हिँड्दा पनि एकअर्कामा शरीर ठोकिन्छ

कारागारका कैदीबन्दी जोखिममा

बाँके । ‘हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राती हाम्रो सुताइ यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।’ बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए ।

उनले कारागार जीर्ण रहेको बताउँदै पानीपर्दा आफूहरू सुत्ने बिस्तारा समेत भिज्ने गरेको गुनासो पनि सुनाउन भ्याए । ६ सय ४ कैदीबन्दीमध्येबाट उनले हात उठाएर प्रजिअको ध्यान आफूतिर केन्द्रित गर्दै भने, ‘सर, पानी पर्दा टिनमाथि राखिएको बिस्तारा उठाउन हामीलाई भ्याइनभ्याइ हुन्छ ।’

३ सय १६ कैदीबन्दी रहेको दोस्रो ब्लकबाट एक कैदीबन्दीले आफूहरूलाई पढ्ने वातावरणको व्यवस्था नभएको भन्दै प्रजिअसमक्ष आफ्नो ११–१२ कक्षाको परीक्षा नै छुटेको गुनासो गरे । ‘यहाँ पढ्ने वातावरण नहुँदा मैले आफ्नो परीक्षा नै छोड्नुप¥यो’, उनले भने, ‘सामान्य अध्ययनका लागि पनि पुस्तकालय छैन । हामी बिहान उठेर खाना खाने र दिनभरि गफिँदै साँझको खाना खाएर सुत्ने गर्दछौँ ।’

अनुगमनमा आएका प्रजिअसमक्ष कैदीबन्दीहरूले कारागारभित्र आफूहरूले पाएको पीडासहित आ–आफ्ना गुनासा र कैदीबन्दीले पाउनुपर्ने मानवअधिकारका माग गरेका थिए । दिउँसोको समयमा उभिनलाई ठाउँ नभएको उक्त कारागारमा रात कसरी बिताइरहेका छन् होला कैदीबन्दीहरूले ? हामीले कल्पनासम्म पनि गर्न सक्दैनौँ । झण्डै एक बिघा क्षेत्रफलमा निर्मित उक्त पुरानो कारागारको मुख्यद्वारबाट प्रवेश गर्ने बित्तिकै प्रत्यक्षरूपमा देखिन्छन् कैदी बन्दीहरू । झण्डै आठ दशकअघि राणाकालीन समयमा निर्मित उक्त कारागारका पर्खालहरू टाढाबाट नै जीर्ण भएको देख्न सकिन्छ । ३ सय ५० जना कैदीबन्दीको क्षमता भएको यस कारागारमा हाल ९ सय ५० जना कैदीबन्दी बस्दै आएका छन् । कारागारमा कैदीबन्दीको संख्या थपिने र घट्नेक्रम जारी रहन्छ । भूकम्पीय र सुरक्षाको दृष्टिकोणले बढी नै जोखिम रहेकोले आफूहरूलाई जतिसक्दो छिटो नौबस्ता कारागारमा सार्न उनीहरूले माग गरेका छन् ।

दुई वटा ब्लकमा निर्मित उक्त कारागारको सानो ब्लकमा एउटा मेस सञ्चालित छ भने ठूलो ब्लगमा तीन वटा मेस चल्ने गर्दछ । अनुगमनका क्रममा कारागारभित्र दाउराका खालिया र ठूलाठूला कराईमा कैदीबन्दीका लागि पाक्दै गरेको खाना देख्न सकिन्छ । आन्तरिक रूपमा कैदीबन्दीबीच कुनै वादविवाद भइहालेमा तुरुन्त उद्धार गर्न पनि अप्ठ्यारो हुने सजिलै अनुमान गर्न सकिन्छ ।
कारागारका जेलर अर्जुनजंग शाहका अनुसार सरुवा भई आउने प्रत्येक प्रजिअलाई नवनिर्मित कारागारमा कैदीबन्दीलाई सार्ने विषयमा लिखित प्रतिवेदन बुझाउँदा पनि अझै कैदीबन्दीलाई सार्ने काम भएको छैन । ‘कारागार निमार्णसँगै कैदीबन्दी सार्ने विषयमा अहिलेसम्म तीन वटा लिखित प्रतिवेदन बुझाइसकेका छौँ’, उनले भने ।

बाँके कारागार जीर्ण भएको भन्दै बाँकेस्थित नौबस्ता कारागार निर्माण गरिएको छ । एउटै जिल्लामा सुविधायुक्त कारागारको संरचना बनिसकेको अवस्थामा पनि पुरानै उनको भनाइ छ । सबै कैदीबन्दीहरू नयाँ कारागारमा सर्नलाई आतुर छन् ।
बाँके जिल्लाका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले सुरक्षाको दृष्टिले नौबस्तामा निर्मित कारागारमा कैदी बन्दीलाई जतिसक्दो छिटो सार्दा राम्रो हुने बताए । उनी भन्छन्, ‘कारागार भनेको एउटा विश्वविद्यालय नै हो । तर बाँके कारागारमा कैदीबन्दीका लागि ज्ञानगुनका कुरा सिक्नलाई पुस्तकालय नभएको मात्र होइन, जीर्ण भवनमा हिँडडुल गर्नलाई ठाउँसमेत साँघुरो छ । सुरक्षाको दृष्टिले उनीहरूलाई सार्नु आवश्यक छ ।’

बाँकेका मानवअधिकारकर्मी बसन्त गौतमले बाँके कारागारको सुरक्षा व्यवस्था प्रहरी प्रशासनको तर्फबाट बाहिरी रूपमा बलियो भए पनि आन्तरिक रूपमा भने सुरक्षा सतर्कताको उचित व्यवस्थापन हुन नसकेको बताए । ‘ठाउँ साँघुरो भएकाले हिँड्दा पनि एकअर्कासँग ठोकिन्छन् कैदीबन्दीहरू । उनीहरूले त्यहाँ स्वस्थरूपले श्वासप्रश्वाससमेत गर्न पाउँदैनन्’, उनले भने ।

अधिवक्तासमेत रहेका गौतमले बाँके कारागारमा कैदीबन्दीहरूको मानवअधिकार हनन् भएको बताए । उनले भने, ‘बाँकेका कैदीबन्दीले आधारभूत मानवअधिकारसमेत उपभोग गर्न पाएका छैनन् । उनीहरूलाई खुलेर श्वास फेर्ने स्वच्छ वातावरणसमेत छैन । सुत्नलाई बिस्तारा छैन । कपडा धोएर सुकाउने र राख्ने उचित ठाउँको व्यवस्था छैन ।’ नौबस्तास्थित क्षेत्रीय कारागारको भौतिक संरचना त्यसै खेर जानु दुर्भाग्य भएको मानवअधिकारकर्मी गौतमको भनाइ छ ।

यस विषयमा बाँकेका प्रजिअ पोखरेलले कैदीबन्दीलाई नौबस्ता क्षेत्रीय कारागारमा सार्न सक्दो पहल गरेको बताए । उनले कारागार व्यवस्था विभाग र अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए । तर बजेट र कर्मचारीको दरबन्दी स्वीकृत नहुँदा कारागार सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो । ‘हामीले नयाँ कारागार सञ्चालनका लागि चाहिने बजेट माग गर्दै पत्राचार गरेका छौँ । मन्त्रालयले कुनै जवाफ दिएको छैन’, उनले भने ।

नवनिर्मित नौबस्ता कारागारको लागत र संरचना

बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भइरहेको क्षेत्रीय कारागार करिब नौ बिघा क्षेत्रफलमा बन्दै छ । कारागारको निर्माण प्रकृयालाई तीन चरणमा विभाजित गरिएको छ । संघीय आयोजना कार्यान्वयन इकाई बाँकेका आयोजना प्रमुख विजयकेशर खनालका अनुसार पहिलो चरणमा कारागार विभागले नै कारागारमा काँडेतार लगाएको छ ।

दोस्रो चरणमा सहरी विकास तथा भवन निर्माण विभागबाट १२ सय कैदीबन्दी अट्ने क्षमताको ब्लक निर्माण कार्य सम्पन्न गरिएको छ । सशस्त्र प्रहरीको एउटा ब्यारेक, नेपाल प्रहरीको एउटा ब्यारेक र प्रशासनिक भवन निर्माण सम्पन्न गरिएको छ । आयोजना प्रमुख खनालले दोस्रो चरणमा नै कैदीबन्दीका लागि चारवटा ब्लक बनिसकेको बताए ।

खनालका अनुसार तेस्रो चरणमा निर्माण हुने सम्पूर्ण कामको सुरुआत अर्थ मन्त्रालयद्वारा बजेटको स्रोत सुनिश्चित नभएको हुनाले हुन सकिरहेको छैन । तेस्रो चरणमा बन्ने भनिएको भौतिक संरचनाअन्तर्गत सशस्त्र प्रहरी र नेपाल प्रहरीको अन्य भवन बन्न बाँकी छन् भने कारागार कम्पाउन्डको बाहिरी पर्खाल पनि बनाउन बाँकी नै छ । त्यसैगरी १५ शय्याको अस्पताल, विद्यालय, किरियापुत्रीलगायत अन्य संरचना बन्न बाँकी रहेको खनालले जानकारी दिए ।

मूल्य अभिवृद्धि करबाहेक ४६ करोड ४४ लाख ७० हजार ७ सय ९५ को लागतमा सम्झौता भएकामा कुल ४६ करोड २२ लाख ७ हजार ६ सय ७६ मा निर्माण सम्पन्न भएको भवन डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए । कारागारमा रहेको बाल सुधार गृहको सुरक्षा व्यवस्थाका लागि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर हाल खजुरा गणबाट तैनाथ २० जना प्रहरी, सशस्त्र प्रहरीबल ३० नं. गणबाट खटिएका ३० जना सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट चार गरी ५४ सुरक्षाकर्मीको मातहतमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

२०७३ कात्तिक ८ गते सम्झौता भई २३ कात्तिक २०७९ मा निर्माण सम्पन्न भएको उक्त कारागारमा कैदीबन्दीका लागि चार वटा ब्लक निर्माण गरिएको छ । त्यसैगरी, कैदीबन्दीका लागि चार वटा वर्कसप, चार वटा भान्छा, चार शौचालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक–एक वटा भवन, १० वटा सेन्ट्री पोस्ट, चार वटा आगन्तुक ब्लक र एउटा भेटघाट भवन निर्माण गरिएको छ ।
नयाँ निर्माण भएको नौबस्ता कारागार मानवोचित व्यवहार र आधारभूत मानवअधिकार उपभोग गर्न पाउने व्यवस्थासहित निर्माण गरिएको छ । आर्थिक उपार्जन गर्ने खालका सीपको व्यवस्था, मनोरञ्जन, खेलकुद, शिक्षा, स्वास्थ्य, खानपानलगायत आधारभूत मापदण्ड पूरा गरिएको छ । कारागारका वार्डेन शाहले भने, ‘कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ संरचना निर्माण गरिएको हो । यो कारागारमा कैदीबन्दीले तालिम लिन सक्नेछन् । तालिमका लागि ठूला हलको व्यवस्था गरिएको छ ।’

मुद्दा फैसला भइसकेका कैदीलाई नौबस्ता कारागार र अपराधको प्रकृतिअनुसार खुला कारागारमा राखिने नीतिअनुसार निर्माण भएको छ । नौबस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, ज्येष्ठ नागरिक थुनुवालाई नेपालगञ्जस्थित पुरानै कारागारमा राखिने भएको छ ।

प्रतिक्रिया