रुकुमपश्चिम । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुु¥याएको रुकुमपश्चिममा झण्डै साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका ६ वटै पालिकाका १३ हजार ३ सय ८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।
सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका ४ हजार ७ सय ४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हुन् । त्यस्तै सानीभेरी गाउँपालिकामा २ हजार ३ सय २१, त्रिवेणी गाउँपालिकामा २ हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिका भने लाभग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन् ।
आठबीकोटमा सात हजार लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम प्राप्त भए पनि बैंकमा खाता सञ्चालन भएका ४ हजार ७ सय ४२ लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम पठाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार नगरिपालिकाभर ९ हजार ९ सय ६२ लाभग्राहीको संख्या एकीन भएको छ ।
बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उनले जानकारी दिए । त्यहाँ हालसम्म २ हजार २ सय ४० अस्थायी आवास निर्माण भइसकेको ६ भने ३ हजार ६ सय ९० वटा अस्थायी आवास निर्माणको चरण रहेको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकामा ४ हजार १ सय ९३ लाभग्राहीको खातामा रकम पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट ६ हजार २ सय ७९ लाभग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नगरपालिकामा ८ हजार ३ सय ८३ लाभ्रग्राहीको पहिचान भएको छ ।
अझै विवरण संकलन गर्न केही दिन लाग्ने उनले जानकारी दिए । त्यहाँ १ सय १८ अस्थायी आवास निर्माण हुँदा १ हजार ५ सय ३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न २ हजार ३ सय २१ लाभ्रग्राहीले पहिलो किस्ता पाएका छन् । पालिकाभर हालसम्म ५ हजार ४ सय २५ लाभग्राही पहिचान भएका छन् । जसमा बाँकी रहेका लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए ।
उनका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल, संघ संस्था तथा सरकारको अनुदानमा १ हजार ६ सय अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उनले जानकारी दिए ।
त्यस्तै त्रिवेणी गाउँपलिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् २ हजार ६९ लाभग्राहीका लागि आएको रकम खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार बाँकी रहेका ६ सय ७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ । विवरण संकलनको काम अझै जारी छ ।
पालिकामा हालसम्म २ सय २२ अस्थायी आवास निर्माण भएको र २ सय ६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा ८ सय ६६ लाभग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभग्राहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ । त्यहाँ हालसम्म नौ सयभन्दा बढी लाभग्राही पहिचान भएका छन् ।
बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट १ हजार ६ सय ९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्थायी आवास निर्माण गर्न प्राप्त भएको रकम अपुग भएपछि संघीय सरकारलाई १ अर्ब २ करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।
प्रतिक्रिया