हेलीबाट ओर्लिनासाथ उनीहरूले बोकेर ल्याएका प्रश्नका पोकाहरू खोल्दै प्रश्न सोध्न थाले । उनीहरू पत्रकार हुन् भन्ने थाहा भइहाल्यो । गाउँलेहरू राहत पर्खिरहेका थिए । तर उनीहरू राहत सामग्रीको सट्टा गाउँलेलाई सोध्ने प्रश्न बोकेर आएका थिए । विपतमा मान्छेले खोज्ने सहायता हो । राहत लिएर आउने ठाउँमा प्रश्न लिएर आउँदा सहायताको पर्खाइमा बसेकाहरूको मन कस्तो भयो होला ? पत्रकारको सूचनाले धेरैले राहत पाउँछन् । तर विपतमा घुमाउरो प्रश्न गर्नुभन्दा थोरै भए पनि राहत दिएको भए हुन्थ्यो मेरो मनमा सवाल बसिरह्यो ।
म रुकुम पश्चिममा छु । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित पहाडको मुनि एउटा गाउँमा मेरो घर छ । भूकम्पबाट सबैभन्दा धेरै क्षति र प्रभावित भएको गाउँ यही हो । भूकम्प गएदेखि नै त्यसपछिका गतिविधि रिपोर्टिङ गरिरहेको छु । शुक्रबार बेलुका ५ बजे हामी राडीबजारबाट बटालागाउँ पुग्यौँ । भाइसँग ठुलीआमाको घरमा बास बस्ने र शनिबार गाउँमै रमाउने योजनासहित शुक्रबार हामी गाउँमै बास बस्यौँ । सोही मध्यरात जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गयो । बेस्सरी हल्लाउँदा सपना होला झैँ लाग्यो । तर घर भत्किँदाको आवाजले भूकम्प हो भन्ने भयो । हतारहतार ढोका खोलेर बाहिर निस्कियौँ । सडकबाट करिब १० मिटर दुरीमै घर थियो । बा
हिर घर हेर्दा पो जीउ सिरिंग भयो । लाग्यो– धन्न बाँचिएछ ।
गाउँमा मध्यरातमै चहलपहल बढ्यो, सुक्खा पहिरोले गाउँलाई ध्वस्त पारेजस्तो आवाज निस्कियो । गाउँमा भागदौड मच्चियो । केही मिनेटपछि आठबिसकोट नगरपालिकाको १२ नम्वर वडामा मानवीय क्षति भएको खबर आयो । सहकर्मी पत्रकारहरूले फोन गरे । भत्केको घर छोडेर राडीबजार झर्नुपर्ने भयो । राती १२ बजे म निस्किएँ । नगर अस्पतालमा पुग्दा मान्छेहरूको भिड बढिसकेको थियो । बेडमा कोही कराउँदै कोही अन्तिम सास लडिरहेका थिए । आफूलाई सम्हाल्नुको विकल्प थिएन । एक बजेदेखि भूकम्पले आतंक मच्चाएको क्षेत्रको अवस्था रिपोर्टिङ गर्ने सुर कसेर निस्कियौँ । छिनछिनमा भूकम्पपछि खबर आउन थाल्यो । मेरो घरको अवस्था के छ भन्ने मलाई नै थाहा थिएन सम्पर्क हुन सकेको थिएन । मध्यरातमै फिल्डमा निस्किएँ । तर आफ्नो घरको अवस्था अझै पता लगाउन सकेको थिइनँ । कोही भन्थे हाम्रो पूरै गाउँ सखाप भएर कोही जीवित छैनन्, कोही त तेरो दुबै घर भत्किएर सबै सखाप भए, म एकदम पीडामा थिए । तर विस्वास थियो कि मेरो घर ढले पनि परिवारमा केही भएको छैन । त्यही आत्मविश्वास लिएर सूचनाको माध्यम मार्फतबाट धेरैलाई बचाउन सहयोग गर्नु यतिबेला आफ्नो कर्तव्य थियो । मेरै अगाडि आफ्नो परिवार नरहेको खबर सुनेर रुन्थे मेरो परिवार नै छैन, म एक्लिएँ ! भावुकताको सीमा थिएन । मुटुको धड्कन फुट्ला झैँ हुन्थ्यो । भूकम्प जाँदा नेटवर्क, विद्युत् सबै गायब भयो ।
बिहान ५ बजे भाइको फोन आयो । भाइले घरमा सबै सकुशल रहेको र घर पूरै भत्किएको सुनायो । ५ घण्टामा मनमा उब्जिएका सबै आशंका हट्यो । घरको खबरले मेरो मन बल्ल हलुंगो भयो । तर मैले बालापन बिताएको सयौँ सपना देखेको त्यो बुबाको दुःखले बनाएको घर ध्वस्त भएको खबर सुन्दा आफ्नो पीडा थाम्न नसकेर अध्यारोमै भक्कानिएछु । नागरिकलाई सही सूचना पुगोस् भनी रातारात रिपोर्टिङमा निस्किएका हामी विभिन्न ठाउँमा आएको सुक्खा पहिरोले बीच बाटोमै रोकिन पर्यो ।
घरमा बुढाआमा बुबालाई छोडेर मध्यरातमा रिपोर्टिङमा निस्किएँ । मनमा एउटै डर थियो । कतै कसैले गलत सूचना दिएर नागरिकलाई थप त्रसित बनाउला कि भन्ने । मध्यरातमै गाउँ शोकमा डुब्यो मेरै गाउँका तीन जनाको दुःखद् निधन भयो । धेरै जना घाइते भए । अधिकांशको घर भत्कियो । मेरो पनि घर भत्कियो । आफन्तले तेरो घर पनि ढल्यो । घरमा अरू केही क्षति भयो कि ? भनेको अलिअलि सुन्छु । शोकमा परेका आफन्त छोडेर रिपोर्टिङमा निस्किएको आठ दिन भएछ । घाइतेको उद्धार, खोजदेखि राहत वितरण हुँदासम्म फिल्डमै खटिएँ । आठ दिनमा ४० वटा बाइलाइन समाचार प्रकाशन भए । दर्जन बढी रिपोर्ट टेलिभिजनमा प्रसारण भएछन् ।
विपतमा सही सूचनाको महत्वपूर्ण भूमिका हुन्छ । २०७२ सालको भूकम्पबाट गतिलो पाठ सिकेको थिएँ । गाउँको घर पूरै भत्कियो । बजारको घर चर्किएको थियो । मर्मत नगरी बस्न लायक थिएन । पराकम्पन आउन रोकिएको थिएन । घरमा आमा–बुबा, आँगनमा त्रिपाल टाँगेर बस्नुभएको थियो । म घरभन्दा पाँच किलोमिटर पर पालिकाको केन्द्र राडी बजारमा थिएँ । एउटा घर ढल्यो अर्को चर्किएर बस्न नमिल्ने भएछ । त्रिपाल टाँगेर म पनि बाहिरै सुतिरहेको छु । आमाले घर आउन बाहिर नहिँड्न भन्नुहुन्थ्यो । मैले पत्रकारिताको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व थियो । हप्ता दिनसम्म पाँच किलोमिटर दुरीमा रहेको आफ्नो घरसमेत जान पाइएन । उता मेरो परिवार घरबाहिर नै बस्यो । म यता खुल्ला चौर, खेतमा रात कटाएर विभिन्न ठाउँमा रिपोर्टिङ जाँदा खुल्ला चौरमा त्रिपालमा बास बस्ने गर्थें । १५ वर्षदेखि क्रियाशील पत्रकार छु । अहिलेसम्म पत्रकारिताबाहेक कतै जोडिएको छैन । झण्डै डेढदशक लामो पत्रकारितामा भोकै, खाली खुट्टै, आफ्नै ज्यान जोखिममा राखेर रिपोर्टिङ गरियो । तर यस्तो अनुभूति पहिलोपटक भयो । आँसुलाई क्यामेरामा कैद गर्दा आफ्नै आँखाबाट आँसु झरेको पत्तो पाइनँ ।
रातभर पेसागत धर्मसँगै खोज र उद्धारमा खट्यौँ । भोलिपल्ट भूकम्पबाट ज्यान गुमाएकाको मलामी बनेर घाटसम्म पुग्यौँ । जाजरकोट र रुकुम पश्चिमको बीचबाट बगिरहेको ठुलीभेरी नदीमा लासहरूले पाइला टेक्ने ठाउँ थिएन । सामूहिक दाहसंस्कार गर्दासमेत लास जलाउन आफन्तले पालो पर्खिरहेका थिए । रुवाबासी चलेको छ । एकै परिवारका आठ जनाको एउटै चिहान भएको छ । रिपोर्टिङमा जाँदा सधैँ कन्टेनको पछाडि दौडने यी आँखा आज स्थिर छन् । विपत् पत्रकारिताको तालिम लिँदा सिकेका कुराहरूले मनमा अनेकौँ सवाल उब्जाएका छन् । यति बेला यो परिदृश्यलाई टुलटुल्ती हेरिरहनुबाहेक विकल्प छैन । वेदनाको पोकोबाट खसेका आँसुलाई क्यामेरामा कैद गर्दा लाग्यो । मैले पुनःजन्म लिएको छु । मलामीको लाम आफन्तीको दर्दनाक पीडालाई देखेर अहिले पनि मन झस्किन्छ ।
भूकम्पमा परेर आफ्नो आठ महिने छोरा गुमाएकी आठबिसकोटकी अलिसा शाही एकोहोरो भएर रुन्छिन् । आफ्नो काखमा खेलिरहेको छोरा सम्झिन्छन् । झन् उनी बेस्सरी रुन्छिन् । धेरै दुखेपछि टाउकोमा कपडा बाँधेकी थिइन् । त्यसो त उनी पनि घाइते भएकी रहिछन् । खुट्टामा चोट लागेको रहेछ । एउटै घरमा रहेका उनको छोरासहित पाँच जनाको मृत्यु भएको रहेछ । उनी मात्रै बाँचेकी रहिछन् । मनोपरामर्श टोलीसहित आठबिसकोटका नगरप्रमुख रवि केसीसँगै म पनि त्यहाँ पुगेँ । शाहीको अवस्था नाजुक थियो । भूकम्प गएदेखि पानीभन्दा अर्थोक खाएकी छैनन् । कसैसँग पनि बोल्दिनन् । उनका श्रीमानले अढेस लगाएर उठाउने सुताउने गर्दा रहेछन् । मन नलागी नलागी मैले एउटा प्रश्न गरेँ विपतमा बल्झिरहेको घाउँ कोट्याउने रहर थिएन । तर पत्रकारको भूमिका र आफ्नो पेसाले बाध्य बनायो । प्रश्नको जवाफ नदिएरै उनी धरधरी रुन थालिन् । क्यामेरा समातेका यी हात आँखामा पुगेर आँसु पुछेको पत्तै भएन । केहीबेरमा उनी रुन छोडेर बोल्न थालिन् । एक वर्ष नपुग्दै छोरो गुमाउनुको पीडा उनको आँखामा देखिरहेको थियो । मनोपरामर्श सहितको टोलीलाई त्यहीँ छोडेर हामी फर्कियौँ ।
आठबिसकोटको घेत्मा गाउँमा एउटै गाउँका २८ जनाको मृत्यु भएको थियो । हामी त्यहीँ गाउँमा पुग्यौँ । आँगनमा गाउँका लासहरू राखिएको छ । आफन्तहरू सम्हालिने स्थिति थिएन । आँगनभरी लासैलास गाउँलेको रुवावासीसँगै आँगनबाट लास उठाएर घाटतिर लैजाँदै गर्दा पत्रकारको भूमिका यहाँ पनि कायमै रह्यो । आफन्तलाई समातेको दृश्य कारुनिक र दर्दनाक थियो । अहिले पनि एक्लै हुँदा ती दृश्य, ती रुवावासी कानमा गुन्जिरहन्छ । भूकम्पको केन्द्रबिन्दु (इपि सेन्टर) जाजरकोटको रामीडाँडा जाँदा मनमा केही डर पैदा भएको थियो । बेस्सरी हल्लाएको भूकम्पले मनमा त्रासै त्रास पैदा गरेको थियो । कतै ठूलो आवाज सुन्नासाथ मन आत्तिने अवस्था थियो । दुई दिन जाजरकोटबाट स्थलगत, ग्राउन्ड जिरो रिपोर्टिङ ग¥यौँ । त्यसपछि रुकुमको सबैभन्दा बढी प्रभावित क्षेत्र आठबिसकोट नगरपालिकामा यतिबेला पत्रकारभन्दा सूचना अधिकारीजस्तै आभास भयो । जिल्ला बाहिरका अधिकांश मिडियाहरूलाई जानकारी दिनुपर्ने, कसैलाई फोटो त कसैलाई भिडियो क्लिप आफ्नो पीडा भुलेर निरन्तर रिपोर्टिङ गर्दाको अनुभूतिले थप जिम्मेवार बनाउँदो रहेछ । त्रास सँगसँगै हामीले घाइतेको उद्धारमा सघाउने जिम्मेवारी पनि निभायौँ । सुरुसुरुमा थोरै लास होलान् भनेर प्रत्येक मृतकको सनाखत हुनासाथ समाचार तयार ग¥यौँ । जब जाजरकोट र आठबिसकोटको १४ नम्बर वडामा पुग्यौँ । आफैँमा बेहोसीपना पैदा भयो ।
२०७२ सालको भूकम्पमा काठमाडौंमा थिएँ । तर यति धेरै धक्का महसुस र त्रास थिएन । मैले जिन्दगीमा त्यस्तो दिन कहिल्यै देखेको थिइनँ । भूकम्प भन्ने साधारणजस्तो लाग्थ्यो, तर होइन रहेछ सबैलाई त्रासमा पु¥याउन यो निकै शक्तिशाली हुँदो रहेछ । मलाई चिन्ता पहिले त आफ्नै रह्यो त्यसपछि अरूको सम्झना आयो मिनेटमिनेटमा खबर आउन थाल्यो । म स्वयं सञ्चारकर्मी भएको नाताले मन दह्रो पारेर सूचना प्रवाह गर्नु छ । रातभर भूकम्पमा परेर घाइते भएकाहरूको उद्धारमा जुट्यौँ । बिहान हुनासाथ एउटै वडामा २८ जनाले ज्यान गुमाएको साविकको घेत्मामा पुग्यौँ । लासहरूको लाइन थियो । दृश्य कारुनिक थियो । एउटा घर पनि ठडिएका थिएनन् । गाउँ नै सखाप भएको रहेछ । एउटै घरमा ५÷६ जनाले ज्यान गुमाएका थिए ।
आफन्तहरूको आँखामा आँसुको भेल बगिरहेको थियो । एउटै गाउँमा २८ जनाको लास देख्दा नरुने कोही थिएन । भित्री मन भक्कानिएको छ । बाहिर बाहिरै शोकमा डुबेका परिवारलाई सान्त्वना दिनुको विकल्प थिएन । मनै न हो । कति पो कठोर बन्न सकिन्छ र ?
कसरी समाचार लेखौँ, कहाँबाट सुरु गरौँ ? कुनै आइडिया थिएन । जुन दृश्यले भावविह्वल बनाइसकेको थियो । कन्टेन्ट छ । स्रोत छ । समाचार लेख्ने हिम्मत छैन । केही समयपछि लासहरूको लाइन छोडेर फर्कियौँ । आधिबाटो झर्दा बिबिसी नेपाली सेवाबाट फोन आयो । सोही गाउँको तस्बिर र भिडियो उपलब्ध गराउन आग्रह थियो । आफूलाई सम्हाल्न नसकिने दृश्य कैद गर्न नसकिने जानकारी गराएर भत्किएको ठाउँको भिडियो उपलब्ध गराउने गरी फर्कियौँ । विपतमा पहिलोपटक रिपोर्टिङ त थिएन । यस अघिका महाविपत् सिन्धुपाल्चोकको बाढी, कोरोना महामारी र गोरखाको भूकम्प लगायतका ठाउँमा पुगेर स्थलगत रिपोर्टिङ गरिसकेको थिएँ । तर आफ्नो गाउँको विपत भएर हो कि आफैँ उद्धारमा खटिएर हो । जाजरकोट भूकम्पले मलाई गाह्रो भयो । तर पनि मनको पीडा मनमै लुकाएर समाचारको लागि प्रभावित क्षेत्रको रिपोर्टिङ गर्न ग्रामीण भेकका गाउँगाउँमा पुग्नुप¥यो ।
नागरिकको पीडा खोज्दै रिपोर्टिङमा निस्कँदा जाजरकोट र रुकुम पश्चिमको हृदयविदारक परिदृश्यले क्षणभरमै आँखा रसायो । आफू बसेको घर भूकम्पले भत्किएको अवस्था छ । आफन्त गुमाएकाहरूको पीडा उस्तै छ । यहाँका जनताको करिब ९५ प्रतिशत घर धुलोमा परिवर्तन भएका छन् । स्थानीय सरकारले पहिलो प्राथमिकता नै खोज उद्धार बनाएर रुकमेली र जाजरकोटी जनताले समयमै उद्धारपछि राहत पाए । पालमुनि र कात्तिके चिसोलाई शब्दमा व्याख्या गर्न सकिँदैन । जाजरकोटको इपि सेन्टर होस् या रुकुमको सखाप भएको गाउँ भर्खरै रिपोर्टिङबाट फर्किएको छु । भूकम्पबाट आफन्त, घरबास गुमाएकाहरूको पीडा र उनीहरूको रोदन अहिले पनि कानमा गुञ्जिरहेको छ । महाविपत्मा पीडाको साक्षी बन्नु र सुक्न लागेको घाउ कोट्याइराख्नु रहर पक्कै होइन ।
आफन्त गुमाएकाहरूको आँसु कैद गर्दा मेरो पनि आँखा रसिला नभएका होइनन् । विपतमा परेका मानिसको प्राथमिक आवश्यकता र आफ्नो पेसागत धर्मबीच कताकता तादम्य नमिलेको अनुभूति भयो । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आएको हेलिकोप्टरमा केहीथान पत्रकार पनि सँगै आएका थिए । हेलीबाट ओर्लिनासाथ उनीहरूले बोकेर ल्याएका प्रश्नका पोकाहरू खोल्दै प्रश्न सोध्न थाले । उनीहरू पत्रकार हुन् भन्ने थाहा भइहाल्यो । गाउँलेहरू राहत पर्खिरहेका थिए । तर उनीहरू राहत सामग्रीको सट्टा गाउँलेलाई सोध्ने प्रश्न बोकेर आएका थिए ।
विपतमा मान्छेले खोज्ने सहायता हो । राहत लिएर आउने ठाउँमा प्रश्न लिएर आउँदा सहायताको पर्खाइमा बसेकाहरूको मन कस्तो भयो होला ? पत्रकारको सूचनाले धेरैले राहत पाउँछन् । तर विपतमा घुमाउरो प्रश्न गर्नुभन्दा थोरै भए पनि राहत दिएको भए हुन्थ्यो मेरो मनमा सवाल बसिरह्यो ।
रुकुम पश्चिम
प्रतिक्रिया