उज्यालोको पर्व तिहार

काठमाडौं । सनातन धर्मावलम्बीहरू शनिबारदेखि दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) मनाउँदैछन् । शनिबार पहिलो दिन काग तिहार थियोे । आज (आइतबार) कुकुर तिहार हो । तिथिहरूको घटबढले आइतबारै मध्याह्नपछि औंसी तिथि लाग्ने हुँदा आइतबारै साँझ लक्ष्मीपूजा गरिने नेपाल पचांग निर्णायक समितिले जनाएको छ ।


लक्ष्मीलाई धनधान्यकी देवी मानिन्छ । लक्ष्मीले सफा र उज्यालो मन पराउने विश्वास गरिने भएकाले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । तिहारका बेला प्रायः हरेक घर झिलिमली बत्तीले सजिएका हुन्छन् । पुरानो चलन भने तिहारमा पातको दियो, माटाको दियो लगायतमा बत्ती बाली घर झिलिमिली पार्ने थियो । त्यसपछि मैन बत्तीको प्रयोग व्यापक रूपमा हुन थाल्यो । यस्ता बत्तीहरू प्रयोग गरी झिलिमिली पार्दा आगलागी हुने सम्भावनासमेत भएकाले हाल आएर विद्युतीय झलरको प्रयोग बढ्दै गएको छ ।

व्यवसायीका अनुसार तिहारमा एलईडी बल्बको बिक्री पनि व्यापक रूपमा हुन्छ । एलईडी बल्ब÷झलरले कम विद्युत् खपत गर्छ । यस्ता बल्बहरू टिकाउ भएकाले उपभोक्ताको रोजाइमा परेको जानकारहरू बताउँछन् । तिहारको मौका छोपी व्यवसायीहरू पनि विभिन्न प्रकारका नयाँ सामानहरू भित्र्याउने गरेका छन् ।
तिहारका लागि व्यवसायीले ४० कन्टेनरभन्दा बढीको झलर (झिलिमिली बत्ती) आयात गरेको बताएका छन् । व्यवसायीका अनुसार एउटा कन्टेनरमा ५५ लाखदेखि ६० लाख रुपैयाँको झलर हुन्छ । होलसेल र खुद्रा गरी तिहारमा ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् । झलर चीन र भारतबाट आयात हुन्छ । झलर मुख्यतः तिहार र छटमा बिक्री हुन्छ । तिहारमा लक्ष्मीपूजाको दिनसम्म कारोबार हुन्छ ।

धार्मिक रूपमा महत्वपूर्ण मानिने कागतिहार कुकुर तिहार, गाई (लक्ष्मीपूजा), गोबद्र्धनपूजा हुँदै भाइटीका मनाउने चलन छ । भाइटीकालाई यमपञ्चकअन्तर्गत सर्वाधिक महत्वपूर्ण मानिन्छ ।
हिन्दु पौराणिक कथनअनुसार यमराजकी बहिनी यमुना थिइन् । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ । र, यमपञ्चकका पाँच दिनसम्म यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास पनि छ । यससँगै तिहारका यी पाँच दिन बलि राजाका लागि आफ्नो राज्य छाडेको कथा पनि छ ।

उक्त दिन कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवम् दीर्घायुको कामना गरिन्छ । यसपछि भने देउसी भैलो खेल्ने परम्परा छ ।

भाइटीका कात्तिक २९ गते १०ः५१ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको समितिले जनाएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन सकिने छ ।

वालिहाङ तङ्नाम

तिहारकै बीचमा कोशी प्रदेशको पूर्वोत्तर क्षेत्रमा बसोबास गर्ने आदिवासी लिम्बू समुदायले हर्षौल्लासपूर्वक वालिहाङ तङ्नाम मनाउँछन् । याक्थुङ (लिम्बू) पात्रो अनुसार, कात्तिक औँसीदेखि द्वितीयसम्म तङ्नाम चाड मनाइन्छ ।

किराँत मुन्धुमअनुसार त्रिकालदर्शी राजा वालिहाङको मृत्यु भए पनि प्रजाहरूले तागेरा निङ्वाभुमाङ (इष्टदेवी)सँग कठोर प्रार्थना गर्दा वालिहाङले पुनः जीवन पाएपछि उनकै दरबारमा प्रजाहरूले हर्षबढाइँ गरेको पौराणिक कथनका आधारमा वालिहाङ तङ्नाम मनाउन थालिएको प्रसङ्ग छ ।

लिम्बू संस्कृतिका जानकार अमर तुम्याहाङका अनुसार, मुन्धुमका व्याख्ताहरूले वालिहाङ प्रतापी, ज्ञानी, शक्तिशाली, लोकप्रिय र त्रिकालदर्शी राजा भएको व्याख्या गर्ने गरेका छन् । तागेरा निङ्वाभुमाङको कृपाले पुनः जीवन पाएको भन्दै वालिहाङले सिपाही र जवानलाई प्रजाहरूको घरघरमा पुगेर बिहान ‘नाम्लिंगेत’ र राति ‘लारिंगेत’ भन्दै बाँचेको सन्देश दिन पठाएको मुन्धुममा उल्लेख छ । यसरी वालिहाङ तङ्नाम मनाउन थालिएको उनले बताए ।

नेपाल सम्वत् र म्हः पूजा

सनातन धर्मावलम्बीले तिहार र लिम्बू समुदायले वालिहाङ तङ्नाम मनाएकै बेला नेवार समुदायले नेपाल सम्वत् र म्हः पूजा मनाउने गरेका छन् । संस्कृतिविद् डा. टीना मानन्धर यी दुवै नेवार समुदायको मौलिक पर्व भएको बताउँछिन् । उनका अनुसार, म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो । हरेक वर्ष नेपाल सम्वत् सुरु हुँदा म्हः पूजा गरिन्छ । आफू नै सबैभन्दा ठूलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गर्ने गरिएको मानन्धरले बताइन् ।


उनी म्हः पूजालाई आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा भनेर व्याख्यासमेत गर्छिन् । उनी थप्छिन्– ‘भगवान खोज्न अन्त कतै जानुपर्दैन आफू नै भगवान हो भन्ने सन्देश हो– म्हः पूजा ।’ यसपटक नेपाल सम्वत् ११४४ यही कात्तिक २८ गतेदेखि सुरु हुँदैछ । नयाँ सम्वत् सुरु भएकै दिन मनाइने म्हः पूजा यसपटक एकदिन अघि २७ कात्तिकमै नेवार समुदायले मनाउने भएका छन् ।

नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः हुन् । उनले विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् मनाउन थालिएको इतिहास छ । भक्तपुरका राजा राघवदेवले सम्वत सुरु गरेको कथन छ ।

प्रतिक्रिया