रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाको शान्ति सुरक्षामा कायम गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको जिम्मेवारी सम्हालेपछि पहिलोचोटी आइतबार आयोजित पत्रकारहरू परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले गत पुस ४ गते रौतहट जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हालेका थिए । रौतहटमा रहुञ्जेल यहाँका नागरिकलाई असुरक्षित हुन नदिने र अप्रिय घटनाहरू रोक्नमा कटिवद्ध रहने पनि उनले उल्लेख गरे ।
जिल्लाको अवस्थाबारे पत्रकारसँग बुझ्नका लागि उनले कार्यक्रम राखेका थिए । जिल्लाको विस्तृत जानकारी सूचना आदानप्रदान गर्ने अभिप्रायले कार्यक्रम राखिएको प्रजिअ रेग्मीले बताए । पत्रकारहरूले पनि उनलाई जिल्लाको अवस्था बारेमा अवगत गराएका थिए । जिल्लामा हालै सरुवा भएर आएका प्रजिअ रेग्मीले शान्तिसुरक्षाको सवालमा कुनै सम्झौता र ढिलासुस्ती नहुने प्रष्ट पारे । उनले नागरिकको गुनासोलाई तत्काल सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाए ।
रेग्मी पर्साबाट सरुवा भई रौतहट आएका हुन् । यसअघिका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र जिल्ला प्रशासन कार्यालय कैलालीमा सरुवा भएर गएका छन् । पत्रकार सम्मेलनमा रौतहट प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख माधव रेग्मी, अनुसन्धान प्रमुख चन्दनकुमार झा लगायतको उपस्थिति थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया