डेउडा आइडल–२०८० को तयारी तीव्र

धनगढी । नेपालमा पहिलो पटक हुन लागेको डेउडा आइडलको तयारी तीव्र पारिएको छ । देउडा साँस्कृतिक मञ्च नेपालले आयोजना गर्न लागेको डेउडा आइडल–२०८० को तयारी तीव्र पारिएको हो । मञ्चले आइडल सञ्चालनका लागि प्रदेश,जिल्ला र स्थानीय तहमा संयोजन समिति गठन गर्न लागेको छ । मञ्चले आइतबार धनगढीमा आयोजना गरेको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा युवराज न्यौपानेको संयोजकत्वमा लालबहादुर धामी,नरेन्द्र ढुंगाना,प्रेम चन्द,राकेश बुढा सदस्य रहने गरी सुदूरपश्चिम प्रदेश संयोजन समिति गठन गरेको छ ।

त्यस्तै जिल्लामा संयोजनका लागि संयोजक तोकेको छ । मञ्चले दार्चुलामा महेन्द्र बडू, बैतडीमा सीपी लोहिया,बाजुरामा हर्क कठायत, डडेल्धुरामा लोकेन्द्र ओझा, कञ्चनपुरमा दुर्गा जोशी भट्ट,डोटीमा तेज डुम्रेल, बझाङमा कटक नेपाली र अछाममा राकेश बुढा संयोजक तोकेको छ । कर्णालीमा पनि छिट्टै संयोजन समिति गठन गरेर काम अघि बढाइने जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालको खस संस्कृतिको संगीतबद्ध संस्कृति देउडा संस्कृति भएको बताउँदै यसको जगेर्नाका लागि सबैले लाग्नुपर्ने बताए । उनले भने ‘खस संस्कृति मूल पहिचान भनेको डेउडा हो यसलाई जोगाउन सबै लाग्नु पर्छ ।’ आइडल सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे । उनले भने ‘राजनैतिक रुपमा समन्वयको क्षेत्रमा मैले गर्ने सहयोगमा कमी हुँदैन् ।’

डेउडा साँस्कृति मञ्चका अध्यक्ष तथा डेउडा गायक महेशकुमार औजीले डेउडा संस्कृतिलाई देश विदेशमा चिनाउन डेउडा आइडल आयोजना गर्न लागिएको बताए । उनले भने ‘हाम्रो उदेश्य लुकेर रहेका प्रतिभाको उजागर गरी डेउडा गायन क्षेत्रबाट देश विदेशमा पहिचान दिलाउने हो’ । उनले थपे ‘आइडलबाट देश विदेशमा डेउडा संस्कृति झल्किन्छ ।’

डेउडा आइडलका समन्वय संयोजक रमेश कोइरालाले सुदूरपश्चिममा डेउडा आइडलको पालिका स्तरीय छनोट पुस महिना भित्र गरिसक्ने बताए । त्यस्तै पालिका स्तरमा संयोजन समिति गठनको काम १ हप्ता भित्र सक्ने गरी लागिएको उनले बताए ।

आइडलको पालिका स्तरबाट छनोट गरिने तथा सूदूरपश्चिम र कर्णाली प्रदेशको ऐतिहासिक भाषा,कला,संस्कृति,डेउडा गीत संगीतलाई माया गर्ने प्रतिभावान इच्छुक १६ वर्ष पूरा भइ ५० वर्ष ननाघेका देश तथा विदेशमा रहेका गायन प्रतिभा भएका व्यक्ती सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

प्रत्येक पालिका बाट ३ जना छनोट भइ जिल्लामा आउने र जिल्लाबाट छनोट भइ सुदूरपश्चिम र कर्णाली प्रदेशमा ३०÷३० जनाले प्रतिष्पर्धा गर्ने जनाइएको छ । प्रदेशबाट १५ जना छनोट हुने छन् भने केन्द्रमा सुदूरपश्चिम प्रदेश र कर्णालीका गरी ३० जना प्रतियोगीले प्रतिष्पर्धा गर्नेछन् ।

सो मध्ये रेस टु ब्याटल १५ जना भोटिङ राउण्डमा पुग्नेछन भने सोबाट कम अंक आउने १ जना हप्तैपिच्छे बाहिरिने छन् । निर्णायकको ५० प्रतिशत र नागरिकको ५० प्रतिशत मतको आधारमा उत्कृष्ट ५ जना सेमी फाइनलमा पुग्नेछन् । फाइनालिष्ट ३ जना जनताको मतको आधारमा उपाधी प्राप्त गर्ने छन् ।

प्रतिक्रिया