जानकी मन्दिरमा गुरु चेलाको जुहारी

जनकपुरधाम । विश्वभरीका हिन्दूहरूको आस्थाका केन्द्र र नेपालकै सबैभन्दा ठूलो मन्दिर जानकी मन्दिरमा महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दास बीचको विवाद छताछुल्ल भएको छ । भारतको अयोध्यामा भगवान् श्रीरामको मन्दिरको प्राणप्रतिष्ठामा कोशेली (पाहुर, भार) लग्ने विषयमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कोशेली लग्ने र त्यसका लागि छुट्टै बैठकसमेत बसी समितिसमेत बनाएर तयारी सुरु गरिएको थियो । यस्तो अवस्थामा महन्त रामतपेश्वर दास वैष्णवले कोशेली अहिले नै नलग्ने र यसमा आफनो असहमति रहेको सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि दुबै अधिकारसम्बन्धी विवाद बढेको हो । महन्त दासले भारतको उत्तर प्रदेशमा पर्ने अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर नजाने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले सोमबार बताए ।

उनले सञ्चारकर्मीलाई जानकारी गराउँदै राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव नरहेको बताए । महन्थ दासले आफ्नो कुनै शिष्यले कोसेली लिएर जाने कुरा गरेको आफूलाई थाहा नरहेको बताउँदै जानकी मन्दिरबाट कोसेली जाँदैन र सम्भव पनि नरहेको बताए । मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुने भएकाले कोसेली लिएर गए पनि कुनै वास्ता नगर्ने बताए । उनले भने, ‘कोसेली लिएर नजान पनि भन्दिनँ । यदि जान्छ भने उसैले जानोस् ।’ जानकी मन्दिरको मुख्य महन्त रामतपेश्वर रहे पनि मन्दिरको प्रायः हरेक काम सहायक महन्त रामरोषणले नै गर्छन् ।

यता सञ्चारमाध्यममा महन्तको यस्तो अभिव्यक्ति आएपछि उत्तराधिकारी महन्त रामरोशन दास जंगिएका थिए । उनले मंगलबार पुनः सर्वपक्षीय बैठक बोलाएर महन्त रामतपेश्वरको आज्ञाविरुद्ध कोशेली लग्ने निर्णय गरेका छन् । उनले मंगलबार नै पत्रकार सम्मेलनको आयोजना गरी अयोध्यामा निर्माण भएको मन्दिरमा भगवान् श्री रामको ससुरालीको प्रतिनिधित्व गर्दैै घरवास विधिमा उपहार सहितको भार पुग्नु जनकपुरधामवासीकै लागि सौभाग्यको विषय हुने बताए । ‘यो जानकी मन्दिरको विषय मात्रै होइन,’ उनले भने, ‘सम्पूर्ण जनकपुरधाम र मिथिलाञ्चल क्षेत्रको प्रतिनिधित्व हुने काममा व्यक्तिगत इगो राख्नु ठिक होइन ।’

विश्व हिन्दू परिषद्का स्थानीय पदाधिकारीहरू, जनकपुरधामका मेयरसहित यहाँका अगुवाहरूलाई राखेर सहायक महन्त रामरोशन दासले विश्व हिन्दू परिषद्को समन्वयमा यो पवित्र काम हुन गइरहेकाले शंका गर्नुपर्ने ठाउँ नै नरहेको बताए । भावुक हँुदै उनले बनेको मन्दिर भगवान् श्रीरामको मात्र नभई हाम्रो किशोरीजीको पनि मन्दिररूपी नयाँ घर रहेको भन्दै भने, ‘यसमा आधिकारिकता, यो र त्यो किन खोज्ने ? यो त पौराणिक नियम, निष्ठा हो ।’ मेरो लागि उपहार लिएर आउनोस् कसैले भनेपछि कहीँ कतै जाने हो ? प्रश्न गर्दै उनले भने, ‘हामी आइरहेको सुन्दा त्यहाँका साधुसन्त र धार्मिक क्षेत्र भावविहोर छ ।’ उनले जानकी मन्दिरलाई विवादित देखाउने किसिमको सूचना सम्प्रेषण नगर्न आग्रहसमेत गरे । उनले २ सय ५१ जनाको टिमलाई आधा घण्टाको समय प्रदान भएको र सासुर पक्ष मिथिला क्षेत्रबाट पाहुर भार आइरहेको खबरले अयोध्यामा खुसी छाएको खबर आफूहरूले पाएको बताए ।

महन्त ब्लडप्रेसरको सिकार भएको आरोपः

उत्तराधिकारी महन्त रामरोशन दासले महन्त दास ब्लडप्रेसरको बिरामी रहेको र समय समयमा झोक्किने गरेको तथा रिसाउँदा सञ्चारमाध्यममा अनावश्यक अभिव्यक्ति दिँदै आएको आरोपसमेत लगाएका थिए । उनले भने, ‘उहाँको उमेर ८० भइसक्यो, हिँडडुल गर्न सक्ने अवस्था छैन । एक ठाउँबाट अर्को ठाउँ जान दुई व्यक्तिको साहारा चाहिन्छ । यस्तो अवस्थामा कोशेली लग्ने काम आफूले नै गर्दा कसैले उहाँलाई उक्साइदिएको र सो अवस्थामा उहाँको अभिव्यक्ति यस्तो आएको हो ।’ यद्यपि उनले आफ्नो गुरु रहेकाले सदैव पूजनीय र उहाँको आज्ञा सर्वोपरि रहेकोे बताए ।

उनले भार यात्राको क्रममा जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलंगवा (बलारा) बाट सिम्रौनगढ, गढीमाइ हुँदै वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको बताए । भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट, बेतिया कुशीनगर, सिद्धार्थनगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । अध्योध्या पुगेको भोलिपल्ट ६ तारिखको ९ बजे विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

विवादको सुरुआतः

विश्व हिन्दू परिषद सम्मिलित जानकी मन्दिरमै बसेको बैठकबाट मन्दिर महन्तको अगुवाइमा कोसेली पठाउने भनिएको थियो । तर, महन्त दासले आफूलाई यस विषयमा केही जानकारी नभएको भन्दै भार पठाउन अस्वीकार गरेका थिए । शनिबार भएको एक सर्वपक्षीय बैठकले राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधामबाट उल्लेखनीय संख्यामा कोसेली पठाउने निर्णय गरिएको थियो । त्यसका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्थ राम तपेश्वर दास संरक्षण रहने गरी जानकी मन्दिरका उत्तराधिकार महन्त राम रोशन दासको संयोजकत्वमा ११ सय सदस्यीय जनकपुरधाम अयोध्या पाहुर यात्रा समितिसमेत गठन गरिएको थियो ।

मिथिला परम्पराअनुसार छोरीको नयाँ घर निर्माण भई घरबासको अवसरमा माइती पक्षबाट आभूषण, तलाकपडा र वर्ष भरिको खानाको सामग्री पठाइने गरिन्छ । सोही अनुरूप जानकीजीको माइत पक्ष जनकपुरधामबाट ती सामग्रीहरू पठाइन लागिएको जानकी मन्दिरका उत्तराधिकारी महन्त तथा समितिका संयोजक रोशन दासले जानकारी दिए ।

जनकपुरधामबाट आउँदो माघ १९ गते अर्थात ४ तारिखका दिन अयोध्याका लागि पाहुर यात्रा सुरु हुने र जनकपुरधामवासीलाई विभिन्न प्रकारका पकवान वा फलपूmल तथा अन्य सामग्री सहयोग गर्नका लागि आग्रह गरिएको थिए ।

भारको विषयमा विवाद नगर्न मेयरको अपिल

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधामबाट श्रीराम मन्दिरको अनावरणमा भार जाने विषयमा अयोध्याधाम तथा भारतका उच्च तहमा पनि चर्चा भएको बताउँदै यसले दुई देशको सांस्कृतिक सम्बन्धलाई अझ बढी मजबुत बनाउने भएकाले यसप्रति कसैले विमति राख्नुको तुक नभएको बताए ।
भार लग्ने विषयमा मन्दिरका महन्त र उत्तराधिकारी महन्तको विवाद हुनुले जानकी मन्दिरको गरिमामाथि ठेस पुग्ने भएकोले यसप्रति दुबैलाई सजग हुनुपर्ने बताए । यता जनकपुरधामका प्रतिष्ठित महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले भारतको अयोध्यामा सयौँ वर्षको प्रतिक्षापछि निर्माण भएको राममन्दिरमा भार जाने खबरबाट आमजनकपुरधामवासी अत्यन्तै उत्साहित भएको भन्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

गुरु चेलाको विवाद पहिलो होइन

गुरु अर्थात महन्त रामतपेश्वर दास र चेला अर्थात रामरोशन दासको विवाद यो पहिलो होइन । यसअघि पनि दुवैबीच विवाद भएको थियो । जानकी नवमीका दिन गत वैशाख १९ गते महन्तका शिष्य रामरोशनले प्रसादका रूपमा मन्दिरमा माता जानकीका नाममा जन्म केक काट्नुका साथै आफ्नो कक्षमा महिलासँग नाचगान गरेको घटना र अपारदर्शिताका विषयमा महन्त रामतपेश्वर दासले आपत्ति जनाएका थिए । महन्त रामतपेश्वर दासले शिष्य रामरोशनले आफूलाई स्वयं उत्तराधिकारी घोषणा गरी मन्दिरको महन्त परम्परा, मूल्य मान्यताको मर्दन हुने चलखेल गरिरहेको आरोप लगाएका थिए ।

गुठी संस्थानको ऐनमा उत्तराधिकारीको व्यवस्था नभए पनि शिष्य रामरोशनले संस्थानबाट उत्तराधिकारीको परिचयपत्र लिई आर्थिक गतिविधिलगायत मन्दिरमा महन्तझैँ पूर्णरूपले अधिकार प्रयोग गरी आफूलाई बेवास्ता तथा मन्दिरको गरिमालाई स्खलित हुने गतिविधि गरिरहेको महन्त दासले आरोप लगाएका थिए । ‘करिब ६ वर्षअघि आफू बिरामी भई उपचारका लागि केही समय भारतमा बसेका बेला शिष्य रामरोशनले आफूलाई उत्तराधिकारी एवं छोटे (सानो) महन्त भन्दै सरकारी निकायदेखि लिएर विभिन्न श्रद्धालुबाट आर्थिक सहयोग तथा दान लिने क्रम सुरु गरेको आरोप लगाएका थिए ।

यता सञ्चारमाध्यममा महन्तको यस्तो अभिव्यक्ति आएपछि महन्त र उत्तराधिकारी महन्तबीचको विवाद चुलिएको थियो । दुवै बीचको बढदो विवादलाई साम्य पार्नका लागि जनकपुरधामवासीले नै पहल गरेका थिए । अन्ततः महन्त दासलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन दबाब दिइएपछि उनले फिर्ता लिँदै आफ्ना चेला रामरोशन दासलाई पुनः गला लगाएका थिए ।

यस्तो छ जानकी मन्दिरमा महन्त परम्परा

१७औँ शताब्दीको अन्ततिर महात्मा सुरकिशोर दासले वर्तमान जानकी मन्दिर भएको स्थानमा नीमको रूखमुनि सपनामा जानकी माताबाट मेरो बुबाको घर जनकपुरधाम यही हो, मेरा मूर्तिहरू यही रूखमुनि छन्, यसलाई निकालेर पूजा गर्नुस् भनी आदेश भएपछि दासले सोही स्थानमा खन्ती गाडी भगवान्को पूजाअर्चना सुरु गरेका थिए ।
महात्मा सुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक र जानकीको उपासना पद्धतिको प्रचारक, सन्त एवं कवि मानिन्छ । मकवानपुरका सेन राजा माणिक सेनले सन् १७२७ मा यिनै महात्माका चेला प्रयोग दासका समयमा जनकपुर आई सीतारामको दर्शन गरी भोगरागका लागि बुश बिर्ता अर्पण गरेर मन्दिरको सञ्चालन एवं सम्वद्र्धनमा ठूलो योगदान पु¥याएको इतिहास छ । अध्येता नारायणप्रसाद रिमालका अनुसार राजगुठीअन्तर्गत पूर्णरूपमा स्वतन्त्र रहेको जानकी मन्दिर गुरू शिष्य परम्परागत रही सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा निहित रहेको देखिएको छ ।

जानकी मन्दिरमा सुरकिशोर दास, प्रयाग दास, जनक विदेही दास, हरिनारायण दास, बलराम दास, सुमरन दास, विश्वम्भर दास, रामगुलेला दास, नरहरि दास, हरिभजन दास, रामकृष्ण दास, नवलकिशोर दास, रामशरण दास र रामतपेश्वर दास (वर्तमान) रहेको पाइन्छ । सुरकिशोर दासपछिका महन्तमा प्रयाग दास, विश्वम्भर दास, रामकृष्ण दास, नवलकिशोर दासको नाम साधु सन्त समाजमा विशेष उल्लेखनीय रहेको पाइन्छ । प्रयाग दास महात्मा सुरकिशोर दासझैँ वात्सल्यभावनिष्ठ सन्त रहेको र उनी आफूलाई निमीवंशी र जानकीजीको सानो भाइ भन्ने गरेका कारण उनी अयोध्या र मिथिलामा मामा प्रयाग दास भनी विख्यात रहेको कथन छ ।

जानकी मन्दिर र राममन्दिर पहिले एकै व्यवस्थापनमा चल्ने गरे पनि राममन्दिर दशनामी र जानकी मन्दिर वैष्णव सम्प्रदाय रहेकाले दुवैमा मनोमालिन्य भई कहिलेकाहीँ गम्भिर स्थितिको सिर्जना भएपछि महात्मा विश्वम्भर दासले आधा आधा जमिन बटवारा गरी एकअर्कामा भएको जानकी मन्दिरको व्यवस्थापनलाई स्वतन्त्र एवं चुस्त बनाएको इतिहास पाइन्छ ।

महात्मा रामकृष्ण दासको पालामा वर्तमान जानकी मन्दिर बनेको हो । यसको निर्माणमध्ये भारत ओरछा नरेश टीकमगढका महाराजा प्रताप सिंहकी पत्नी वृषभान कुँवरी पुत्र प्राप्तिको खुसियालीमा गर्न लगाएको पाइन्छ । महात्मा रामकृष्ण दासले नै महारानी, महाराजालाई जानकीको मन्दिर अयोध्या र जनकपुरधाममा निर्माण गर्न उत्साहित गरेको अध्येता रिमालको अन्वेषणमा उल्लेख छ ।

जानकी मन्दिरको शिलान्यास १९५२ माघ २८ मा भई १९६७ माघ २८ मा प्रतिष्ठा भएको हो । प्रतिष्ठाका अवसरमा महाराजा प्रतापसिंहकी महारानी वृषभान कुँवरीको मृत्यु भइसकेकाले महाराजाको दोस्रो पत्नी गणेश कुँवरी साथ सीतारामका मणिविग्रहका आकर्षक मूर्ति प्रतिष्ठा गरिएको इतिहास पाइन्छ ।
जानकी मन्दिरका वर्तमान महन्त रामपतेश्वर दासले शतवार्षिकी समारोह, विशेष धार्मिक प्रवचन, विवाह पञ्चमी, रामनवमी, झुलन पर्व, जानकी नवमी, कोजाग्रत पूर्णिमा, अन्नकुट उत्सवको आयोजना गरी यस क्षेत्रको धार्मिक विकासतर्फ केन्द्रित रहेको देखिन्छ ।

प्रतिक्रिया