बालविवाह न्यूनिकरणमा स्थानीय तहको भूमिकाबारे जनप्रतिनिधिसँग छलफल

कालिकोट । समाजमा हुने विभिन्न किसिमका विवाहहरु छन् । जसमध्ये बालविवाह, छिटो तथा मागि विवाह र जबरजस्ती विवाह न्यूनिकरण गर्न स्थानीय तहको भूमिका के रहला त ? यस विषयमा विभिन्न अभियान सञ्चालन भए पनि बालविवाहलगायत अन्य हानिकारक विवाहरुमा अझै कमी आउन सकेको छैन ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अभियान सञ्चालन गर्दै गर्दा स्थानीय सरकार भने विकास निर्माणका काममा लागिरहेको छ । कालिकोटमा बालविवाह न्यूनिकरणमा स्थानीय तहको भूमिका के रहन्छ भन्ने विषयमा बृहत् छलफल गरिएको छ । जिल्लाको खाँडाचक्र नगरपालिकाले बालविवाह रोकथाम तथा न्यूनिकरण गर्न के कस्तो आर्थिक तथा भौतिक सहयोग गर्न सक्ला भन्ने विषयमा बृहत् छलफल गरिएको हो ।

बालविवाह विरुद्धको साझा अभियान कालिकोटले खाँडाचक्रका जनप्रतिनिधिसँग सरोकारवाला राखेर प्रतिबद्ध गराएको छ । खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक गणेशबहादुर शाहीले बालविवाह न्यूनिकरण गर्न आर्थिक भार मात्र नभई जनमासमा रहेका नागरिकको चेतना वृद्धि गर्नुपर्नेमा जोड दिए ।

शाहीले बालविवाह मात्र नभई नगरपालिकाभित्र हुने विभिन्न किसिमका हानिकारक अभ्यास न्यूनिकरण गर्न नगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गर्ने बताएका छन् । नगर उपप्रमुख शाहीले बालविवाह रोकथाम तथा न्यूनिकरणका लागि रणनीतिक योजना तयार गरेर अगाडि बढ्न प्रतिबद्ध भएको बताए ।

खाँडाचक्रमा हुने छिटो विवाह, जबरजस्ती विवाह र मागी विवाह न्यूनिकरण गर्न आफ्नो वडाले अभियान चलाएको वडा नम्बर १ का अध्यक्ष धर्मराज टमटाले बताए । बालविवाह न्यूनिकरण कै लागि दलित समुदायका उमेर पुगेर विवाह गर्ने युवतीलाई दश हजार पुरस्कारको व्यवस्था गरेको टमटाले बताए ।

बालविवाह न्युनिकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाले कदम चाले सहयोगका लागि कार्यपालिकामा आवाज उठाउने खाँडाचक्र– ८ का वडध्यक्ष नन्दबहादुर मल्लले बताए । समाजमा हुने विभिन्न हानिकारक अभ्यास न्यूनिकरणमा आफ्नो वडापालिकाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि लागि पर्ने प्रतिबद्धता मल्लले जनाए ।

बालविवाह विरुद्धको साझा अभियान सञ्जालले कर्णाली प्रदेशका जिल्लाहरुमा बालविवाहलगायत अन्य कुरिती, कुसंस्कार रोकथामका क्षेत्रमा काम गरिरहेको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरण र बालविवाहविरुद्धको साझा अभियान सञ्जाल कालिकोटको आर्थिक सहयोगमा जनप्रतिनिधिसँग बृहत् छलफल गरिएको हो ।

बिगत लामो समययता बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कालिकोटले यस जिल्लामा पनि बालविवाह तथा समाजमा हुने कुपर्थाविरुद्ध काम गरिरहेको परियोजना संयोजक खडानन्द अधिकारीले बताए । खाँडाचक्र नगरपालिकालाई बालविवाह न्यूनिकरण गर्नका लागि रणनीतिक योजना तयार गर्न मस्यौदा समिति समेत तयार गर्ने निर्णय गरिएको छ ।

जसमा खाँडाचक्र नगरपालिका– १ का अध्यक्ष धर्मराज टमटाको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कालिकोटका सहसंयोजक कालीबहादुर मल्लको अध्यक्षता, नगर उपप्रमुख गणेशबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको संचालक मानव अधिकार रक्षक संजाल कालिकोटका संयोजक डिल्लीप्रसाद चौलागाईले गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया