बालविवाह न्यूनीकरणमा स्थानीय तहको भूमिकाबारे छलफल

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाले बालविवाह रोकथाम तथा न्यूनीकरण गर्न के कस्तो आर्थिक तथा भौतिक सहयोग गर्न सकिन्छ भन्ने बिषयमा बृहत् छलफल गरेको छ । कालिकोटमा बालविवाह न्यूनीकरणमा स्थानीय तहको भूमिका के रहन्छ भन्ने विषयमा बृहत् छलफल गरिएको हो ।

बालविवाह विरुद्धको साझा अभियान कालिकोटले खाँडाचक्रका जनप्रतिनिधिसँग सरोकारवाला राखेर प्रतिबद्ध गराएको छ । खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक गणेशबहादुर शाहीले बालविवाह न्यूनीकरण गर्न आर्थिक भार मात्र नभई जनमानसमा रहेका नागरिकको चेतना वृद्वि गर्नुपर्नेमा जोड दिए । शाहीले बालविवाह मात्र नभई नगरपालिकाभित्र हुने विभिन्न किसिमका हानिकारक अभ्यास न्यूनीकरण गर्न नगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गर्ने बताएका छन् । नगरउपप्रमुख शाहीले बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि रणनीतिक योजना तयार गरेर अगाडि बढ्न प्रतिबद्ध भएको बताए ।

खाँडाचक्रमा हुने छिटो विवाह, जवरजस्ती करणी विवाह र उमेर नपुगी हुने मागी विवाह न्यूनीकरण गर्न आफ्नो वडाले अभियान चलाएको वडा–१ का अध्यक्ष धर्मराज टमटाले बताए । बालविवाह न्यूनीकरणकै लागि दलित समुदायका उमेर पुगेर विवाह गर्ने युवतीलाई १० हजार पुरस्कारको व्यवस्था गरेको टमटाले बताए ।

बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले कदम चाले सहयोगका लागि कार्यपालिकामा आवाज उठाउने खाँडाचक्र–८ का वडा अध्यक्ष नन्दबहादुर मल्लले बताए । समाजमा हुने विभिन्न हानिकारक अभ्यास न्यूनीकरणमा आफ्नो वडापालिकाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि लागिपर्ने प्रतिबद्धता मल्लले जनाए ।

बालविवाह बिरुद्धको साझा अभियान संजालले कर्णाली प्रदेशका जिल्लाहरूमा बालविवाहलगायत अन्य कुरीति कुसंस्कार रोकथामका क्षेत्रमा काम गरिरहेको छ । मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजीकरण र बालविवाह बिरुद्धको साझा अभियान संजाल कालिकोटको आर्थिक सहयोगमा जनप्रतिनिधिसँग बृहत् छलफल गरिएको हो ।

विगत लामो समय यता बालविवाहबिरुद्ध साझा अभियान संजाल कालिकोटले यस जिल्लामा पनि बालविवाह तथा समाजमा हुने कुप्रथाको विरुद्ध काम गरिरहेको परियोजना संयोजक खडानन्द अधिकारीले बताए ।

खाँडाचक्र नगरपालिकालाई बालविवाह न्यूनीकरण गर्नका लागि रणनीतिक योजना तयार गर्न मस्यौदा समितिसमेत तयार गर्ने निर्णय गरिएको छ । जसमा खाँडाचक्र नगरपालिका–१ का अध्यक्ष धर्मराज टमटाको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । बालविवाहविरुद्ध साझा अभियान संजाल कालिकोटका सहसंयोजक कालीबहादुर मल्लको अध्यक्षता, नगरउपप्रमुख गणेशबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालक मानवअधिकार रक्षक संजाल कालिकोटका संयोजक डिल्लीप्रसाद चौलागार्इंले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया