काठमाडौं । ज्योति विकास बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकालले पाएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीईओको जिम्मेवारी ढकाललाई दिने निर्णय गरेको हो ।
ढकाललाई मंसिर ४ गतेदेखि लागू हुनेगरी कामु सीईओ नियुक्त गरिएको छ । उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
यसअघि ढकाल हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो । ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ ।
साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रूपमा काम गरिसकेका छन् ।
प्रतिक्रिया