पर्यटकीय क्षेत्र नौकुण्ड ओझेलमा

रसुवा । कुण्डै कुण्डको जिल्ला भनेर चिनिने रसुवामा धार्मिक महत्व बोकेको पर्यटकीयस्थल नौकुण्ड प्रचार–प्रसार अभावले ओझेलमा परेको छ । नौकुण्ड पुग्नका लागि धेरै पदयात्रा मार्गहरु छन् । पासाङल्हामु राजमार्गको कालिकास्थानबाट जिबजिबे, ज्याङलाङ, लोकिल, बक्सार परालथला हुँदै नौकुण्ड पुग्न सकिन्छ । नुवाकोटको विदुरबाट सूर्यगढी गाउँपालिकाको चोकदे, लच्याङ, सरमथली, पारच्याङ, लारच्याङ, यार्सा, सिम्बन्दी शर्मा, बकसार र परालथला हुँदै नौकुण्ड जाने अर्को पदमार्ग रहेको छ ।

काठमाडौंको बुढानीलकण्ठबाट नुवाकोट–दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार, बाघमारा, राउचुली हुँदै सागरकुण्डबाट यस क्षेत्रमा प्रवेश गर्न सकिन्छ । सुन्दरीजल वा मेलम्चीबाट ठाँडेपाटी घोप्टेफेदी–सूर्यकुण्ड–गोसाइँकुण्ड–भैरवकुण्ड हुँदै पनि नौकुण्डमा जान सकिन्छ ।

रसुवाको सदरमुकाम धुन्चेबाट पनि नौकुण्ड जान सहज बाटो रहेको छ । नौकुण्ड धार्मिक तथा पर्यटकीयस्थल भन्ने कुरामा अझै पनि गाउँपालिकाले चासो दिएको छैन् । उचित प्रचार–प्रसारको कमीका कारण नौकुण्ड ओझेलमा परिरहेको छ । कुण्डै–कुण्ड ताल तलैया, मठमन्दिरको जिल्ला नौकुण्डभित्र धेरै घुम्नेलायक स्थल रहेका छन् । नौकुण्डको नामबाट गाउँपालिकाको नामकरणसमेत गरिएको छ । कुण्डको प्रचार–प्रसार नहुँदा पालिका नै ओझेलमा परिरहेको छ । यस क्षेत्रमा बहुजाति, भाषा, धर्म र अनेकतामा एकता रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रूपमा रहेको लम्बेकुण्डलगायतका नौकुण्ड यसै गाउँपालिकाभित्र रहेको छ ।

काठमाडौंको बुढानीलकण्ठबाट नुवाकोटको शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका हुँदै नौकुण्डबाट गोसाइँकुण्ड पुग्न सकिने पदमार्गसमेत रहेको छ । यो पदमार्गका लागि नेपाल सरकारमार्फत पर्यटन बोर्डले मर्मत र सम्भारका लागि बजेट विनियोजन भइरहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो कुण्डको वरिपरि एक दर्जन कुण्ड रहेका छन् । लम्बेकुण्ड, नागकुण्ड, राजारानीकुण्ड, छेडाकुण्ड, एक्लेकुण्ड, कामी–कमिनीकुण्ड र अन्य दुई कुण्डको पेरिफेरी परिचित छ । तर नौकुण्डबारे भने कमै मानिस मात्र परिचित छन् । यसै कुण्डबाट गाउँपालिकाको नामकरण गरिएको पालिकाका अध्यक्ष नुर्बुसाङ्बो घलेले बताए । पालिका टिम नै नौकुण्डको प्रचार–प्रसारदेखि आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन योजनाबद्ध ढंगले लागिरहेको उनले बताए । अहिले गाउँपालिकाले गुरुयोजना बनाएर नौकुण्ड पुग्ने पदमार्गको स्तरोन्नति तथा मर्मत–सम्भार गर्नेलगायतका कार्य गरिरहेको छ । धार्मिक हिसाबले गोसाइँकुण्ड, पार्वतीकुण्ड जस्तै धेरै धार्मिक तथा जैविक विविधताले महत्वको नौकुण्डको प्रवद्र्धनमा सरोकारवाला निकायको सक्रियता आवश्यक देखिन्छ ।

रसुवामा पाइलैपिच्छे भेटिने यस्ता कुण्ड तथा धार्मिक महत्वका मठमन्दिर र हिमाली श्रृखलाबारे प्रचार–प्रसार गरेर जिल्लावासीले वैकल्पिक आय–आर्जनको कार्य गर्न सक्छन् ।
नौकुण्ड बाह्रै महिना आवत–जावत गर्न सहज रहेको र हिमाली दृश्यावलोकनका लागि केन्द्रबिन्दु हुँदाहुँदै पनि प्रचार–प्रसारको खाँचो रहेको रसुवा–नुवाकोट पर्यटक समाजका उपाध्यक्ष शिव लामिछानेले बताए ।

गाउँपालिका भित्र पर्यटकीय क्षेत्रको कमी छैन । तर सम्भावना बोकेका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र उचित व्यवस्थापन नहुँदा ओझेलमा परेको नौकुण्ड गाउँपालिका पूर्व उपाध्यक्ष सिर्जना लामाले बताइन् ।

गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक आवागमन बढ्ने र यसले स्थानीयको जीविकोपार्जनमा पनि प्रत्यक्ष रूपमा सहयोग पुग्ने भएकाले योजना अघि बढाइएको उनले बताइन् ।

‘गाउँपालिका धार्मिक पर्यटकीय रुपमा पदयात्रको हिसाबले पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो’, उनले भने,‘गाउँ पालिकाभित्र पर्यटकीय तथा धार्मिकस्थल हुँदाहुँदै पनि यससम्बन्धी कार्यक्रम सञ्चालन हुन नसक्दा यी क्षेत्रको विकास र विस्तार हुन सकेको छैन । आवश्क अध्ययन गरेर विकास गर्न अघि बढेका छौं ।’

पर्यटकीय पदयात्रामार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाएको छ । गाउँपालिका भित्र रहेका नौकुण्डको उचित प्रचार नहुँदा यो क्षेत्र ओझेलमा परिरहेको पर्यटकीय क्षेत्र भएकोले सम्भाव्यता अध्ययन गरिएको हो ।

प्रतिक्रिया