मौलापुर जग्गा एकीकरण आयोजनाको रेखांकन शुरु

राैतहट । राैतहटकाे माैलापुर नगरपालिकामा जग्गा एकीकरण आयोजनाको रेखांकन शुरु भएको छ । नगरप्रमुख रिनाकुमारी साहको नेतृत्वमा विकसित घडेरीहरु सम्बन्धित जग्गा धनीलाई हस्तान्तरण गर्ने प्रयोजनका लागि फिल्डमा नापजाँच गरि रेखांकन गर्ने कार्यको शुरूवात भएको हाे ।

संघीय सांसद एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा मंगलबार बसेको भेलाबाट निर्णय भए बमोजिम आज २०८० साल मंसिर २० गतेबाट जग्गाकाे नापजाँच गरि रेखांकन गर्ने कार्य सुरूवात भएकाे माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।

साथै उनले सम्बन्धित जग्गा धनीहरु तथा मौलापुर नगरपालिकाको नगर गौरव एवं दुरगामी महत्त्वका जग्गा एकीकरण आयोजनाका पक्षधर सम्पूर्ण महानुभावहरुमा आवश्यक सहयोगका गर्न अनुरोध समेत गरे । साे कार्यमा सहजीकरण एवं विवाद समाधानका लागि ७ सदस्यीय जग्गा एकीकरण रेखांकन समिति गठन गरिएको उनले बताए ।

समितिकाे संयाेजकमा वडा नम्बर ५ का वडाध्यक्ष चन्द्रशेखर प्रसाद रहेका छन्, भने सदस्यहरूमा मालपोत कार्यालय माैलापुरका सदस्य, नापी कार्यालय माैलापुरका प्रमुख, वडा न ३ का वडाध्यक्ष महेश महतो, जग्गा धनीहरू अच्छेलाल साह, रमाशंकर रजक, श्यामसुन्दर पटेल रहेका छन् ।

प्रतिक्रिया