सर्लाही । सर्लाहीको लालबन्दीका ट्रयाक्टर व्यवसायीहरूले राजस्व रकम तिरेर खोलाबाट ढुंगा, बालुवा निकाल्न पाउने भएका छन् ।
असार, साउन र भदौमा मात्रै नदीजन्य पदार्थ उत्खननका लागि रोक लाग्ने भए पनि लामो समय खोला ठेक्का नलाग्दा व्यवसायीहरू मारमा परेका थिए । आफूहरूले खोलाबाट ढुंगा, गिट्टी र बालुवा झिक्न पाउनुपर्ने माग राखेर ट्रयाक्टरसहित शान्तिपूर्ण आन्दोलन गरेपछि नगरपालिकाले राजस्व रकम तिरेर गिट्टी बालुवा झिक्न दिएको व्यवसायी प्रमोद थपलियाले बताए ।
बिहीबार बिहान १७÷१८ ओटा ट्रयाक्टरसहित नगरपालिका घेराउ गर्न पुगेका व्यवसायीहरूसँग नगरप्रमुख बासुदेव अधिकारी, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक हरिबोल केसी लगायतका प्रतिनिधिहरूले वार्ता गरेका थिए । नगरपालिकाले यत्रो महिनासम्म खोला ठेक्का लगाउन नसक्ने, खोलामा ट्रयाक्टर भेटे प्रहरी लगाएर समात्न लगाउने र व्यवसायीहरूबाट पाँच हजार जरिवाना उठाउने काम तत्काल बन्द गर्नुपर्ने भन्दै व्यवसायीहरू जंगिएका थिए । नगरपालिकाले असार, साउन र भदौ गरी तीन महिना नदीजन्य पदार्थ उत्खनन गरे कारबाही गर्न प्रहरीलाई गरेको पत्राचारलाई आधार मानेर अहिलेसम्म पनि आफूहरूमाथि ज्यादति भइरहेको व्यवसायीहरूको भनाइ थियो ।
लालबन्दी नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने खोलाहरूबाट ढुंगा, गिट्टी र बालुवा झिक्न नपाउँदा यहाँका ट्रिपर, ट्रयाक्टर व्यवसायी, घर निर्माण गर्ने सर्वसाधारण, निर्माण मजदुर, हार्डवेयर व्यवसायीसँगै आमनागरिक मारमा परेको उनीहरूको दाबी छ । ट्रयाक्टरमा काम गर्ने मजदुरहरू अहिले काम खोज्न भारतका विभिन्न सहर पुग्न थालेको समेत ब्यवसायीले बताए । केही समय नगरपालिकाले बेवास्ता गरे निर्माण मदजुर पाउनै मुस्किल पर्ने उनीहरूको भनाइ छ । नगरपालिकाले खोला रोक्दा क्रसरको ढुंगा, गिट्टी र बालुवा महँगो भएको र निम्न वर्गको व्यवसाय रोकेर नगरपालिका नै कमिसनको खेलमा लागेको हो कि भन्ने शंकाको अवस्था सिर्जना भएको व्यवसायी बताउँछन् ।
लालबन्दी नगरपालिकाले कालिन्जोर, लखन्देहीलगायत कुनै पनि खोला ठेक्का लगाउन सकेको छैन । यतिबेला लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि (आइइइ) प्रदेशबाट स्वीकृत नभएकोले हालसम्म खोला ठेक्का लगाउन नसकिएको लालबन्दी नगरपालिकाका प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेलले बताए ।
आइइइ स्वीकृत भएर नआउन्जेलसम्मका लागि ट्रिपर र ट्रयाक्टरमा प्रतिटेलर चार सय रुपैयाँका दरले कालिन्जोर खोलाको रंजितपुर घाट र लखन्देही खोलाको हिरापुरघाट नाकाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न दिइने मौखिक सहमति भएको नगरप्रमुख बासुदेव अधिकारीले जानकारी दिए । खोलामा जेसिबी, डोजर लगायतका मेसिन भने प्रयोग गर्न नपाइने नगरप्रमुख अधिकारीको भनाइ छ । ट्रयाक्टर व्यवसायीले नगरपालिकाको मूल गेटदेखि नै ट्रयाक्टर राख्दै केहीबेर पालिका परिसरमा सानाठूला सवारीको आउजाउ बन्द गरेका थिए ।
सर्लाही
प्रतिक्रिया