तेल अभिभ । इजरायल र हमासबिच दुई दिनका लागि अस्थायी युद्धविराम लम्ब्याउने सहमति भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यस विस्तारित सम्झौता अन्तर्गत हमासले थप २० जना इजरायली बन्धकहरूलाई रिहा गर्ने बताएका छन् । योसँगै इजरायलको प्रधानमन्त्रीको कार्यालयले थप ५० जना प्यालेस्टिनी बन्दीलाई आफ्नो जेलबाट रिहा गर्ने जानकारी दिएको छ । प्रधानमन्त्रीको कार्यालयले मंगलबार बिहान भन्यो , ‘सरकारले थप ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न अनुमोदन गरेको छ, जसको बदलामा थप इजरायली बन्धकहरूलाई रिहा गरिएको छ ।’
गएराति हमासले ११ इजरायली बन्दीलाई रिहा गरेको छ । जसमा जर्मन, फ्रान्सेली र अर्जेन्टिनाका नागरिक पनि सामेल थिए । यसैबिच, इजरायलले राति अबेरसम्म आफ्नो जेलबाट ३३ प्यालेस्टिनी नागरिकलाई रिहा गरेको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले ट्विटरमा रिहा भएका ११ इजरायलीमध्ये धेरैसँग दुई देशको नागरिकता रहेको बताएका छन् । उनले लेखेका छन्( ‘गाजाबाट रिहा भएका इजरायलीहरूमा तीन फ्रान्सेली नागरिक, दुई जर्मन र छ अर्जेन्टिनाका नागरिक छन् ।’
हमास र गाजाको स्थानीय मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले सोमबार राति इजरायलले रिहा गरेका ३३ जनामध्ये ३० जना पुरुष र तीन जना महिला रहेको बताएको छ । यस अस्थायी युद्धविरामको विस्तारसँगै, राहत सामग्रीले भरिएका थप गाडीहरू गाजा पुग्न सक्नेछन् ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो जसमा १२०० मानिस मारिएका थिए भने २४० जनालाई हमासले बन्धक बनाएको थियो । यसपछि इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ जसमा १४ हजार ५०० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया