स्वयं उद्भूत ज्योतिमा दिव्य दर्शन गरेँ मैले । अवर्णनीय । हेर्दैछु म । गाउँ घर । बस्ती । बाटो घाटो । कुलेसा । कटेरा । छाप्रा । पाखापखेरा । नानीहरू । मान्छेहरू । अहँ, हेर्दाहेर्दै म हराएँ । म त्यही छु तर म वरपरको सबै भौतिक वस्तु हरायो । म तल । शिव माथि । अझ माथि आकाश । आकाशमा के होला ! अत्तोपत्तो पाइनँ ।
शून्य पोखरा
हल्लै हल्लाको पोखरा
तालको पोखरा
डाँडा काँडाको पोखरा
निर्जीव पोखरा
सजीव पोखरा
के हो पोखरा ?
देश दर्शनको उद्देश्य बोकेर ६ जना यात्री २०७० कात्तिक २७ मा काठमाडौंबाट बेलुका पुग्यौँ पोखरा । भोलिपल्टै बिहान पुम्दीभुम्दी कोटडाँडामा पु¥याए साथीहरूले । विन्ध्यवासिनी मन्दिरबाट गाडीमा २० मिनेट । कच्ची बाटो । गाडी जाने । उकालो । बाटाका दायाँबायाँ घरैघर । गाउँले । कच्याककुचुक्क । अग्ला । चिल्ला पनि ।
म टुप्पोमा छु । डाँडाको तल हेर्दैछु । मनको चस्मा निकाल्छु । खोल्छु । फेरि त्यतै हेर्छु ।
घरैघर भएको लेक साइड । पानी कम । घर धेरै । आकाशका सूर्य तालको पानीसँग मस्की खेल्दै छन् । ताल पनि सकिनसकी अरूले देख्लान् कि भनेर सूर्यसँग आँखा झिम्क्याई खेल्दै छ । लभ सिन । मनमोहक ।
१ सय ८ शिवलिंगले आवेष्ठित जटाजूटधारी शिव । हाम्रो टाउकोभन्दा धेरै माथि गजक्क परेर बसेका छन् । सर्प । डमरु । त्रिशुल । आदि ।
बनाउनेहरू शिवलाई आकाशसम्मै पु¥याउने भन्थे रे ! प्लेनलाई डिस्टर्भ हुन्छ भनेर दिएनछन् ।
पुम्दी र भुम्दी गाविसको बीचमा बनेको शिवस्थानलाई पुम्दीकोट हो यो भन्ने पसले बा पनि भेटेँ त्यहाँ । बन्दैछ । बनिसकेको छैन । उच्च भविष्य देखेँ मैले यसको । ठोकुवा त नगरौँ हिन्दू दर्शनका प्रतिष्ठापित संसारकै मूर्तिहरू मध्ये यो मूर्ति सबैभन्दा अग्लो डाडाँमा उभिएको हुन सक्छ । देवाधिदेव महादेवको सर्वोच्च आवास गृह । पलेटी मारेर बसेका शिव ।
म उभिएर जटाजुटधारी शिवको प्रतिमातिर एकटक हेरिरहेको छु । शिव प्रतिमाको निदार र केश राशिको मध्यबाट एक मध्यम ज्योति मतिर प्रस्रवित भइरहेको छ । त्यो ज्योति सलल बग्दै आएर मभित्र विलीन हुन्छ । म उस्तै छु । अघि जस्तै । शरीर र मेरा हातपाउ उस्तै छन् । चलायमान । म ज्योतिको प्रवाहले निथ्रुक्कै भिजेँ ।
के हो यो ज्योति ।
आकाशमा सेता बादल तल मतिर हेर्दै गुडुडु कुद्दै छन् । प…र सेतो हिमाल सेता दाँत देखाएर खितिति हास्तै छ । तल तालको निर्मल पानी पनि घाँटी तन्काएर मतिरै हेरिरहेको छ ।
स्वयं उद्भूत ज्योतिमा दिव्य दर्शन गरेँ मैले । अवर्णनीय । हेर्दैछु म । गाउँ घर । बस्ती । बाटो घाटो । कुलेसा । कटेरा । छाप्रा । पाखापखेरा । नानीहरू । मान्छेहरू । अहँ, हेर्दाहेर्दै म हराएँ । म त्यही छु तर म वरपरको सबै भौतिक वस्तु हरायो । म तल । शिव माथि । अझ माथि आकाश । आकाशमा के होला ! अत्तोपत्तो पाइनँ ।
चन्द्रमौलितिर हेरेर मनमनै भनेँ, ‘ए महान्, अलौकिक अद्वितीय देवाधिदेव ! अघि मभित्र प्रविष्ट गराएको दिव्य ज्योति यो डाँडा वरपर बस्ने लाटा निमुखा अशक्त, निर्धन सबैमा प्रविष्ट गराइदिनुस् न ।’
म झोक्राइरहेको थिएँ । साथीहरूले फर्कौं भने ।
मैले झर्दा सोचेँ –
गाडीमा २० मिनेट लाग्ने यो डाँडा वरपर पनि पुरानु बस्ती थियो होला । अझै छ । बजार पुग्न तीन–चार घण्टा लाग्थ्यो होला हिँडेर । रुखो पाखो छ । कोदो मकै स्कुसजस्ता बाहेक अरू नफल्दो हो ।
नानीहरू चाचा, पापा, नाना भनी वा आमालाई ठुस्थे हुन् । नुन, भुटुन ट्वाक्कै सक्किएको बेला डोको बोकेर विन्ध्यवासिनीतिर जान लागेकी तल्ला घरकी बज्यैलाई माख्ला घरकी सुन्तली भन्दी हो, ‘बज्यै मलाई पनि यो ल्याइदिनुस् बजारबाट ।’ ‘हुन्छ नै । ले पैसा । हुन त धेरै जनाको ल्याउनु छ ।’ भन्दी हुन् बज्यै ।
हेर्दैछु ।
निस्लोट ज्वरो आएर सुतेका देखिन्छन् डाँडा पाखा । मौन छ प्रकृति । फाट्ट फुट चराहरू गीत गाउँदैछन् । धनीका गाडी तलमाथि गर्दैछन् । गरिबका छाप्राहरूबाट वास्ना आउँदै छ गुन्द्रुक भुटेको ।
तोरीको गुन्द्रुक खान नपाको धेरै भो । उसो त काठमाडौंमा पनि खाको हो ।
दिङ्ला नागीमा मेरी आमाले पकार डाडुले थपिदिएको गुन्द्रुकको मीठो झोल जस्तो कहाँ पाउनु यहाँ ? तल बजारमा पुगरे माथि पुम्दी भुम्दीको डाँडातिर हेरेँ ।
पलेटी मारेर बसेका रौद्र रूपधारी शिव मतिरै हेरिरहेका थिए ।
प्रतिक्रिया