दर्शकको आकर्षणको केन्द्र बन्दै ‘थारुगाउँ’

धनगढी । कैलालीको धनगढीमा मंसिर २२ गतेदेखि सञ्चालित सुदूरपश्चिम महोत्सवमा ‘थारुगाउँ’ प्रदर्शनी स्थल पनि राखिएको छ । थारुगाउँ प्रदर्शनी स्थल भित्र थारु संस्कृति झल्किने थारु साँस्कृतिक संग्रहालय पनि राखिएको छ । जहाँ थारु संस्कृतिसँग सम्बन्धित विभिन्न सामग्री राखिएका छन् ।


‘थारुगाउँ’ प्रदर्शनी अवलोकनका लागि दर्शकको बाक्लो भीड हुने गरेको छ । थारु कला, संस्कृति संरक्षण एवं प्रवर्द्धन गर्ने उदेश्यले राखिएको ’थारुगाउँ’ प्रदर्शनी स्थलमा दर्शकको आकर्षण बढेको छ । थारुगाउँ प्रदर्शनीमा राखिएको थारु सांस्कृतिक संग्रहालयको अवलोकन गर्न तथा साँस्कृतिक कार्यक्रमको अवलोकन गर्ने दर्शकले प्रदर्शनी स्थल भरिभराउ हुने गरेको छ ।

थारु संस्कृति संरक्षण,प्रवद्र्धनका साथै पछिल्लो समयमा लोप हुँदै गएको थारु संस्कृतिको बारेमा पछिल्लो पुस्तालाई जानकारी गराउने उदेश्यले ‘थारुगाउँ’ प्रदर्शनी राखिएको प्रदर्शनी व्यवस्थापन संयोजक हेमन्त चौधरीले जानकारी दिए ।

उनले भने ‘हाम्रो थारु संस्कृति पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ,नयाँ पुस्तालाई हाम्रो रहन सहन,संस्कृति,खानपानको बारेमा जानकारी होस् र अन्य जातिका मान्छेले पनि हाम्रो पुरानो संस्कृतिको बारेमा थाहा पाउन् भन्ने मनसायले थारुगाउँ प्रदर्शनी राखेका हौँ’ ।

थारुगाउँ प्रदर्शनी स्थलमा पसेपछि साच्चिकै थारु गाउँमा पसेको महसुस हुने उनले बताए । प्रदर्शनी स्थलमा राखिएको थारु संग्रहालयमा डिलिया,(माछा राख्ने) जाल,हेल्का(माछा मार्ने साधन), ढिकी, सौला(चप्पल), ढकिया, गाडा, गोलरा, किल्वाही, पिर्का ढोकनी, मन्दरा(मादल), भौका(दराज), डोली, लेहङ्गा, चोलीलगायतका सामानहरु राखिएका छन् ।

त्यस्तै संग्रहालयमा थारु पहिरनका गरगहना मगौरा, टीक, टउक, कन्सेहरी, झुम्का लगायतका साम्रगीहरु छन् । भने प्रदर्शनी स्थल भित्र थारु परिकार पाइने २३ वटा स्टल पनि राखिएका छन् । जहाँ गगटा, घोगी, ढिक्री, मुसाका चटनी, सुगुरको मासु, आलुको चटनी, ढोकनीको चट्नीलगायतका स्वादिष्ट थारु परिकारहरु पाउने गरेको उनले बताए । त्यस्तै प्रदर्शनीमा थारु संस्कृति भल्किने साँस्कृति प्रस्तुति पनि रहने गरेको उनको भनाइ छ । प्रदर्शनी स्थलमा दैनिक २ देखि ३ हजार मानिसले अवलोकलन गर्ने गरेको संयोजक चौधरीले बताए ।

उनले भने ‘प्रदर्शनी स्थलमा थारु जातिकासँगै अन्य जातिका मानिसको राम्रै उपस्थिति रहने गरेको छ,जति दर्शक आउनुहुन्छ सबैले थारु संग्रहालयको अवलोकन गरेर जानुहुन्छ,दैनिक २ देखि ३ हजारको हाराहारीमा दर्शकको उपस्थिति रहने गरेको छ’ ।

‘योसँगै यहाँका स्टलमा रहेका थारु परिकारले पनि दर्शकलाई आकर्षित गरेको छ’ उनले भने ‘थारु संस्कृति र थारु परिकार मनपराउने दर्शकको राम्रै उपस्थिति छ’ । थारु प्रदर्शनी स्थलमा रहेका व्यापार व्यवसाय पनि राम्रै चलेका छन् । सो स्थलमा स्टल राखेर होटल व्यवसाय गर्ने सन्तलाल चौधरीले व्यवसाय सन्तोषजनक रहेको बताए ।

उनले भने ‘दर्शकको राम्रो उपस्थितिले व्यवसाय पनि राम्रै चलेका छ,धेरै ठाउँका मेलामा व्यापार गरियो यहाँ जस्तो राम्रो कतै चलेन्,व्यापार राम्रो चलेको छ’ । त्यस्तै होटल व्यवसायी सपना चौधरीले पनि होटल व्यवसाय राम्रै चलेको बताइन् । उनले भनिन् ‘व्यवसाय ठीकै चलेको छ,थारु परिकार मन पराउनेहरु खान आएकै छन्’ ।

महोत्सव पौष ५ गतेसम्म सञ्चालन हुने

मंसिर २२ गतेबाट सञ्चालन भएको महोत्सव पौष ५ गतेसम्म चल्ने भएको छ । पौष २ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव दर्शकको माग अनुसार ५ गतेसम्म लम्ब्याइएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया