स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

राजविराज । स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथले हस्ताक्षर संकलन अभियान थालेकाे छ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा शिलान्यास भएर अलपत्र बनेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्व सुचारु हुनुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथ नेपालले बुधवारदेखि सात दिने हस्ताक्षर अभियान थालेका हुन् । एक कार्यक्रमका बीच दोश्रो चरणको आन्दोलन अन्तर्गत सात दिने हस्ताक्षर अभियान थालिएको सप्तरी युथ नेपाल आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।

यादवले भने ‘यसअघि हामीले पहिलो चरणमा प्रधानमन्त्रीका लागि ज्ञापन–पत्रदेखि जिल्ला प्रशासन कार्यालय अगाडी शान्तिपूर्ण धर्नाका कार्यक्रम गर्दा समेत माग भने सुनुवाई हुन सकेको छैन्’ उनले भने, ‘त्यसपछि हामीले एक कार्यक्रमको आयोजना गरि दोश्रो चरणमा सात दिने हस्ताक्षर अभियान सुरु गरेका छौं, राजविराज नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष जयनारायण मण्डलले हस्ताक्षर गरेर अभियानको सुभारम्भ गर्नुभयो ।’

सो कार्यक्रममा हस्ताक्षर अभियान अन्तर्गत बुधवार दिउँसोसम्म मात्रै हजारभन्दा बढी व्यक्तिको हस्ताक्षर संकलन भइसकेको उनले बताए । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान ‘प्रतिष्ठान निर्माणले सप्तरीको मात्रै होइन, मधेशकै विकास र समृद्धिमा टेवा पुग्नेछ’ उनले भने, ‘त्यसैले हाम्रो हस्ताक्षर अभियानमा सर्वसाधारणदेखि समाजसेवि, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनितिकर्मी, सञ्चारकर्मी, विद्यार्थी लगायतकाले स्वस्फुर्त रुपमा सघाइरहेका छन् ।’

उनका अनुसार सात दिनमा १० हजार हस्ताक्षर संकलन गरिनेछ भने त्यसपछि ९ सय ९९ वटा चिठ्ठी प्रधानमन्त्रीका लागि पठाइनेछ । उनीहरुले मंसिर १० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीकालागि ज्ञापन–पत्र बुझाएर पहिलो चरणको आन्दोलन सुरु गरेका थिए । ०७५ सालमा मन्त्रिपरिषद् बैठकले जिल्लाको राजविराज नगरपालिका– १० बिरौलस्थित प्रतिष्ठान निर्माण गर्ने निर्णयपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म डिपीआर निर्माणबाहेक अन्य काम भएको छैन् ।

प्रतिक्रिया