चाइना ट्रेड सहकारीमा राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति

काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आगामी ४ वर्षको लागि नयां नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । सहकारी संस्थाको १६औं वाषिक साधारण सभाले राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा अमरेश चन्द्र बैदार, सचिवमा सुब्बा श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण बहादुर गुभाजु र सञ्चालकमा किशोर गजाधर खड्का, गणेश कुमार अग्रवाल र मोहन बोहरा चयन भएका छन् । त्यसैगरि लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा पदम बहादुर गुरुङ र सुदर्शनश्रेष्ठ चयन भएका छन् ।

२९ जना संस्थापक शेयर सदस्य र ७० लाख शेयर पूँजीबाट १६ वर्ष अगाडि स्थापित यस संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख रुपैया पुगेको छ ।शेयर पूंजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ ।

गत आवमा असारसम्म संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ । संस्थाले हाल विभिन्न १६ प्रकारका बचत खाता सञ्चालन गरिरहेको छ । यसमा अनिवार्य मासिक बचत, नियमित बचत खाता, सामान्य बचत खाता, मिर्मिरे स्मार्ट बचत खाता, विशेष चाइना ट्रेड बचत खाता, नारी बचत खाता, ज्येष्ठ नागरिक बचत खाता, बाल बचत खाता, सरप्लस बचत खाता, जम्बो बचत खाता, कोसेली बचत खाता, जीवन सारथी बचत खाता लगायतका विभिन्न प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ । यसले गर्दासदस्यको इच्छा र आवश्यकता अनुसार बचत गर्न सक्ने सुविधा रहेको छ ।

गत आवमा संस्थाले ६५ करोड ३२ लाख रुपैया कर्जा लगानी गरेको छ ।यस अवधिमा २४४ जना सेयर सदस्यले कर्जा उपभोग गरेका छन् । यसले व्यावसायिक कर्जा, घरजग्गा कर्जा, सवारीसाधन कर्जा, सेयर कर्जा, कर्मचारी कर्जा र अन्य कर्जा प्रदान गर्दै आएको छ । त्यसैगरि आयकर तथा अन्य विभिन्न कर गरि गत आवमा रु.३४लाख ९१ हजार ८०१ रुपैया राजश्वमा योगदान पुर्याएको छ ।

सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको आव २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन, आव २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन र आव २०८०/०८१ को नीति तथा कार्यक्रम र अनुमानित आय–ब्यय विवरण (बजेट) समेत पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु अनुमोदन गर्नुको साथै उपयुक्त सहकारी संस्थाहरुलाई संस्थामा एकीकरण गर्ने, स्थिर तथा गैरबैकिङ सम्पत्तिहहरु बिक्री गर्ने, आन्तरिक कार्यविधिहरु पारित गर्ने र सदस्य राहात तथा सुविधा योजना लागु गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा १० जना ज्येष्ठ सदस्य र उत्कृष्ट ५ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला सहकारी संघ काठमाडौं, बागमति प्रदेश सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र अन्तरराष्ट्रिय रुपमा एशियाली ऋण महासंघमा आवद्ध यस संस्थाले गुणस्तरीय बचत तथा ऋण सेवा सँगै संस्थाले आधुनिक डिजिटल बैकिङ सेवाको रुपमा मोबाइल बैंकिङ,मिस कल बैकिङ, क्युआर पेमेन्ट सेवा, संस्थाको आधिकारिक वेभसाईट, फेसबुक पेज, वेवसाइट, ग्रुप एसएमएस प्रणालीलगायत आधुनिक प्रविधि प्रयोगमा ल्याएको छ । यस सहकारीको नेतृत्व वर्ग र कर्मचारीको क्षमता अभिबृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पनि विभिन्न कार्यक्रममा सहभागिता जनाउंदै आएको छ । का.म.पा. वडा नं. २२, महाबौद्धमा कार्यालय रहेको यस संस्थामा असार मसान्त सम्म सेयर सदस्य१७१६ पुगेको छ ।

साधारणसभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, जिल्ला सहकारी संघ काठमाडौंका उपाध्यक्ष खेमराज सुवेदी, राष्ट्रिय ब्यवसायी महासंघका उपाध्यक्ष गिरीराज पोखरेल, राष्ट्रिय सहकारी बैंक न्यूराड शाखा प्रमुख रमा घिमिरे, जेष्ट आईडियोलाेजी साकोसका अध्यक्ष हेमबहादर कार्की, जिल्ला सहकारी संघ लि. सिन्धुपाल्चोकका अध्यक्ष दिपक बिक्रम थापा, संस्थाका कार्यवाहक अध्यक्ष रमेश कुमारश्रेष्ठलगायतले सहकारीले मुलुकको विकासका लागि महत्वपूण योगदान गरेको बताए ।

प्रतिक्रिया