको आधार पनि सिर्जना हुँदैन । अनि बाह्य हस्तक्षेपबाट मुलुक मुक्त रहन पनि सक्तैन ।

त्यसैले देशको मुख्य उत्पादक र जीवनदायिनी शक्ति किसान वर्गलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हरतरहले अग्रगामी दिशामा संगठित, एकीकृत र सशक्तरूपमा परिचालन गर्नु वर्तमान चरणको संघर्षको पहिलो सर्वाेपरी र निर्णायक कार्यभार हो । नेपालमा १५ सेप्टेम्बर १९४९ मा नेपाल पार्टी गठन गर्दा जारी घोषणापत्रमा देशलाई तीन वटा महत्वपूर्ण र मूख्य समस्या सामन्तवाद, भारतीय एकाधिकार पुँजीवाद र विश्व साम्राज्यवाद(त्यतिबेला एंग्लो–अमेरिकी साम्राज्यबाद भनिएको थियो) बाट मुक्त गर्ने स्पष्ट कुरा उठाइएको थियो । आज ती समस्या हल हुनुभन्दा झन् जटील र पेचिलो भएर गएका छन् । अहिलेसम्मका जनआन्दोलनहरूले सत्ताको उपरी ढाँचामा सामान्य परिवर्तन आएको भए पनि आधारमा कुनै परिवर्तन आएको छैन ।

वास्तवमा उत्पादन पद्धति र उत्पादन सम्बन्धमा आधारभूत वर्गीय परिवर्तन आउनसक्ने उच्च चरणको परिवर्तन आउन नसकेकै कारण पिछडिएको स्थितिबाट अहिले पनि नेपाली समाज गुज्रिरहेको छ । त्यसैले क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगीकरण र आमविद्युतिकरणको एकमुष्ठ कार्यक्रमका साथ कृषि क्रान्तिलाई पूर्णता दिइनुपर्ने कुरा अहिलेसम्म पनि उठिरहेका हुन् र किसान वर्गका समस्या हल नभई राष्ट्रिय समस्या पनि हल हुन सक्तैनन् भन्ने कुरा निरन्तर चलिरहेको हो । नयाँ जनवादी क्रान्तिले हल गर्नुपर्ने मुख्य कुरालाई यसरी गोल गर्दै त्यसबारे द्विविधापूर्ण कुरा गरेर समाजवादको पृष्ठभूमि तयार हुँदैन र यस बारेमा जनताले उठाइरहेका प्रश्नहरूले पनि सही उत्तर पाउन सक्दैनन् ।

दोस्रो कुरा अर्ध तथा नवऔपनिवेशिक अवस्थाको अन्त्य किन आवश्यक ? भन्ने कुरा एकदमै आधारभूत महत्वको कुरा छ । विगतमा राष्ट्रिय स्वाधीनताका विश्वव्यापी आन्दोलनहरूले विश्वका धेरै मुलुकहरू उपनिवेशवादबाट मुक्त भए र दोस्रो विश्व युद्धसम्म आइपुग्दा आमरूपमा औपनिवेशिक युग समाप्त भयो । रुसमा महान लेनिनको क्रान्तिकारी नेतृत्वमा समाजवादी क्रान्तिको सफलता र विश्वको सीमित भूभागमै भए पनि समाजवादी व्यवस्थाको स्थापना तथा छोटो समयमै समाजवादको प्रभावकारी चौतर्फी प्रगतिले गर्दा उपनिवेशवाद कायम राखिराख्न विश्व साम्राज्यवादलाई सहज थिएन । त्यसैले साम्राज्यवादले परम्परागत शोषण शैली र रूपमा परिवर्तन ल्याउन थाल्यो । अन्य मुलुकका भूभागमाथि सिधै कब्जा जमाएर प्रत्यक्ष नियन्त्रण र शासन गर्ने परम्पराका स्थानमा मूलतः अब आर्थिक शोषण, सांस्कृतिक उत्पीडन र राजनीतिक हस्तक्षेपका माध्यमबाट आफ्नो अप्रत्यक्ष नियन्त्रण कामय राख्ने बाटो साम्राज्यवादले अख्तियार गर्न थाल्यो । साम्राज्यवादी शोषणको यो नयाँ स्वरूपले तेस्रो विश्वका देशहरू कानुनीरूपले स्वतन्त्र र सार्वभौम देखिए पनि उनीहरूको स्वतन्त्रता र सम्प्रभूता औपचारिक मात्र रहन पुग्यो । यसका अतिरिक्त विभिन्न सैनिक संगठनहरूमा पनि देशहरूलाई प्रत्यक्ष वा परोक्षरूपमा तान्ने हत्कण्डा अपनाउन थाल्यो । अहिले यस्ता गतिविधिहरू प्रायः सबै महादेशमा तीव्र तुल्याइएका छन् ।

आफ्नो राजनीतिक भविष्यका बारेमा आफँै निर्णय गर्न पाउने, विकासको बाटो आफँैले तय गर्न पाउने र आफ्ना प्राकृतिक स्रोत साधनको उपयोग आफ्नै देश र जनताको हितमा प्रयुक्त गर्न पाउने उनीहरूको स्वाधीन र आत्मनिर्णयको अत्यन्तै आधारभूत र महत्वपूर्ण अधिकार साम्राज्यवादी–प्रभुत्वशाली देशहरूको हस्तक्षेपले गर्दा कुण्ठित हँुदै गयो । यसप्रकार साम्राज्यवादी–प्रभुत्वावादी शक्तिहरूको दलाली गर्ने शासकहरूको सानो गुटको माध्यमद्वारा अविकसित र पिछडिएका देशहरू परोक्ष किसिमले पराधीनताको पासोमा पर्दै गए । तेश्रो विश्वका मुलुकहरूको यही खण्डित सार्वभौमिकता र अपरोक्ष पराधीनताको अबस्थालाई अर्ध औपनिवेशिक र वित्तीय पुँजीवादको आजको शोषणकारी अवस्थामा नवऔपनिवेशिक भनेर चित्रण गरिएको हो । तेश्रो विश्वका प्राकपुँजीवादी चरणबाट गुज्रिरेहका जुनसुकै मुलुक पनि यस अवस्थाबाट पार नभई अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक नरहेको निष्कर्ष निकाल्नु क्रान्तिकारी आन्दोलनलाई गलत मोड दिने र स्वाधीनताको आन्दोलनलाई कमजोर तुल्याउने कुरा मात्र हुन जान्छ भन्ने यथार्थ पनि एकदमै प्रष्ट छ ।

निश्चय पनि नेपाल कुनै पनि साम्राज्यवादी देशको प्रत्यक्ष उपनिवेशमा कहिले पनि नपरेको संसारका दुर्लभ मुलुकमध्ये एक रहेको कुरा यथार्थ हो । यो हाम्रा पूर्खाहरूको साम्राज्यवाद विरोधी संघर्षको परिणति हो भन्ने कुरामा हामीले निश्चय नै गौरव गर्नै पर्दछ । तर बृटिस साम्राज्यवाद बिरुद्धको १८१४—१६ को युद्धमा भएको पराजय र देशले झण्डै आधाजसो भू–भाग गुमाएर गर्नुपरेको अपमानजनक सुगौली सन्धि पछिदेखि नेपाल अर्धऔपनिवेशिक अवस्थामा परेको र त्यसपछिका शासक वर्गले अग्रेज उपनिवेशवादीहरूको हितमा काम गर्दै नेपालको स्वाधीनताको गौरवमय परम्परालाई कुण्ठित तुल्याउँदै आएको इतिहास पनि एकदमै स्पष्ट छ ।

त्यस क्रममा नै नेपाली युवाहरूलाई विश्वका शक्तिशाली राष्ट्रहरूको रक्षा र तिनको सीमा सुरक्षाका निमित्त भाडाको सिपाहीको रूपमा काममा लगाउने कुरा पनि संस्थागत हुँदै आयो । यसलाई सन् १९४७ मा भएको गोर्खाभर्ती सन्धिले निरन्तरता दिएको पनि स्पष्टै छ । त्यसैगरी सन् १९५० को भारतसँगको ‘शान्ति तथा मैत्री सन्धि’मार्फत नेपाललाई भारतीय सुरक्षा छातामुनि राख्ने तारतम्य पनि मिलाइयो । यही पृष्ठभूमिका आधारमा नेपालको सार्वभौमिकता र स्वाधीनता खण्डित भएको निष्कर्ष निकाल्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै देशलाई ‘अर्धऔपनिवेशिक अवस्थामा’ रहेको विश्लेषण गरेको एउटा ऐतिहासिक वास्तविकता हो ।

यो स्थितिबाट मुक्त नभई नेपाल कानुनीरूपमा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न भनेर लेखिए पनि यथार्थमा अर्ध तथा नवऔपनिवेशिक अवस्थामै रहनेछ । नेपाल संयुक्त राष्ट्र संघको सदस्य हुँदा, विश्व मञ्चहरूमा स्वाधीनता र स्वतन्त्रताको आवाज उठाउँदा, असंलग्न आन्दोनलको सक्रिय सदस्य हुँदा या सार्कको सदस्य राष्ट्र हुँदा वा विश्वव्यापार संगठनको सदस्य हुँदा तेश्रो विश्वका मुलुकहरूको आवाज बुलन्द गर्दा पनि नेपालको यही अवस्था फेर्नका लागि मद्दत पुग्दछ । ती कारणहरूले नेपालको सार्वभौमिकता र स्वाधीनता अखण्डित छ भन्ने अवस्था सिर्जना हुँदैन भन्ने कुरा बिर्सन हुँदैन । आज त नेपाल बहुराष्ट्रिय निगम(एमएनसी) तथा पारराष्ट्रिय कम्पनी(टिएनसी)हरूको शोषणको क्रिडास्थल बनेको छ । यो त्यही अर्धऔपनिवेशिकताकै बदलिँदो रूप अर्थात नवऔपनिवेशिक शोषणबाहेक अरू केही होइन । यो सत्यलाई ढाकछोप गर्ने कुनै पनि कुराले नेपालको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई भुत्ते बनाउँदछ, गलत मोड दिन्छ र कमजोर पार्दछ । जुन नयाँजनवादी क्रान्तिको एउटा प्रमुख राष्ट्रिय कार्यभार अर्थात आत्मा हो ।

वास्तवमा हिजो कमरेड पुष्पलालले नेपाललाई अर्धऔपनिवेशिक भनेर चित्रण गर्दा जुन सन्दर्भ र तर्ककासाथ विषयहरू अघि सार्नुभएको थियो ती सन्दर्भ र समस्याहरू आज पनि कायमै रहेका छन् । आज पनि हामी आर्थिक रूपमा परनिर्भर नै छौँ । यो हाम्रो आन्तरिक कारणका अतिरिक्त असमान बाह्य व्यापारिक एवं आर्थिक सम्बन्धका कारणले उत्पन्न भएको स्थिति हो । नेपालमाथि बाह्य सांस्कृतिक प्रभाव र दबाब तथा सांस्कृतिक अतिक्रमण पनि उत्तिकै तीव्ररूपमा हँुदै आएको छ । नेपालको लामो समयदेखिको भारतसँगको सीमा समस्या सुल्झिएको छैन ।
कालापानी, सुस्ता लगायतका धेरै क्षेत्रहरूमा हाम्रो भू–भागहरू भारतीय अतिक्रमणमा परेका छन् । सन् १९५० को सन्धि, गोरखा भर्ती सन्धिलगायत अन्य कतिपय सन्धिहरू खारेज नहुँदा र नेपालको हितविपरीत जलसम्पदा सन्धिहरू गरिँदा नेपालको राष्ट्रिय हित मात्रै कुण्ठित भएको नभई सार्वभौमिकता नै खण्डित र सन्देहास्पद हुँदै गएको छ र नेपाललाई नवऔपनिवेशिक दोहनको स्थितिमा धकेलिदिएको छ ।

नेपालको आन्तरिक कमजोरीका कारण बाह्यदबाब, प्रभाव र चासो बढिरहेको मात्रै छैन, बाह्यशक्तिको ‘सुक्ष्म व्यवस्थापन’ (माइक्रो म्यानेजमेन्ट) (अर्थात ठूला साना चयन, नियुक्ति, सरुवा, बढुवा र खारेजी जस्ता कुरामा पनि बाह्य हस्तक्षेप) बढिरहेको छ । नेपाली समाजको यस्तो अवस्थाको चित्रण गर्दा यसको स्वाधीनता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त व्यापक नेपाली जनताको एकता र तिनीहरूको हकहितको रक्षागर्ने जनवादी क्रान्तिको आवश्यकता अझ ज्वलन्तरूपमा उपस्थित हुन्छ । जहाँ सच्चा देशप्रेमी, जनवादी, प्रगतिशील बामपन्थी तथा कम्युनिस्ट शक्तिहरूको क्रान्तिकारी एकता अनिवार्य छ । क्रान्तिकारी नेपाली कम्युनिस्ट आन्दोलनमा यिनै कुराहरूलाई आत्मसात गर्दै कमरेड पुष्पलालले भन्नुभए जस्तै ‘लाखौँलाख झोपडीको एकता आजको सन्दर्भमा नेपालको राष्ट्रियता र तिनै झोपडीहरूको हकहित नै जनवाद हो’ भन्ने दूरगामी, गम्भीर र सारपूर्ण कुरालाई अंगीकार गर्दै नेपाली क्रान्तिले पूरा गर्नुपर्ने युगीन कार्यभार अर्थात — सामन्तवाद र साम्राज्यवादबाट मुक्तिको बाटोमा निरन्तर अघि बढ्ने अठोट र संकल्प नेपाली जनतासमक्ष पुनः दोहो¥याउनु उत्तिकै आवश्यक छ ।

नेपाली कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी विश्वभरीका मुक्तिकामी जनताका वर्गीय शोषण र सामाजिक उत्पीडन विरुद्धका न्यायपूर्ण संघर्षहरूलाई अभिवादन गर्दछ र तिनीहरूसँग ऐक्यवद्धता जनाउँदछ । साथै सबै देशहरूसँग पञ्चशीलमा आधारित समानता, सम्मान, अहस्तक्षेप, अनाक्रमण तथा पारस्परिक लाभ र स्वतन्त्रतामा आधारित सुमधुर सम–मैत्री सम्बन्ध कायम गर्नमा जोड दिन्छ । खासगरी छिमेकी मुलुकहरूसँग यिनै आधारमा सम–मैत्री सम्बन्ध कायम गर्न चाहन्छ ।

हाम्रो मुलुक कुनै पनि विदेशी शक्तिको परेड मैदान नबनोस् र कसैका विरुद्ध पनि यो भूमि प्रयोग हुन नपाओस् भन्ने कुरामा नेपाली कम्युनिस्ट आन्दोलन प्रष्ट छ र द्विविधारहित ढंगले भइरहनुपर्दछ । साथै हाम्रो देशको विरुद्ध अरू देशको भूमिबाट पनि नेपाल र नेपाली जनताका विरुद्ध कुनै किसिमको गतिविधि नहोस् भन्ने कुरामा पनि नेपाली कम्युनिस्ट आन्दोलन र नेपाल कम्युनिस्ट पार्टी विशेष जोड दिन चाहन्छ र सजग रहन्छ । नेपालमाथिको बढ्दो अमेरिकी हस्तक्षेप यतिबेला एमसिसीको नाममा भइरहेको छ त्यसको पार्टीले लगातार एकल र संयुक्तरूपमा पनि निरन्तर विरोध र संघर्ष गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी नेपालको स्वाधीनता, समृद्धि, सामानता र शान्तिका निमित्त सबै मुलुकहरू र खासगरी छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई अझ परिमार्जित र विकसित गर्नुपर्ने आवश्यकता औँल्याउँदछ र जोड दिन्छ । वास्तवमा नेपाल कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट आन्दोलन सर्वहारा वर्गको आन्दोलन भएकोले यसले निश्चय पनि अन्तर्राष्ट्रिय सर्वहारावादमा दृढ विश्वास गर्दछ नै । तर पार्टीले राष्ट्रिय दायित्व पूरा नगरी अन्तर्राष्ट्रिय कर्तब्य र दायित्व पनि पूरा गर्न सक्दैन भन्ने कुरामा पनि यो उत्तिकै सचेष्ट छ र रहिरहनुपर्दछ । कमरेड माओको नेतृत्वमा भएको चिनिया नयाँ जनवादी क्रान्तिको महत्वपूर्ण अनुभवले पनि हामीलाई यथार्थतः यही शिक्षा दिन्छ ।

प्रतिक्रिया