यात्राको बाँकी भाग…..
सहिद उद्यान गागल
भैरव पुस्तकालय दक्षिणढोकामा बद्री सर, नानीकाजी म र मुकुन्द सर कुरा गर्दै थियौँ।नानीकाजीतिर हेरेर मैले भनेँ, ‘कागेश्वरीमा भव्य पार्क छ रे ! अस्ति जाँदा हेर्न भ्याइएन । तपै र म भोलि जाउँ । हुन्न ।’
‘हुन्छ । भोलि दिउँसो ठीक एक बजे भैरव पुस्तकालय दक्षिणढोका आउनुस । म त्यही आइबस्छु । जाउँला नि ।’ यसो भने नानीकाजी गिरीले ।
भोलि अर्थात् २०८० आश्विन २३ गते दिउँसो ठीक १ बजे म पुस्तकालय अगाडि पुगेँ । उनी पनि आए । मोटरसाइकलमा चढेँ । हुँइक्याए । बुढो ज्यान खुस्केला जस्तो भो । रोकेर उनले भने, ‘एकै छिन है । म साथीको आमालाई भेटेर आउँछु’ हिँडे पो । म रोडको छेउमा उभिएँ । छतमा पुगेर आउनुहोस् भनी इसारा गरँे । गएँ ।
‘वहाँ मेरो साथी कालु धमकी धर्मपत्नी मीना धम हुनुहुन्छ । श्रीमान् दिवंगत भएपछि घरमा एक्लै हुनुहुन्छ । छोराबुहारी पोर्चुगलमा नोकरी गर्छन् ।’ – नानीकाजी
‘ए ! नमस्ते । नमस्ते ।’ – म
घरैमा पाकेका अम्बक र किनेका केरा अनि चिया दिनुभयो । खायौँ । छतमा निस्किएँ । वहाँहरू दुःखसुख बाँड्दै हुनुहुन्थ्यो । करेसाको अम्बक हुर्केर दुईतला माथिसम्म आइपुगेको रहेछ । हातले अलि नभेट्ने । कति मजाले पाकेका अम्बक । हर्हराएर दिङ्लाका अम्बकको सम्झना रापियो ।
राधाकृष्ण मन्दिरको पीपल : अग्लो न अग्लो । झ्याम्म पीपलको बोट घरसँगै उभिएको रहेछ । हेरेँ । पीपल र मेरो हेराहेर भो ।बोलीचालि भएन ।रुखतिर हेरेर मनमनै भनेँ,‘तिमी पीपल वृक्षले पक्कै पनि नेपालको राजधानी काठमाडौंका जनताको सरक्षण गरेको हुनुपर्छ ।’ प्रकृतिको माया नपाए हामी मत्र्यलोकका मनुष्य बाँच्नै पाउन्नौँ ।
रोडमा निस्कियौँ । ‘हौ काजी साहव ! यो पीपल र मेरो फोटो आओस न ।’
हुन्छ । म पोज दिँदै थिएँ । अघिल्तिर लेखेको पढेँ, ‘श्रीकृष्णकुटी राधाकृष्ण मन्दिर । कागेश्वरी मनोहरा न.पा. वडा नंं १ । भीमसेनटार ।’
‘जाैँ ।’‘हुन्छ ।’ फेरि उड्न थाल्यौँ हामी ।
धानखेत : शून्य शहर । झन् शून्य सडक । सडकको छेउमा उभ्भिएका घर । घर पछाडि लमतन्न सुतेको धान खेत । कुदिरहेका छौँ । झर्छ कि भनेर टोपी समात्दै चारैतिर आँखा दौडाउँदै जाँदैछु म ।
लटरम्म धान फलेको अनि पाकेका धानका बाला बोटमै नुहेका । पहेलपुर दृश्य । ‘एक छिन रोकौँ है ।’‘हुन्छ ।’‘फोटा हानाँै है ?’‘हुन्छ ।’ कालिदासले कुनै पुस्तकमा लेखेको पढेथेँ – शश्य श्यामला धारित्री अर्थात् । पाकेका धानले पृथिवी नै कृष्णवर्णी भएको छ । मधुरम् । मधुरम् । दिव्य सौन्दर्य कानका लोतीमा धानका बाला झुन्ड्याउँ । झुन्ड्याउँ लाग्ने ।
अरू फोटा हान्ने कि पुग्यो ?
पुग्यो पुग्यो ।
जौँ ।
गागलफेदी बसपार्क : कता कताबाट स्वाट्टै बसपार्कमा पो निकाले । अब भने भिड ।मोटर । बस । मान्छे ।
भोजदरबार यतै होइन ? म
हो । किन?
केहीदिन अघि त्यहाँ खाएथ्यौँ । मीठो लागेथ्यो । तेसैले । अलि पर पुगेपछि भनेँ,‘बलरामको घर यतै होइन र ?’
‘थाहा छैन कि मलाई जिस्काएको’, नानीकाजी ।
‘ए काजी साब ! २०७२ सालमा मैले प्रविधिमैत्री हुने कोशिस गर्दा भेटघाटपछि चिनेको बलराम अनि उसका भन्टाङभुल्टुङलाई । उसले मेरो घर नजिकै गागलफेदीमा हो आजै जाउँ । भोलि नै जाँउ भन्थ्यो तर मेरो मेसो मिलेन । दक्षिणढोकामा दिनकै भेटे पनि घर भने आएको छैन के काजीसाब’, म ।
औँलाले देखाएर काजीले भनेँ, ‘ऊ तेही गाउँ हो अधिकारीहरूको । यहाँबाट १०÷१२ मिनेट लाग्छ त्यहाँ पुग्न ।’
ठाडो होइन उकालो रैछ पिच । तेतै लाग्यौँ । एकैछिनमा गाउँ आयो । टाढा टाढा घर ।उकालो । चिसो । मन्दमन्द सुगन्ध वायु ।
सुर्ती खाँदै बाआमा ः उकालो चढ्दै छौँ । आहा ! मेरो गाउँ ।उस्तै लाग्छ । मज्जाको डाँडो हिँडेर थाकेका होलान् । उँधो फर्केका छन् । हामी उँभो जाँदैछौँ । अनुहार छेलियो संयाल तापेका बाआमाको ।
अँ सडकमुनि तर सडकसँगैको झ्याम्म रुखको फेदमा सयाल तापेर बसेका छन् उनीहरू । लाग्छ दुवै ५० जतिका छन् । बाजेले दौरासुरुवाल र बुट्टे इस्टकोट धडेका छन् । आमैको मजेत्रो सेतो र गुन्यु बुट्टे छ । डिलमुनितिर मुख फर्केका छन् ।
सुर्तीका कुरो : पात्लेको पातमा बेरेको सुर्ती तान्दै छन् दुवै । धुवाँ तान्दै फाल्दै गरेको दृश्य लोभलाग्दो छ । अहिले । यति वेला । उनीहरू जुन आनन्दमा छन् । त्यो आनन्द पाउने मान्छे विरलै हुन्छन् लोकमा ।
कोदोबारी : हरिया कोदाका नल । टुप्पामा नपाकेका बालाका झुप्पा । नल । जे भन्नुस । कोदोबारीकोबीचबीचमा मकैका ढोड । सुकेका ढोडभन्दा पनि हरियो कोदोबारी कता हो कता राम्रो । हो त नि जसले पनि जिउँदालाई नै त हो माया गर्ने । मन पराउने ।
मकैका झुत्ता : कोदाबारी रुँगेर बसेका एकतले तीन वटा घर देखेँ । मकैका झुत्ता चाङ लाएर झुण्डाएको छ । मकैका झुत्तामुनि तीनवटी नानीहरू । ती मध्ये सबैभन्दा सानी नानीलाई माडीमाडी तेल घसी दिँदै हुनुहुन्थ्यो आमा । झुत्ता छेलिने गरी लुगा सुकाको रैछ ।
मैले भनेँ,‘आमा ! मकैका झुत्ताको फुटो खिच्न मन लाग्यो लुगा सारिदिनुस् न ।’
हुन्छ नि ! भन्दै अर्की महिलाले लुगा निकालिन् । काजी र मेरो अनि मकैका झुत्ताको फोटो ठोके त्यहीका भाइले । म अहिले मेरा घरको आँगनमा चारवटा भालु बाँसको खाँवा गाडेर बनाको माँचमा फुत्त फुत्त मकैका झुत्ता समात्दै बाले चाँङलाको सम्झिन्छु । हामी शिरानमा पुगिसकेछौँ ।
उकालो तुरियो ।सम्म बाटो आयो । रोक्नुभो । ‘ओर्लिनुस् ।’
‘हुन्छ ।’
ओर्लिएँ ।
उभिएर हेर्दैछु । दाहिने सिमन्टीले बनेका खुड्किला माथिमाथिसम्म देखिन्छ । आएको बाटो तेर्सै अगाडि गइरहेको छ । देव्रेतिर छन् १०–१२ वटा मोटरसाइकल उभ्भिएका । त्यहीँ छ एउटा घर । रेस्टुरेन्ट । घरभित्र फाट्टफुट्ट मान्छे देखिन्छन् । वरिपरि वन छ । उँभो जाने । उँधो झर्ने मनुखेहरू आउजाउ गर्दैछन् ।
खुड्किला टेकेँ । सँगै एकछिन हिँड्यौँ । उनी अघि लम्किए । ‘गाह्रो भो ?’
‘भा छैन । ’
‘खड्किला अलि नमिलेका रै छन् । उक्लिन असजिलो भो ।’
उनैले भनेँ, ‘उसो भए फोटा हानौँ । हुन्छ काजी साहब । दन्काउँ ।’
फोटा हेरेँ । वनको अनुहार साह्रै राम्रो । मेरो ! न भनौँ ।
जति माथि गयो उति मज्जा । वनैवन । रुख बिस्तारो सुसाउँदैछन् । म रुख बोलेको सुन्छु । रुखहरू गीतगाइरहेका छन् । नाचीरहेका छन् । उभिएर फेरि चारैतिर हेरेँ र लाग्यो – यी मैले देखेको वनका रुख रुख होइनन् । काग डाँडाको दिव्य सौन्दर्य हेर्न देवलोकबाट डोरीमा झुण्डिएर सलल बग्दै आएका अप्सरा र गन्धर्वहरू हुन् । अप्सरा र गन्धर्वहरूको प्रणय लीला कति रमाइलो ।
म झोक्राएछु । तेही मोका पारेर काजीले भिडियो पो दन्काए छन् बा । मलाई त त्यहाँको विविध दृश्य हेरीबस्ने मन थियो । उनी माथि पुगेछन् । जानै प¥यो ।
काग घरमा : खुड्किला सकिए । अलिकति हिँडयौँ पवित्र माटोमा टेकेर । माटो माटो हो । यो पवित्र र अपवित्र भन्ने नै हुन्न ।धर्तीको सौन्दर्य हो माटो । माटो जीवन हो प्राणी मात्रको ।
माथिबाट एकोहोरो काग मतिर हेरिबसेको छ । म खुड्किला र काग दरबार बीचमा छु । कागलाई देवता मानेर ढोग्ने कि टेकेको जमिनलाई महार्हा धरणी भनेर ढोग्ने म अलमल्ल पर्छु । दुवैलाई न ढोग्ने । लौजा ।
काग घरमुनि पुगेर माथिको कागलाई हेरेँ । हौ । के उधि ठूलो काग । काग बस्ने घर पनि चाइनिज इँटा लार चिरिच्ययाट्ट पारेको । अलि अघि आउँदा तल छाप्राहरू देखेथेँ मान्छेका । नराम्रा घर । यो काग घर कति राम्रो हौँ ।
यो काग घरलाई जनताका घरभन्दा उच्च बनाउन खोजेजस्तो लाग्यो । मनमनै भनेंँ, ‘यो … परपरका घरमा गतिलो छानु छैन । पानी चुहिँदो हो । रंगरोगन गर्ने पैसा छैन । खानै त धौ धौ पर्दो हो । घर रंग्याउन के सक्थे । निमुखा गरिब गाउँलेहरू छाप्राहरू रंगाउन् । नरंगाउन् । मान्छेको घरभन्दा पनि कागको दरबार चमचम देखेँ ।
हौ फोटा हानौँ न काजी !
ठुइँ कि ठुई फोटा हाने । एक्लैका । दोक्लैका । मन परेका । थरिथरि । पारै पाराका फोटा ।
काग मन्दिर परिक्रमा ग¥यौँ । वनभित्र बनेको काकेश्वरको मन्दिर सुन्दर । यस्तो अपायक ठाउँमा काकको घर बनाएर पर्यटक तान्ने सोच त यतैका नेताको हुनुपर्छ । मनै मन भनेँ ।
‘के झोक्राको । उता हेर्नुस् न’ भने काजीले ।
हामीभन्दा अलि परको चौरमा तीन जना नाच्दै रहेछन् । दुई तरुनी एक तन्नेरी । हामीतिर लजाएजस्तो गरेर पुलुकपुलुक हेर्दै थिए । एक तन्नेरी ।मैले आँखा माथिको ठूलो जंगलतिर कुदाएँ । तेता हेर्दा हेर्दै अटव्य । कानन । वन । … जस्ता शब्द पयोग हुने वन यही होलाजस्तो लाग्यो मलाई ।
‘फिरौँ ।’ – काजी
‘हुन्छ ।’ – म
सुन्दरीजल हुँदै हामी ५ बजे दक्षिणढोका आइपुग्यौँ ।
कागेश्वरी जिज्ञासा
२०८० आश्विन २६ गते दिउँसो २ बजे । ढुंगेन चौर गागल । अहिले म कागेश्वरीका पुजारी रामेश्वरसँग कागेश्वरी बारे जिज्ञासा राखिरहेको छु ।
कागेश्वरी नाम कसरी भयो होला ?
मृत सतीदेवीको शरीर बोकेर जटाजुटधारी शिव विह्वल हुँदै यत्र तत्र सर्वत्र घुम्दै थिए । सतीको दाहिने मुटु पतन भएको स्थानमा बसेर शिव शोक गर्न थाले । त्यहाँ शिवलिंगको उत्पत्ति भयो ।नजिकै गाउँ थियो । गाउँलेहरू त्यो जंगलमा गाई चराउन ल्याउँथे । त्यहाँ प्राकृत खाल्डो थियो । गाउँलेका लैना गाईहरू त्यो खाल्डोमा आफ्ना फाँचाको दूध झार्न थाले । देख्दादेख्दै खाल्डो दुग्ध कुण्ड भयो ।
दुग्ध कुण्डको दूध कागले चुच्चाले च्यापेर गहर भित्रको शिवलिंगमा चढाउन थाल्यो । यो कुरा सबै गाउँलेलाई थाहा भयो । थाहा पाएपछि उनीहरू प्रत्येक दिन शिवलिंगको पूजा अर्चनागर्न थाले । वि.संं. १७१९ मा गोठालाहरूले शिवलिंगको पत्तो लाए । त्यो दिनदेखि आजसम्म पूजा अर्चना भइरहेको छ । कागले शिवलिंगको पत्तो लाएर दूध चढाएको हुनाले –काकईश्वर । काकेश्वर भन्दाभन्दै अपभं्रस भएर कागेश्वरी भएको हो ।
यहाँ मेला लाग्छ ? म
लाग्छ नि । विशेष गरेर कागोश्वरीमा भाद्र शुक्ल अष्टमीका दिन (१ दिन) मेला लाग्थ्यो पहिले । अचेल अघिल्लो पछिल्लो समेत जोडेर तीन दिन मेला लाग्छ । यो बाहेक काग तिहारमा । शिवरात्री ।श्रावण महिनाका सबै सोमबारमा । फागुन सात गतेका दिन (कागेश्वरी महोत्सव) यस्ता विशेष दिनहरूमा मेला लाग्छ ।
यो जंगलमा कुन कुन जनावर पाइन्छ नि ? ती जनावरले मान्छेलाई दुःख त दिँदैनन् ?
हरिण। घोरल ।बाघ ।भालु । चित्तल ।लोखर्के । खरायो । स्याल आदि थुप्रै जनावर पाइन्छन् । यो शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गत पर्छ । जनावरले मान्छेको विनास गरेको मलाई थाहा छैन । यो वन स्वर्गको राजा इन्द्रको नन्दन वन हो । भिन्न जातजातिका पशुपछि यहाँ मिलेर बस्छन् । वैवनश्य छैन ।
यो वनका प्रसिद्धफूल कुन कुन हुन् ?
कण्ठहारी फूल यहाँको सुप्रसिद्ध फूल हो । यो फूल शिवजीको कण्ठहार हो पनि भन्छन् । आर्चिड फूलका थुप्रै प्रकार यहाँ पाइन्छ । लालीगुराँस । बेली । जमुना । उडालु (पहेँलो) प्रसिद्ध फूल हुन् ।
यहाँ पर्यटकहरू कत्तिको आउँछन् ?
प्रसस्तै आउँछन् । भारतीयहरू जो हिन्दूदर्शनमा विश्वास गर्छन् । ती त आउँछन् नै । अमेरिका । बेलायत तिरका पर्यटकहरू पनि उकालामा लौरो टेकेर खुइँ कि खुई, ठं ठं हिँडेर यहाँ आउँछन् ।
कागेश्वरी स्थानलाई पुराणहरूमा मृगुतीर्थ पनि भन्छन् । के के छ यहाँ । भन्दिनुस् न ।
गुफा छ । ओडार छ । ओडारमा शिवलिंग छ । आकाश गंगा (व्योम गंगाको छाँगो छ), गौखुर छ । नाग छन् । शिवका अंगरक्षकहरू छन् । गणेश छन् । पार्वती छिन् । म सबै देवदेवीको नित्य पूजा गर्छु ।
धन्यवाद ।
कागेश्वरी कथा (४)
(स्कन्ध महापुराणअन्तर्गत हिमवत् खण्डबाट)
देवलोकमा एकदिन महादेव र पार्वतीको शास्त्रीय प्राचीन विषयमा संवाद भयो । कुरा मिलेन । ठ्याकठुक भो ।महादेव त्यहाँबाट विलुप्त भए ।
त्यसपछि शिव वाग्वतीको उत्पत्तिस्थल सुन्दरीजलदेखि पूर्वको डाँडामा अवस्थित भृगुतीर्थमा गए । गुफाभित्र पसे । आकाशगंगाको आराधना गरेर आमन्त्रण गरे । गुफामै व्योम गंगा आइन् । त्यो छाँगोमा स्वर्गलोकबाट झरेका अप्सराहरूसँग रामरौस गरेर शिव बस्न थाले ।
देवताहरू शिवलाई खोज्दै भृगुतीर्थमा पुग्न त पुगे तर कहाँबसेका छन् भनी पत्तो लाउन सकेनन् । छलफलपछि ब्रह्माले भने, ‘शिव बसेको स्थान अरूले पत्ता लाउन सक्तैनन् । पार्वतीले सक्छिन् । गएर शिव कहाँ छन् । पत्तो लाइदिनुस् भनी पार्वतीको प्रार्थना गरौँ ।’ अरू देवताले हुन्छ भने । पार्वतीको आराधना गरे । उनी खुसी भइन ।काकको रूप धारण गरेर खोज्दाखोज्दै पार्वतीले भृगुतीर्थको गह्वरमा शिवलाई देखिन् । काककै भाषामा शिव गुफामा छन् भनी देवताहरूलई बताइन् ।
जहाँ शिव थिए । त्यहाँ देवताहरू गए । शिव स्तुति । आराधना सेवागर्न थाले । देवताहरूले आफ्नु स्वतन्त्रता विछिन्न पारेको कुरा शिवलाई मन परेन अनि लिंगमूर्ति र काकरुपिणी पार्वतीलाई त्यही छोडेर उनी त्यो ठाउँबाट विलुप्त भए । हराए ।शिव हराएपछि ब्रह्माले त्यहाँ उपस्थित अरू देवतालाई भने,‘कागले उत्पन्न गरेकोले यो लिंगको नाम कागेश्वर रहनेछ ।’ यति भनी उक्त लिंगको पूजा अर्चना गरे ।
नेपालको महानता : जो कोही ठाउँमा जन्मिएका र धर्म नभएका व्यक्तिहरू पनि यदि नेपालमा आएर शरीर त्याग गर्छन् भने तिनीहरू अवश्य पनि शैव पदमा पुगछन् ।
कागेश्वरी क्षेत्रको विकास र निर्माण
यहाँ विभिन्न प्रस्तर मूर्तिहरू । कुण्ड । शिलापत्र आदि थुप्रै अमूल्य ऐतिहासिक र धार्मिक कुरा रहेछन् । शिलापत्रमा अक्षरहरू अस्पष्ट भएकाले यसबारे पूर्वमन्त्री रामेश्वर फुयालको अग्रसरतामा प्राज्ञ दिनेशराज पन्त अनुसन्धान गर्दै हुनुहुन्छ भन्ने थाहा भयो ।
कागेश्वरी वरपरका किसानहरू आआफ्ना बारीको अनाज कागले छोयो भने त अनिवार्य अन्न लगेर चढाउँछन् । नछोए पनि पाकेको बाली पहिले कागेश्वरीलाई चढाएर मात्रै खाने चलन रहेछ ।
यहाँको शिवलिंगलाई शिवपुरी पर्वत शृंखलाको सर्वश्रेष्ठ ज्योतिर्लिंग भन्दा रहेछन् ।
कुण्डभित्रको अष्टधातुले बनेको काग र कागस्तम्भ २०७२÷७३ माबनेको हो रे !
बगेको आकाशगंगाको पानी ल्याएर गुफामुनि पाँचवटा अति सुन्दर ढुंगाको धारा बनाएको रहेछ ।
गागलबाट कागेश्वरीसम्म पुग्ने २ हजार २ सय २२ खुड्किला बनेका रहेछन् ।
नेपाली डाँडादेखि कागेश्वरी धामसम्मको ढुंगा छापेको पदमार्ग कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा बनेको हो रे !
कागेश्वरी धाम वरपर एक–एक हजार वर । पीपल ।अमला । अन्य वनस्पति रोपेर वर–पीपल उद्यान कागेश्वरी धाम बनाउन प्रारम्भ गरिसकिएको रहेछ ।
त्यहाँ फलामे क्यान्थिलेभर पुल बनेको रहेछ ।
‘लोकतान्त्रिकसहिद उद्यान–गागल’ को शुभारम्भ २०६४ सालमा पू.प्र.म.माधव नेपाल र पूर्व म.रामेश्वर फुयालले पाँच फिट अग्लो लालीगुँरास रोपेर गरेका रहेछन् । विश्वकै ठूलो काकमूर्ति रहने स्तम्भ निर्माणको शिलान्यास संविधानसभा अध्यक्ष स्व.सुभासचन्द्र नेम्वाङ र संविधानसभा सदस्य रामेश्वर फुयालले गरेका रहेछन् । १ हजार ९ सय ४० दशमलव ९५ किलो अष्ट धातुले बनेको काकमूर्ति २०७७ मा तयार भई दर्शनार्थ राखिएको रहेछ ।
उद्यान वरपर वनभोज खाने । बस्ने । रमाउने थुप्रै टहरा देखेँ । गाडिबाटोबाट काक स्तम्भसम्म जाने सिमन्टिका खुड्किला बनेका रहेछन् । माथि जंगलबाट ल्याएर पिउने पानकिो व्यवस्था गरेको रहेछ ।
चिहान डाँडामा यति सुन्दर उद्यान निर्माण गरेर पर्यटकलाई आकर्षण गर्नु आफैँमा महत्वपूर्ण कुरा हो । त्यसमाथि विश्वकै ठूलो काग प्रतिमा बनाएर गिनिजबुकमा कागेश्वरीको नाम लेखाउने सत्प्रयास स्तुत्य छ ।
प्रतिक्रिया