आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट– १३ का गणेशबहादुर शाही उमेरले ७० वर्षका भए । सामान्य घरायसी काम गर्न सके पनि उनले घर वरपर गर्ने, घरको देखदेख गर्ने, गर्छन् । यही कात्तिक १७ गते भूकम्प जाँदा उनी घरभित्रै थिए । बेलुकाको खाना खाएर सुत्ने कोठामा सुतेको बेला एक्कासी उनलाई हल्लायो ।
उनी आफू बसेको ठाउँबाट उठ्नै सकेनन् । उनी केही समयपछि घरबाट बाहिर निस्किए । त्यस बेलासम्म घरको भित्ता ढलेर ढुंगा ओछ्यानमा आइसकेका थिए । हतारमा उनी बाहिर त निस्किए तर त्रासले भने उनलाई च्यापिरह्यो । जब वरपरका घर परिवार सबै बाहिर निस्किए, त्यसअघि नै गाउँका धेरै घरको आधा भाग ढलिसकेको थियो ।
‘मस्त निद्राको मौका छोपेर मध्य रातमा भूकम्प गयो, नब्युँझिएको भए त, हाम्रो परिवार नै सकिने रहिछ, घर भत्कियो, तर म बाँच्न सफल भएँ’, गहँभरी आँसु बनाएर ७० वर्षीय गणेशले भने, ‘भूकम्प पहिले पनि जान्थे, तर यस्तो असर गर्थेनन्, यस पटक हाम्रो परिवार नै सिध्याउने रहेछ, मेरो श्रीमतीलाई त लग्यो, मान्छे पनि छैन, घर पनि छैन, तर धन्न भाग्यले बाँचियो, एक्लै बाँचेर पनि बाँचे के भन्नु ? आफ्नो जिन्दगीको सहारा श्रीमतीलाई गुमाएँ, एक पटक दुईवटा समस्याले घेर्यो न खुसीले बाँच्न सकिन्छ, न मर्न ? भूकम्पले जिउँनु न मर्नु पारेर गयो ।’
भूकम्प गएको हप्ता दिन बित्यो तर भूकम्प पीडित अझै अचेत अवस्थामा छन् । आठबिसकोट नगरपालिका– ९ की २० वर्षीया अलिसा शाही सात दिनदेखि ओछ्यानमै छिन्, १७ गते शुक्रबार दिउँसो आठबिसकोट– १३ मा माइत गएकी अलिसा मानसिक तनाबले ग्रसित छिन् । माइत गएकी उनले आफूसँगै गएको ८ महिने छोरालाई गुमाइन् । एउटै घरमा भएका उनीहरुले ठूलो पीडा खेप्नुपर्यो ।
रुकुम पश्चिमको छेपारे, चिसापानी, चौर र आठबिसकोट– ९ राडीबजार, बगर नै अहिले यहाँका भूकम्प पीडितको आश्रयस्थल बनेको छ । बगरमा साना ठूला गरी करिब १२ सय टहरा छन् । भूकम्प गएपछि उनीहरु बास खोज्दै बगरमा पुगेका छन् । भूकम्पले घर जायजेथा सबै लुटेपछि पीडित अहिले बगरमा बास बस्दै आएका छन् । भूकम्प पीडितले धमाधम टहरो बनाउन थालेसँगै बगर पनि भरिन थालेको छ ।
‘घरले थिच्यो, भाग्यले बाँचियो, घर भत्किएर ढुंगाले लाग्दा पनि ठूलो चोट लागेन, हाम्रो परिवार सकुशल रहयो, गाउँभरी हल्लाखल्ला मच्चियो, भैँसी बाँधेको गोठ भत्कियो, हेर्दाहेर्दै भैँसी पुरियो, घर भत्कियो, गोठ भत्कियो, चर्पी भत्कियो, मात्रै हामी सकुशल रहेका छौँ’, आठबिसकोटका महेश मल्ल भन्छन, ‘घर बनाउन ल्याएको ऋण तिर्न बाँकी छ, तर घर छैन, रातको समय भएकाले गाउँमा जान सकिएन, आँगनमा आगो ताप्दै रात काट्यौँ, बिहान उज्यालो हुँदा घर छैन, गोठ छैन्, छिमेकिको घरमा शव थुप्रिएका छन्, घरको जगसमेत छैन, छिमेकीका घर छैनन्, धन्न मान्छे बाच्यौँ ।’
उनीहरु अहिले आँगनमा नै त्रिपाल टाँगेर आगो बाल्दै रात काट्दै आएका छन् । घरभित्र भएका सबै लत्ता कपडा र भाँडाकुडा भत्किएको घरबाट बाहिर तान्यौँ, अहिले आँगनमा नै बास भएको छ, न खान मन लाग्छ, न तनिद्रा नै लाग्छ, यति ठुलो घर बनाएर त्रिपालमुनी सुत्नुपर्ला भन्ने कहिलेपनि सोचेको थिएन’, स्थानीय एक भूकम्प पीडितले भने, आठबिसकोटका ३५ हजारभन्दा बढी मानिस अहिले भूकम्पका कारण घरमा बस्ने अवस्था छैन, खुल्ला ठाउँमा त्रीपाल टाँगेर बस्न बाध्य छौँ ।’
भूकम्प गएको हप्ता दिन बित्यो तर भूकम्प पीडित अझै अचेत अवस्थामा छन् । आठबिसकोट नगरपालिका– ९ की २० वर्षीया अलिसा शाही सात दिनदेखि ओछ्यानमै छिन्, १७ गते शुक्रबार दिउँसो आठबिसकोट– १३ मा माइत गएकी अलिसा मानसिक तनाबले ग्रसित छिन् । माइती गएकी उनले आफुूसँगै गएको ८ महिने छोरालाई गुमाइन् । एउटै घरमा भएका उनीहरुले ठूलो पीडा खेप्नुपर्यो ।
आफ्नो छोरासँगै आमा, दिदी, दिदीको छोरा र माइजुलाई आँखै अगाडि उनले गुमाइन् । आफूलाई बायाँ खुट्टामा चोट लाग्यो, तर उनी अहिले ओछ्यानबाट हलचल गर्न सक्ने अवस्थामा छैनन् । अलिसा न खाना खान्छिन न कसैसँग बोल्छिन् । उनका श्रीमान् आभास शाही भन्छन, ‘हामीले एउटै मात्र काखे छोरा त गुमायौँ, तर अब श्रीमतीलाई केही समस्या होलाकी भन्ने पिरले गलिरएको छु ।’
अलिसालाई कसैले उठाएर अढेस लगाएर शौचालयसम्म लैजान सकिन्छ । उनको शरिर कापीरहन्छ । ‘बेला–बेलामा धरधरी रुन्छिन् । मुस्किलले एक दिन एक गिलास पानी पिउँछिन्, यसरी कति दिन चल्ने ?, एकोहोरोले उनलाई समस्या थपेको छ’, आभास भन्छन, ‘मनोपरामर्शहरु पनि आइराख्नुभएको छ, तर उनले कसैको कुरा नैसुन्दिनन् ।’
अलिसा जस्तै अधिकांश भूकम्प पीडितहरुलाई मानसिक समस्या देखिन थालेको छ । भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या जटिल समस्याका रुपमा देखिन थालेको अधिकारकर्मीहरु बताउने गर्छन् । भूकम्पको त्रासमा रहेका अधिकांश वृद्ध–वृद्धा र महिला तथा बालबालिकाहरुमा मनोसामाजिक समस्या देखिन थालेको छ ।
आठबिसकोटका नगरप्रमुख रवि केसी भन्छन, ‘भूकम्पबाट प्रभावित नागरिक मानसिक रुपमा समस्या देखिने डर छ, हामीले घाइते भएका र अधिकांश त्यस्तो समस्या देखिएको ठाउँमा स्वास्थ्यकर्मीसहित म आफैँ खटिएर स्वास्थ्य अवस्थाको जानकारी लिने गरेका छौँ, तर पनि अहिले आठबिसकोटका धेरैजसो मानिसमा त्रास भएकाले मानसिक समस्याको खतरा बढ्ने संकेत देखिएको छ ।’
अहिले भूकम्पबाट प्रभावित भएका यहाँका नागरिकलाई राहत वितर णगर्न थालिएको छ । घर भत्किएर चौरमा बस्दै आएका पीडितलाई तत्कालको लागि त्रिपाल, कम्बल, खाद्यान्न वितरण गर्न थालिएको आठबिसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । पूर्णरुपमा घर भत्किएर चौरमा बस्दै आएका पीडित, सुत्केरी तथा वृद्ध–वृद्धालाई पहिलो प्राथमिकता दिएर राहत वितरण गर्न थालिएको शाहले बताए ।
शाहका अनुसार भुकम्पबाट आठबिसकोटमा ७ हजारभन्दा बढी घरमा क्षति भएको छ । भूकम्पबाट आठबिसकोटमा मात्रै ४२ जनाको मृत्यु भएको छ । विभिन्न व्यक्ति, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले राहत सहयोग गर्दै आएको र अझै पनि चार हजारभन्दा बढी घर परिवारलाई राहत सामग्री अभाव देखिएको नगरपालिकाले जनाएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया