खाडलमा पारेर दुई गैँडाको खाग तस्करी

दुर्लभ गैँडा मार्न तस्करको पुरानो विधि

पूर्वी नवलपरासी । दुर्लभ एकसिंगे गैँडा मार्न तस्करले पुरानो विधि अपनाउन थालेका छन् । पछिल्लो समय गैंडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा तस्करले खाल्डो खनेर धरापमा पारी दुई वटा गैँडा मारेको पाइएको छ । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुई वटा खाल्डामा गैँडालाई धरापमा पारेर मारिएको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । तिवारीका अनुसार बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको संयुक्त गस्ती टोलीले चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रअन्तर्गत पर्ने सौराहा सेक्टरको कार्यक्षेत्र चपरचुली सुरक्षा पोस्टबाट करिब साढे तीन किलोमिटर पूर्वी क्षेत्रमा ती गैडा मृत अवस्थामा फेला परेका हुन् ।

मृत अवस्थामा भेटिएका अन्दाजी ६ र १८ वर्षका पोथी गैँडा तीन देखि १० दिनको अन्तरालमा खाडलमा परेको हुनसक्ने निकुञ्जको अनुमान रहेको छ । गैंडा मारेको स्थान नजिकै अर्को खाडल पनि भेटिएको छ र त्यसको पाँच सय मिटर वरपर हेर्दा थप खाल्डा भने नभेटिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । तस्करले खाल्डाको माटो केही पर लगेर फालेको देखिएको छ । कोदालो, गैँचीजस्ता साधन प्रयोग गरेर खाल्टो खनिएको अनुमान गरिएको छ । तस्करले गैंडाको खाग लगेका छन् भने खुर छाडिएको छ । निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दसैँ र तिहारको बीचको समयमा तस्करहरूले खाल्डोमा पारेर गैँडा मारेका हुन् ।

विगत लामो समयदेखि तस्करले खाल्डो खनेर गैँडा धरापमा पारेका थिएनन् । करिब २० वर्षअघि यो विधि प्रयोग गरेर गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरूमा गोली हानेर, करेन्ट लगाएर तस्करहरूले गैँडा मार्दै आएका थिए । निकुञ्जभित्र खाल्डो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षा प्रबन्धमाथि प्रश्न उठ्न थालेको छ । खाल्डो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेको यस घटनाले देखाएको छ ।

यो सँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आव २०८०÷०८१ मा विभिन्न कारणबाट मृत्यु हुने एकसिंगे गैडाको संख्या आठ वटा पुगेको छ । यसै क्रममा नेपाली कांग्रेस चितवनले हालै चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुर्लभ एकसिंगे गैँडा मारेको घटनाको छानविन गर्न माग गरेको छ । दुई पोथी गैँडा मारिएको घटनाले पार्टीलाई गम्भीर बनाएको कांग्रेस चितवनले जनाएको छ ।

‘गैँडा मारेको घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र निकुञ्ज क्षेत्रको सम्पूर्ण सुरक्षाको वातावरण तयार गर्न गम्भीर ध्यानाकर्षण गराउँदछौँ’, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । गैँडा तस्करले दसैँ तिहारको बीचमा तस्करी गर्नु अत्यन्तै शंकास्पद घटनाको रूपमा लिएको विज्ञप्तिमा भनिएको छ ।

‘योजनाबद्ध रूपबाट गल, गैँची र कोदालोजस्ता घरेलु हतियारको प्रयोग गरी खाडल बनाई गैँडालाई धरापमा पारिएको घटना नियोजितपूर्ण छ’, विज्ञप्तिमा उल्लेख छ । दुर्लभ एकसिंगे गैँडाको प्रमुख वासस्थानको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा घटेको यसप्रकारको घटनाले राष्ट्रिय निकुञ्ज र निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षा र निकुञ्जको सुरक्षाको जिम्मा लिएको प्रशासनमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा उल्लेख छ । सशस्त्र द्वन्द्वकालमा भएका गैँडा तस्करीको घटनालाई बिर्साउने गरी भएको पछिल्लो घटनाले पर्यावरण तथा प्रजाती संरक्षणमा समेत विश्वसामु नेपालको साख धमिलो भएको विज्ञप्तिमा भनिएको छ ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया