फेवातालमा बिदाका दिन ५ हजार बढी पर्यटक

पोखरा । सार्वजनिक बिदाको दिन फेवातालमा डुंगा सयर गर्ने पर्यटक ५ हजारभन्दा बढी हुने गरेका छन् । दसैंपछि सार्वजनिक बिदाका दिनमा करिब एकै दिनमा ५ हजार बढीले डुंगा सयर गर्ने गरेको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । अन्य दिनमा पनि दैनिक २ हजार ५ सय जनाले डुंगा सयर गर्ने गरेको उनी बताउँछन् । बाराहीघाट सहित पोखरामा करिब ६ सयभन्दा बढी डुंगा रहेका छन् ।

हिजोआज पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालमा डुंगा सयर गर्नेहरूको भीडभाड बढेको छ । विभिन्न शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकसहित विदेशी पर्यटकको संख्यासमेत पोखरामा बढेकाले फेवातालमा डुंगा सयर गर्नेहरूको संख्या बढेको हो ।
दसैंदेखि पोखरामा आन्तरिक पर्यटकको संख्या बढेको छ । डुंगा सयर गर्ने र तालवाराही मन्दिर दर्शन गर्नेहरूको भीड पनि पछिल्लो समय बढेको छ । शनिबार मात्र पोखराको बाराही घाटमा करिब ५ हजार जनाले डुंगा सयर गरेकोे डुंगा व्यवसायी मनिराम परियारले बताए । उनका अनुसार शनिबार बिहानदेखि बाराही घाटमा डुंगा सयर गर्ने र तालवाराही मन्दिर दर्शन गर्नेहरूको निकै भीडभाड हुने गर्छ ।

पोखराको बाराहीघाटदेखि तालबाराही मन्दिरमा दर्शन गर्न व्यवसायीहरूले लाइफ ज्याकेटको १० रुपैयाँ शुल्कसहित ७० रुपैयाँ लिने गरेका छन् । दाङको हंंसबाहिनी–७, चण्डीनगरपुरबाट शैक्षिक भ्रमणमा पोखरा आएका शिक्षक विराट न्यौपानेसहितको टिमले पनि डुंगा सयर गरेको उनले बताए । मंसिर ६ देखि १२ सम्मको शैक्षिक भ्रमणमा निस्केको टोलीले मनकामना मन्दिर दर्शनपछि पोखराको फेवातालसहितको पोखराको विशाल महादेवको मूर्तिलगायतका पर्यटकीय गन्तव्य अवलोकन गर्ने शिक्षक न्यौपाने बताउँछन् । फेवाताल क्षेत्रमा थप सरसफाइ गर्न पनि उनले आग्रह गरे । न्यौपानेजस्ता धेरै संख्यामा हाल पोखरा क्षेत्रमा शैक्षिक भ्रमणमा आउने गरेका छन् । पोखरा र पोखरा आसपासका स्थानीयसमेत आफ्नो फुर्सदको समय फेवातालमा बिताउने गर्छन् ।

होटल अकुपेन्सी ६० प्रतिशत

पर्यटनको पिक सिजन मानिने अक्टोबर र नोभेम्बर महिनामा पोखरामा आन्तरिक पर्यटकहरूको उत्साहजनक सहभागिताले पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । कोरोनापछिको आर्थिक मन्दी र पोखरा मुग्लिङ सडकखण्ड स्तरोन्नतिको कारण पर्यटक आगमन बढेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

सोही कारण होटल क्षेत्रको अकुपेन्सी ६० प्रतिशत पुगेको उनको भनाइ छ । हाल भारतीयसहित तेस्रो मुलुकका पर्यटकको मात्रै ४० प्रतिशत होटल अकुपेन्सी रहेको छ ।

दसैंअघिसम्म टे«किङ जाने पर्यटकको संख्या केही वृद्धि भए पनि दसैंको टीकाको भोलिपल्टदेखि आन्तरिक पर्यटकको उत्साहजनक रूपमा सहभागिता रहेको अध्यक्ष सुवेदीले बताए । काठमाडौं, चितवन, धरान, बुटवललगायतका क्षेत्रबाट आन्तरिक पर्यटक पोखरा आएको उनले बताए । संघमा करिब ४ सय पर्यटकीय स्तरका होटलहरू रहेका छन् भने करिब २ सय होटल संघभन्दा बाहिर रहेका छन् । हिउँदको समय सुरु भएसँगै शैक्षिक भ्रमणमा आउने तथा पोखरामा केही दिनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलकुद गतिविधि हुनाले पनि पोखराको पर्यटन आगमन उत्साहजनक रूपमा रहेको उनले बताए । यसैबीच, पोखराका पर्यटकीय स्थलहरूमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरूको भीडभाड रहेको छ ।

प्रतिक्रिया