विवाह समारोहमा कुटपिटबाट एकको मृत्यु, सात जना प्रहरी नियन्त्रणमा

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ ।

घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताए ।

उपचारको लागि टीकापुर अस्पताल पुर्याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटना लगत्तै बेहोस अवस्थाका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्याइएको थियो ।

कुटपिटको घटनामा संलग्न भएको आशंकामा प्रहरीले लम्कीचुहाका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्कीसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया