आठबिसकोटमा १४ सय अस्थायी आवास निर्माण, ४ हजारले पाए पहिलो किस्ता रकम

आठबिसकोट । जाजरकोट भूकम्पबाट बढी प्रभावित रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माण कार्य तीव्र गतिमा भएको छ । नगरपालिका भर ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति भएका थिए ।

भूकम्पपछि खोज, उद्धार र राहत वितरणसँगै अस्थायी आवास निर्माणका लागि स्थानीय सरकार जुटिरहेका छन् । आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीका अनुसार आठबिसकोटमा साढे ९ हजार लाभग्राही यकिन भएकोमा शनिबारसम्म ४ हजार १३९ जनाले पहिलो किस्तास्वरुप २५ हजार रुपैयाँ पाइसकेका छन् ।

बाँकी रहेका लाभग्राहीको खातामा पैसा पठाइरहेको र बैंकमा खाता नै नभएकाहरुको लागि वडा कार्यालयमार्फत नगद रकम वितरण गर्ने केसीले बताए ।

नगरप्रमुख केसीका अनुसार हालसम्म १४६५ अस्थायी आवास निर्माण भइसकेको र ३४ सय अस्थायी आवास निर्माणको अन्तिम चरणमा रहेको छ । उनले भने, ‘स्वंयम सेवामार्फत विभिन्न संघसंस्था र राजनैतिक दलहरुलगायतले अस्थायी आवास निर्माण गरिरहेका छन्, हामी जतिसक्दो तत्कालै सबै प्रभावितहरुलाई छानोमुनि ल्याउन लागिरहेका छौँ ।’

कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट आठबिसकोटमा मात्रै ४४ जनाको मृत्यु भएको थियो भने साढे ९ हजार घर परिवार प्रभावित बनेका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया