हाम्रो गणतन्त्र कसैको विरासतमा मिलेको सत्ता होइन, यो त देशका जनताहरूको जनआन्दोलनको उपज हो । देशका जनताहरूले दिएको आफ्नो बलिदानको उपज हो । हामीले विभिन्न आन्दोलन गरी देशको सत्तामा आमूल परिवर्तन ग¥यौँ, तर अबचाहिँ देशमा आर्थिक उन्नति प्रगतिको आवश्यकता रहेको छ । भौतिक पूर्वाधार विकास र औद्योगिक क्रान्तिको आवश्यकता छ । जबसम्म औद्योगिक क्रान्ति हुँदैन तबसम्म यो देशमा समृद्धि आउँदैन । जनता तथा सरकार आत्मनिर्भर हुन सक्दैन ।
अहिले पुरै देश नै मुख्य चाडपर्वहरू मनाउँदै छ । विभिन्न किसिमका सरसामानहरू किनेर घर भित्र्याउँदै छन् । घर खर्चका सामान, पूजाका समानदेखि कपडा र विलासिताका हरेक समान बजारबाट किनेर घर भित्र्याउने कार्यमा जुटेका छन् । यो हामी तपाईं सबैले गरिराखेका विषय हुन् । तर ती समान चाहे कपडा होस्, चाहे पूजन सामग्री, चिनी होस् या प्याज चाहे अर्को भाषामा नुनदेखि सुनसम्म नै किन नहोस्, सबै सामान किन्नु नै पर्छ । यी सामान भारत, चाइना, कोरिया, जापान आदि इत्यादि देशमा बनेका हुन् । यसले के सन्देश दिँदै छ ? कहिले हामीले सोचेका छौँ ?
यसले हाम्रो देशभक्ति बलियो बनाउँदै छ कि छैन, साधारण जनतादेखि देश चलाउने नेता तथा कर्मचारीहरूले यी विषयमा कहिले सोचेका छन् ? यी विषयमा सोच्ने कसलाई फुर्सत छ र ? हामीलाई त समानहरू किन्दा कुन विदेशी ब्रान्ड हो त्यही छानेर किन्नु छ । मेड इन चाइना, जापान, युएसए, भारतको ब्रान्ड हेरेर किन्नु छ, आफूले मिहिनेत गरेर कमाएको पैसा, आफ्नो देशको पैसा अरू देशको ब्रान्ड किनेर अरू देशको अर्थतन्त्रलाई बलियो बनाउनु छ । अनि झुटो देशभक्तिको नारा आमजनमानससम्म पु¥याउनु छ । सुन्दा र हेर्दा पनि गज्जब लाग्छ ।
यदि यसो छैन भने यो लेख पढ्दै गर्दा तपार्इं आफैँलाई नियालेर हेर्नुहोस् त, तपाईंले लगाएको घडी, कपडा, हातमा भएको मोबाइल, ल्यापटप, गाडी, घरका सामान ती मेड इन कहाँ को छ ? अनि त्यसपछि फेरि सोच्नुहोस् त तपाईं हामीजस्तै पूरै नेपालीले लगाएका वा प्रयोग गरेका अथवा प्रयोग गरिरहेका हरेक समानको लागि हामी दिनहुँ कति रकम विदेशीलाई दिइरहेका छौँ ? सरकारले यस विषयमा सोच्ने कि नसोच्ने ? आज सरकार चलाउनेहरूले आफ्नो स्वास्थ्यका लागि सारा नेपालीको मानसम्मानमाथि नै प्रश्न उब्जाएका छन् ।
पर्वको समयमा देशमा चिनी, तेल, दाल लगायतका सामग्रीहरू नपाउनु र पाए पनि महँगो रकम तिर्नुपछि आमजनताहरू त सजिलो र सस्तोको लागि त बोर्डर पारी जान्छन् नै । पहाडी क्षेत्रमा चिनी लिनको लागि कुपन लिएर लाइन बस्नुपर्ने, यस्तो समाचार सुनेर बाल्यकालको याद आयो । जुन बेला मट्टितेलको लागि पाँच लिटरको कुपन लिएर लाइनमा बस्नु पर्दथ्यो । कुनै दिन यस्ता पनि आउँछन्, जहाँ चामल र दालको लागि पनि लाइनमा बस्नुपर्छ । काठमाडौं लगायतका सहरहरूमा चिनी प्रतिकेजी १ सय ६० मा पाउनु र त्यो पनि सीमित मात्रामा, तराईका जिल्लामा चिनी ९० देखि १०० रुपैयाँमा प्रति केजी पाउनु र छिमेकी देश भारतको सिमानाको बजारमा चिनी प्रतिकेजी ७० रुपैयाँमा पाउनु भनेको कतिको फराकिलो भिन्नता हो ? यो त एउटा उदहारण मात्रै हो । यस्तो त कति छ, कति छ । यो परिस्थिति देशका नेताहरूले नै ल्याएका हुन् । देशमा भएका कलकारखानाहरूलाई ठप्प पार्दै अरू देशमाथि निर्भर बनाउने योजना नेपाल सरकार कै हो । देशकै ठुलो चिनी कारखाना श्रीराम सुगर मिल, जसले देशको चिनीको ठूलो माग धानेको थियो । त्यो अहिले बन्द अवस्थामा छ । जसकारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ५०औँ हजार जनतालाई प्रभावित बनाएका छन् ।
‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।।
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको ।
माटो र पानी पहिलो धन धर्तीका छोराको ।।
’
यो लाइन पढ्दा जिउ नै सिरिंग हुन्छ, तर हाम्रो अस्तित्व नै अहिले धरापमा परिरहेको अवस्था छ । अहिले देशको गणतन्त्रमाथि खतरा छ भनेर बारम्बार सामाचारहरू आइरहन्छ । यदि त्यो भयो भने त्यसको जिम्मेवार स्वयं यी देशका नेताहरू नै हुनेछन् । हजारौँ हजार व्यक्तिहरूको बलिदान माथि खेलबाड हुनेछ । हाम्रो गणतन्त्र कसैको विरासतमा मिलेको सत्ता होइन, यो त देशका जनताहरूको जनआन्दोलनको उपज हो । देशका जनताहरूले दिएको आफ्नो बलिदानको उपज हो । हामीले विभिन्न आन्दोलन गरी देशको सत्तामा आमूल परिवर्तन ग¥यौँ, तर अबचाहिँ देशमा आर्थिक उन्नति प्रगतिको आवश्यकता रहेको छ । भौतिक पूर्वाधार विकास र औद्योगिक क्रान्तिको आवश्यकता छ । जबसम्म औद्योगिक क्रान्ति हुँदैन तबसम्म यो देशमा समृद्धि आउँदैन । यहाँका जनता तथा सरकार आत्मनिर्भर हुन सक्दैन ।
पशुपतिनाथको देश, गौतम बुद्धको देश, सगरमाथाको देश, समतल तराई जसलाई अन्न भण्डारको देश भनेर विश्वसामु चिनिएको छ । नेपाललाई आत्मनिर्भर बनाउन, समृद्ध राष्ट्र बनाउन न त गौतम बुद्ध आउनेछन्, न त पशुपतिनाथ । यो देशलाई हामी आफँै बनाउनु पर्छ । जबसम्म हामी नेपाली गाँस, बास र कपासमा पूर्णरूपमा स्वावलम्बी र आत्मनिर्भर हुन सक्दैनौँ तबसम्म हाम्रो देशका हरेक श्रोतसाधनहरू बिस्तारै बिस्तारै रित्तिँदै जान्छन् । हामीले कमाएर लाखौँ रुपैयाँ तिजोरीमा राखौँ र त्यसपछि हरेक दिन खर्च गर्दै गरौँ अन्त्यमा त्यो तिजोरी रित्तिन्छ । त्यस्तै अहिले हामी नेपालीको अवस्था छ । देश रेमिटेन्सबाट चलिरहेको छ । तर ती रेमिटेन्सको पैसा हामी आफ्नो दैनिक आवश्यकता पूरा गर्नका लागि भारत, चाइना, अमेरिका, जापानजस्ता देशका सामग्रीहरू प्रयोग गरी सकाइरहेका छौँ । यो विषय अति नै गम्भीर र यक्ष रहेको छ ।
विदेशबाट सामान आयात गरेरै चालु आर्थिक वर्षको तीन महिनामा १ खर्ब ९ अर्ब रुपैयाँ राजस्व उठेको छ । यो अवधिमा चाडपर्वको बेलासमेत परेकोले ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको सामान आयात भएको छ । यति धेरै मात्रामा आयात गर्दा निकासी भने जम्मा ४० अर्ब ८७ करोड रुपैयाँको छ । एलपी ग्याँसको आयात गर्दा तीन महिनामा ११ अर्ब १० करोड रकम बाहिरिएको छ । यो त रेकर्डमा आएको मात्रै तथ्यांक हो । तर जहाँ दिनहुँ लगभग लाखौँको संख्यामा नेपालीहरूले आफ्नो आवश्यकताका सामग्रीहरू भारत गएर किन्ने गरेका छन् । यो रकम दैनिक अर्बौं रुपैयाँ हुन सक्छ । त्यसको कुनै रेकर्ड नै छैन । अहिले दिनहुँ नेपालबाट मात्र भारतमा खुद्रा सामग्री किनी अर्बौंको ट्रान्जेक्सन भइरहेको अवस्था छ । बडादसैँदेखि छठपर्वसम्म हरेक दिन भारतको पूर्वी नाकादेखि पश्चिमी नाकासम्म नेपाली ग्राहकको घुइँचो लागेको हुन्छ । हरेकले सरदर एक दिनको खरिदारी कम्तीमा ५–७ हजार रुपैयाँको गर्ने गरेका छन् । त्यो रकमको अनुमान गरौँ त कति हुन्छ, होला ?
देशमा औद्योगिक क्रान्तिको आवश्यकता छ । जतिबेला औद्योगिक क्रान्ति बेलायत, युरोपेली महादेश र संयुक्त राज्य अमेरिकामा (१७६० देखि १८२० सम्म र १८४० मा) भयो त्यति खेर ती देशहरूका आर्थिक अवस्था खासै राम्रो थिएन र जब आर्थिक क्रान्ति भयो, त्यसपछि ती देशहरूमा विभिन्न किसिमको म्यानुफ्याक्चरिङ मेसिन तथा कलकारखानाको सुरुआत भयो ।
औद्योगिक क्रान्तिको सुरुआत बेलायतमा भयो र धेरै प्राविधिक तथा यान्त्रिक आविष्कारहरू पनि बेलायती मूलका थिए । १८औँ शताब्दीको मध्य सम्ममा बेलायत विश्वको अग्रणी व्यापारिक राष्ट्र भइसकेको थियो । व्यापार व्यवसायमा विकास र उदय नै औद्योगिक क्रान्तिको मुख्य कारण थियो । औद्योगिक क्रान्तिले कारखानाको विकास, रेलको सुरुआत, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको स्वरूप नै फेरेको थियो ।
पश्चिमी मुलुकहरूमा १८औँ शताब्दीमा औद्योगिक क्रान्ति भयो । तर, इंग्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्तिलाई सबैभन्दा ठुलो योगदान मानिन्छ । सन् १७७० मा जेम्स हारग्रीभ्सले आठ वटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १ सय २० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेपछि बेलायतमा औद्योगिक क्रान्ति सुरुआत भएको मानिन्छ । यसपछि कपडा र फलाम उद्योगमा ठुलो फड्को मारेको देखियो । बाफको शक्ति (स्टिम इन्जिन) आविष्कार, कारखाना (फ्याक्ट्री) विकास, रेलको सुरुआत, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रूप फेरियो ।
अब नेपालले सबैभन्दा पहिला त देशमा रहेको औद्योगिक क्षेत्रलाई बचाइ राख्नुपर्ने हुन्छ । बन्द अवस्थामा रहेका श्रीराम सुगर मिल्स, जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल्स, बालाजु कपडा उद्योग आदीलाई अविलम्ब सञ्चालनमा ल्याउनु प¥यो । नयाँ नयाँ उद्यमीहरूलाई नेपालमा केही नयाँ उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुप¥यो । देशमा आर्थिक मन्दीलाई हटाउन स्वदेशी उत्पादन बढाई स्वदेशी सामग्रीहरूको प्रयोगमा प्रोत्साहन गर्नुप¥यो । बढीभन्दा बढी ‘प्रोडक्ट’हरू नेपालभन्दा बाहिर बेच्न सक्ने वातावरण मिलाउनु प¥यो । अनि मात्रै देशको आर्थिक संकट हराएर जानेछ र देशवासीमा देश प्रेमको भावना पलाउन थाल्नेछ ।
(रौतहट निवासी विवेक शर्मा शैक्षिक युवा अभियन्ता हुन् )
प्रतिक्रिया