१३ वर्षमै विवाह गरेकी कमला पछुताउँदै

कालिकोट । साथीभाइसँग खेलेको, स्कुल पढेको, आमाबुबाको काखमा लुटिपुटी गर्दै रमाएको, मिठोमसिनो खाएको सपना पो देखेकी रहेछु । विपनामा त काखमा छोरी छ, साथमा श्रीमान छैन । झसंग बिउझिन्छु अनी कुनामा गएर धितमरुन्जेल रुन्छु ।

८ कक्षा पढ्दा कमला परियार १३ वर्षकी थिइन् । उनी अहिले १७ वर्षकी भइन् । कमला भन्दा उमेरले पाँच वर्ष जेठो दाने दमाईसँग उनको प्रेम बस्यो । सानै उमेरमा बसेको प्रेमले कमलाको सपना चकनाचुर बनायो । खाँडाचक्र नगरपालिका–४ स्थित कमला परियार र खाँडाचक्र नगरपालिका–६ का दाने दमाई प्रेम सम्बन्धमा बस्दै गर्दा कमला १३ वर्षकी थिइन् । उनका श्रीमान् दाने दमाईले तिमीसँग विवाह नभए म मर्छु भन्दै विभिन्न यातना दिएपछि बिहे गर्न राजी भएको कमलाको भनाइ छ । ८ कक्षाको पढाइ छोडेर कमलाले १३ वर्षको उमेरमा विवाह गरिन् ।

कमलाले भनिन्, ‘आमाबुबाको काखमा खेल्नुपर्ने उमेरमा सासूससुराको भनाइ खाएँ । साथीभाइसँग रमाउने उमेरमा श्रीमान्को याताना पाएँ । विवाह गरिसकेपछि सबै घरपरिवारका जुठा भाँडा माझ्नुपर्ने, बिहानै उठ्नु, पानी पँधेरो गर्र्नु, खाना बनाएर खुवाउनु, खेतबारीको काम गर्दा पनी घरपरिवारबाट जस नपाउनु मेरो कस्तो भाग्य ?’

कमलाको आँखाभरी आँसु थियो । हाम्रो भेट हुँदा कमलाको पिठ्युँमा तीन वर्षकी छोरी थिइन् । तीन वर्षकी छोरी सानै थिइन् । कमलालाई सोध्यौँ तीन वर्षकी छोरी किन यति सानी छन् ? उनको जवाफ थियो खानलाई केही छैन । बालबालिकालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ भन्ने सुनेकी छु तैपनि आर्थिक अवस्थाले आफ्नी छोरी कमजोर भई उनको जवाफ थियो । गाउँघरमा बिहान रोटी र साँझ एक छाक भात खानका लागि पनि जोहो गर्न हम्यहम्य हुने ठाउँमा म कसरी छोरीलाई पालनपोषण गर्न सक्थे र !

अहिले पछुतो छ आफू पढेको भए, उमेर पुगेर विवाह गरेको भए आफू कमजोर पनि हुने थिइनँ, कसैको भनाइ पनि खानु पर्थेन । उनी अहिले आफ्ना साथीभाइहरूलाई बालविवाह नगर्न सुझाव दिन्छिन् । धेरै पढेर उमेर पुगेर विवाह गर्नुभन्दै सकारात्मक सुझाव दिने गरेको कमलाले बताइन् ।

‘आफूले सानै उमेरमा विवाह गरेर ठुलो भुल भयो । १५ वर्षको उमेरमा एक छोरी जन्माएँ, १६ वर्षको उमेरमा श्रीमानले अर्की केटी लिएर भारततिर गए । भारत गइसकेपछि कुनै सम्पर्क छैन । दाने दमाईसँग गएका साथीहरू घर फर्फिए । तर आफ्नो श्रीमान आउने कुनै अत्तोपत्तो छैन’, उनले भनिन् । एक्लो जीवन कसरी बिताउने छोरीलाई कसरी पढाउने, आफू के खाने हरेक दिन तनाव लिएर बित्ने गरेको कमलाको भनाइ छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया