हरिवन । सर्लाहीको हरिवनमा आन्दोलनरत उखु किसान र प्रतिनिधिले बुधबार आधा घण्टा राजमार्ग अवरुद्ध गरेका छन् । उखुको मूल्य तत्कालै तोक्न र गत वर्षको बाँकी बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै चलिरहेको किसान आन्दोलनअन्तर्गत राजमार्ग अवरुद्ध गरिएको मिल गेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले बताए ।
हरिवन बजारस्थित कृष्ण मन्दिर नजिकै केही बेर नाराबाजी गर्दै राजमार्गमा र्याली गरेर राजमार्ग अवरुद्ध गरिएको थियो । पूर्णरुपमा सडक अवरुद्ध गर्ने–नगर्ने विषयमा आन्दोलनकारीबिच मत बाझिएको थियो । आन्दोलनको अगुवाई गरिरहेकाहरुले राजमार्ग अवरुद्ध खुलाए पनि केही समूहले भने उनीहरुविरुद्ध नै नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गर्ने प्रयास गरेका थिए ।
सरकारले तोक्यो उखुको मूल्य
एता सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल २५ रुपैयाँले बढी हो ।
सरकारकी प्रवक्तामसेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार निर्धारित मूल्यमा व्यावसायीले ५६५ रुपैयाँ व्यहोर्नेछन् । त्यसमा सरकारले ७० रुपैयाँ थप गरेर किसानलाई प्रतिक्विन्टल ६३५ रुपैयाँ दिने निर्णय भएको हो । किसानले यस वर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका थिए ।
सरकारले तोकेको उखुको मूल्य किसानले नमान्ने
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गरेको भए पनि किसानले सो मूल्य नमान्ने बताएका छन् । हरिवनमा आन्दोलनरत किसान र किसान प्रतिनिधिहरुले सो मूल्य आफूहरुलाई मान्य नभएको बताए ।
आफूहरुसँग सहमति नै नगरी सरकारले उद्योगीसँग लागेर हचुवाको भरमा मूल्य निर्धारण गरेको मिल गेट उखु उत्पादक समितिका अध्यक्ष उप्रेतीले बताए । त्यस्तै सरकारले अघिल्लो वर्षको अनुदान दिने घोषणा गरेको तर यसपाली दिने भनिएको अनुदान कहीलेसम्म पाउने भन्ने कुराको सुनिश्चितता गरिनुपर्ने उप्रेतीको भनाई छ ।
बुधबार सरकारले घोषणा गरेको मूल्य भनेको चिनिको मूल्य ७०–७५ हुँदाको समयको हो, अब चाहीँ चिनीको मुल्य कति हुन्छ भन्ने कुरा पनि प्रमुख हुने किसानहरुको भनाई छ । यस विषयमा बिहीबार ११ बजे बैठक राखिएको र आन्दोलनलाई अब कुन रुपमा अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । आन्दोलन भने नरोकिने उनिहरुले बताएका छन् ।
अनशनरत शेष इस्तिहारको स्वास्थ्य अवस्था बिग्रँदै
गत सोमबार बिहानबाट अनशन बसेका हरिवन– ११ का उखु किसान शेष इस्तिहारको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उखुको मूल्य तत्कालै तोक्न र गतबर्षको बाँकी बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै खाना पानी नखाई अनसन बसेका ईस्तिहारलाई बुधबारबाट स्लाईन पानी चढाइएको छ ।
उनी लगभग बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको स्वास्थ्य बिग्रन थालेपछि चिकित्सकको सल्लाहमा स्लाईन चढाइएको हो । अनसनस्थलमा एउटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । किसानको माग यथाशिघ्र पूरा गरेर सरकारले ईस्तिहारको ज्यान बचाउनुपर्ने नेकपा माओवादी (केन्द्र) हरिवन नगर कमिटीका अध्यक्ष अर्जुन पन्तले बताए ।
बुधबार दिउँसो मधेस प्रदेशका कृषिमन्त्री गोविन्द न्यौपाने र राज्यमन्त्री आएर अनशनरत इस्तिहारसहितलाई भेट गरेका थिए । अनशनकारी इस्तिहारको माग प्रतिक्वीन्टल उखुको ७५० रुपैयाँ हुनुपर्ने, सरकारले दिन बाँकी गएको सिजनको अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रर्वधन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषियोग्य जमीनमा सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मलखादको प्रवन्ध गर्नुपर्नेलगायत रहेको छ ।
यता, इन्दुशंकर चिनी उद्योग नचल्दा किसानको उखु खेतबारीमै सुक्न थालेको छ । केही दिनदेखि उखु किसान सम्बद्ध संघ संगठनले मूल्य नतोकी मिल नचलाउन भन्दै चिनी मिल चल्न नदिँदा किसानले काटेको उखु र किसानको बारीमा रहेको उखु सुक्न थालेको हो ।
किसान सम्बद्ध संगठनले किसानको हितमा आन्दोलन गरेको भए पनि किसानले काटेको र खेतमा रहेको उखु सुक्न थालेको गुनासो किसानहरुले गरेका छन् । हरिवन–१ पटौनाका किसान महोमद नसरुल हकको उखु सुक्न थालेको गुनासो गरेका छन् । ‘९ बिगाहामा लगाएको उखु मंसिरमै काट्नुपर्ने थियो, आन्दोलनले मिल नचल्दा समयमै उखु काट्न नपाएपछि उखु सुक्दैगइरहेको छ‚’ उनले निरास हुँदै भने ।
अर्का किसान हरिवन–३ का ज्ञानबहादुर पुलामीको पनि उखु सुकेर ढोड जस्तै भएको छ । यस्तै भइरहने हो भने उखुको लागतसमेत नउठ्ने चिन्ता भइरहेको पुलामीको पनि गुनासो छ । विभिन्न किसान सम्बद्ध संगठनको आन्दोलनका कारण इन्दुशंकर चिनी उद्योग हरिवन उखु क्रसिङ सुरु गर्न पाएको छैन । किसान सम्बद्ध संगठनहरुसँग गत मंसिर २१ गते मौखिक सहमतिअनुसार २२ गतेदेखि उखु संकलन पुर्जी वितरण गर्ने र २६ गतेदेखि उखु क्रसिङ गर्ने सहमति भएको थियो ।
सर्लाही
प्रतिक्रिया