जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, वडा अध्यक्ष कामेश्वर कापर र ठेकेदारहरू मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडा अध्यक्ष कापरले आफैँसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । त्यस्तै ठेकेदारहरूले नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगर्दा पनि निरन्तर किस्ता दिएको भनी अध्यक्ष कापरले हंसपुर नगरपालिकाको लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्ने गलत व्यहोरा बनाएको अख्तियारको आरोप छ ।
ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले उक्त पोखरी ठेक्कामा लिएवापतको रकम नबुझाई नगरपालिकालाई हानिनोक्सानी पु¥याएको अख्तियारको भनाइ छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले नगरकार्यपालिकाको बैठकले निर्णयमा नगरेको कुरा गरेको भनी सरकारी कागज सच्याएको जनाएको छ ।
प्रतिक्रिया