१० करोड लगानीमा गाउँमै खुल्यो हस्पिटल

अर्घाखाँची । पछिल्लो समय मानिसहरू स्वास्थ्य, शिक्षा र रोजगारीका लागी गाउँ छोडेर हिँड्दै गर्दा धेरै घर खाली र गाउँ नै सुनसान बन्न थलेको छ, अहिले मानिसहरू पैसाभन्दा पनि गुणस्तरीय सेवा छिटो, छरितो, सहज रूपमा लिन चाहन्छन् । मानिसहरू विशेषज्ञ र भरपर्दो, शिश्वास योग्य सेवा चाहन्छन्, गाउँमा यस्तो विषय कमै सम्भावना हुने कुरा हो ।

गाउँमा ठुलो लगानी गर्ने त्यस्तो विगतदेखि नै अभ्यास छैन् । लगानीको वातावरण पनि गाउँमा कमै हुन्छ । सबै ठुल्ठूला संघसंस्थाहरू सहर केन्द्रित नै खुल्ने र सञ्चालन हुने गरेका छन्, देश नै आर्थिक समस्याग्रस्त भएको अवस्थामा पनि मानिसको धन नै स्वाथ्य हो, यस मान्यता राखी सेवामुखी भावना बोकी धेरै स्थानीय जनताकै लागानीमा करिब १० करोडको गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–५ खज्र्याङमा १५ शय्याको पब्लिक लुम्बिनी युनाइटड हस्पिटल सञ्चालन भएको छ ।

गुल्मी अर्घाखाँची र पाल्पाको ऐक्यवद्धता गुणस्तरीय स्वाथ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुख्य नाराका साथ विशेषज्ञ सेवा सहितको नयाँ हस्पिटल तीन जिल्लालाई आधार बनाई खज्र्याङमा खुलेको सोमबार खज्र्याङमा पत्रकार सम्मेलन गरप् हस्पिटलबारे जानकारी दिएको छ ।

खज्र्याङ नगरीमा पब्लिक हेल्थ लिमिटेड गुल्मी र लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाको संयुक्त लगानीमा पब्लिक लुम्बिनी युनाइटड हस्पिटल प्रालिको रूपमा स्थापना गरिएको हस्पिटल विगत सात वर्षको प्रयासपछि सञ्चालनमा आएको सञ्चालक समितिका अध्यक्ष गोपाल पोख्रेलले जानकारी दिएका छन् ।
अध्यक्ष पोख्रेलले भने, ‘जनतालाई घरदैलोसम्म विशेषज्ञ सेवा दिने उदेश्यका साथ निकै चुनौतीपूर्ण काम गर्दै छौँ, जनताकै बिश्वास जितेर नै अगाडि बढ्ने छाँै । गुल्मी, अर्घाखाँची र पाल्पा गरी तीन जिल्लालाई केन्द्रबिन्दु बनाई ३ सय ९७ जनाको सेयर लगानीमा हस्पिटल सञ्चालनमा ल्याएका छौँ ।’

लुम्बिनी मेडिकल कलेजको समेत संयुक्त लगानीमा यो हस्पिटल सञ्चालन गरेको लुम्बिनी मेडिकल कलेजका सञ्चालक रामप्रसाद प्रोख्रेलले बताए । सञ्चालक प्रोख्रेलले भने, ‘हामीहरूलाई सुरुमा प्रवासमा हस्पिटल खोल्दा पनि धेरै कुराहरू आएका थिए, निकै चुनौतीका साथ त्यहाँ, हामी सफल भएका थियौँ, हामी यहाँ पनि सफल नै हुन्छाँै, सेवामा गुणस्तरीयताको सुनिश्चिता, साप्ताहिक विभिन्न विशेषज्ञता सेवा दिन्छौँ, जनतालाई सरल, सहज र सुलभ स्वाथ्य सेवामा हामी प्रतिबद्ध छौँ ।’

सेवामुखी उद्देश्यका साथ जनतालाई ग्रामीण तहसम्म विशेषज्ञ सेवा सहितको स्वाथ्य सेवा दिने उद्देश्यका साथ हस्पिटल सञ्चालनमा ल्याएको खज्र्याङ पब्लिक हेल्थ लिमिटेडका अध्यक्ष तथा लुम्बिनी युनाइटेड हस्पिटलका सञ्चालक रामप्रसाद पाण्डेले बताए । पाण्डेले भने, ‘प्र्रतिकूल समयका बीचमा पनि हामी अगाडि बढेका छौँ, आशा छ, सबैको साथ हुनेछ, यसलाई हामीहरूले थप सेवा बिस्तार गर्दे कलेजकै रूपमा अगाडि बढाउने सोचका साथ अगाडि बढेका छौँ, स्वाथ्य सेवामा धेरै प्रश्नहरू उठेका छन् तैपनि हामीहरूले सेवाग्राहीलाई कुनै पनि प्रश्न नउठ्ने गरी प्रभावकारी हस्पिटल चलाउनेछाैं ।’

अस्पतालबाट प्रत्यक्ष रूपमा गुल्मीको छत्रकोट, गुल्मी दरबार, रुरुक्षेत्र गाउँपालिका, अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका र पाल्लाको छहरा गाउँपालिका गरी ६ वटा गाउँपालिका करिब एक लाखभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले बताए ।
निर्देशक अर्यालले भने, ‘करिब सात वर्षको अनेक आरोह अवरोहबाट सञ्चालनको अवस्थामा पुग्यो, सबैको साथ हुनेछ, आशावादी छौँ, प्रभाकारी सेवाका लागि हामी २४ घण्टा लाग्नेछौँ ।’

हस्पिटलमा डाक्टर यम बस्नेत, डाक्टर आरती गुरुङ लगायतको टिमले विशेषज्ञ सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्ने सञ्चालकले बताएको छ । गाउँगाउँमा स्थानीय सरकार आउँदा पनि प्रभावकारी स्वास्थ्य सेवा गाउँमा आएको थिएन अब पाउने आशा रहेको स्थानीय नारायण पाण्डेले बताए । स्थानीयबासी पाण्डेले भने, ‘हामी आमजनताले विशेषज्ञ स्वास्थ्य सेवा, नजिक छिटो छरितो पाउन सकेका थिएनौँ, अब पक्का पाउनेछौँ, निकै आशावादी छौँ, यहाँका जनता पनि सबै खुसी नै छौँ, लामो समयको प्रतीक्षा पछि गाउँमै धेरै विषयका डाक्टर सहितको सेवा लिन लागेका छौँ ।’

प्रतिक्रिया