जोशीको राजनीतिक शिखर
पंचायतकालमा पनि गोविन्दराज जोशी अहिले जस्तो कमजोर अवस्थामा थिएनन् । माध्यमिक विद्यालयका जुनसुकै विषय पनि पढाउन सक्ने अब्बल हेडमास्टर थिए । उनी जुन जुन विद्यालयमा हेडमास्टरका रुपमा काम गरे ती विद्यालयले प्राय जसो तनहुँ जिल्लाभरीमै उत्कृष्ठ नतिजा हासिल गरे । जोशीले पढाएका विद्यार्थीहरु अहिले पनि मुलुकमा राम्रै पोजिशनमा छन् । हेडमास्टरका रुपमा तनहुँ काँग्रेसको संगठन निर्माणमा पनि जोशीको योगदान अग्रणी छ । शिक्षकबाट राजीनामा दिन वाध्य पारिए पछि उनी जिल्ला सदरमुकाम दमौलीमै घर बनाएर वकालत पेशामा लागे । वकालत पेशामा पनि जोशीको प्रभाव निकै राम्रो थियो । त्यतिबेला दमौलीमा भएको मण्डलेहरुको विगविगीलाई जोशीले नियन्त्रण मात्रै गरेनन्, दमौली बजार कांग्रेसको किल्लाका रुपमा स्थापित भयो । पैतृक सम्पत्तिको दृष्टिले पनि जोशी त्यो बेलाका सम्पन्न वर्गमै पर्थे । त्यस बाहेक उनको पंचायतकालमा पनि आम्दानीको स्रोत राम्रै थियो ।
बहुदलीय व्यवस्थाको पुजनर्वाहाली पछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनमा जोशीले तनहुँ क्षेत्र नं २ बाट निकै फराकिलो अन्तरले चुनाव जिते । डोटीका सिद्धराज ओझा पछि नेपाल अधिराज्यभरी नै सबै भन्दा बढी मत अन्तरले चुनाव जित्ने जोशी नै थिए । २०४८ सालको आम निर्वाचन पछि बनेको नेपाली कांग्रेसको एकमना सरकारमा रामचन्द्र पौडेलले रोजेको मन्त्रालय पाए भने जोशी संसदीयदलको प्रमुख सचेतक बनेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ज्यादै नजिक भए । प्रधानमन्त्री कोइरालालाई पौडेलले भन्दा जोशीले बढी चित्त बुझाए । एक वर्ष बित्दा नबित्दै जोशी शिक्षा मन्त्री भए । शिक्षा मन्त्रीका रुपमा जोशीले दीर्घकालिन रुपमा धेरै काम गरेका छन् । नेपालको इतिहासमा अहिलेसम्मकै सबै भन्दा सफल शिक्षामन्त्रीका रुपमा जोशीको नाम दर्ज गर्न कुनै कुन्जुस्याँइ गर्नु पर्दैन । उनी शिक्षा मन्त्री हुँदै गर्दा नेपालमा बार्षिक १ सय जना एमविविएस डाक्टर उत्पादन हुन्थे , अहिले बार्षिक ३ हजार जना उत्पादन हुन्छन् । बार्षिक ५० जना इन्जिनियर उत्पादन हुन्थे अहिले ४ हजार जना इन्जिनियर उत्पादन हुन्छन् । लोकसेवा आयोगकै हैसियतको शिक्षकसेवा आयोगको थालनी उनकै पालामा भयो ।
जोशी केही समय गृहमन्त्रीपनि भए । सशस्त्र प्रहरी बल जोशीकै पालामा स्थापना भएको हो । गृहमन्त्रीका रुपमा जोशीको भूमिका खासै विवादास्पद रहेन । २०४८ देखि २०५८ सालसम्माको अवधी जोशीको राजनीतिक जविनमा स्वार्णयुग हो । जोशीले जे भन्यो गिरिजाप्रसाद कोइरालाले त्यही मान्थे । यो १० वर्षको अवधीमा जोशीले तनहुँ जिल्लाका धेरै व्याक्तिको उत्थान गरे । जोशीको यो स्वार्ण युगमा तनहुँ जिल्लाको भौतिक विकास नभएको होइन , तर पंचायतकाल जत्तिको रहेन । छिमेकी जिल्लाको जत्तिको पनि रहेन ।
राजनीतिक पतनको सुरुवात
माओवादीले डोल्पा सदरमुकाम दुनै आक्रमण गर्दा जोशी गृहमन्त्री थिए । दुनै ध्वस्त भएको भोलिपल्ट गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली सेना माथि कटाक्ष गरे । नेपाली सेना तमासे बनेकै कारण दुनै ध्वस्त भएको आरोप सहित जोशीले लामो प्रेस विज्ञाप्ति बाचन गरे । यही प्रेस विज्ञाप्तिकै कारण जोशीले गृहमन्त्री पदबाट राजीनामा दिनु प¥यो । त्यही बेलादेखि जोशीको राजनीतिक यात्रा ओरालो लागेको हो । त्यो घटना भन्दा अघि जोशी भन्ने गर्थे –‘ गिरिजाबाबुले दरवार सँग समन्वय गर्नुपर्दा म नभै हुँदैन , भारत सँग समन्वय गर्नुपर्दा चक्र बास्तोला नभै हुँदैन ।’ सायद राजाका बडागुरुजु खलक सँगको नाता संवन्धका कारण दरवार प्रति जोशी यतिधेरै विश्वस्त भएका हुनसक्छन् । तर नेपाली सेनाले कालोसूचिमा राखेका कारण बडागुरुजु खलकको पनि केही जोडबल चलेन । पछिल्लो कालखण्डमा गिरिजाप्रसाद कोइराला स्वंयको संवन्ध दरवार सँग निकै टाढियो । गिरिजाप्रसाद कोइरालाले जोशीलाई दरवारिया ठाने , नेपाली सेनाले दुनै काण्ड पछि कलो सूचिमा राखेकै थियो । तै पनि नेपाली कांग्रेसको विभाजनदेखि एकीकरणको बेलासम्म जोशीको प्रभाव नेपाली कांग्रेसमा पौडेलको भन्दा बलियो थियो । तर अधोगतिको यात्रा सुरु भइसकेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा जोशीलाई मुछिसकेको थियो । जोशी भ्रष्ट्राचार प्रकरणमा डामिनुमा अख्तियारका तत्कालिन प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सँगको पुरानो रिसइवी मात्रै थिएन , दुनै काण्डदेखि जोशी स्वंयममा चुलिन थालेका घमण्ड लगायतका कयौं कारण थिए ।
दुनै काण्ड पछि जोशीको अर्को ओरालो यात्राको उदाहरण अर्को पनि छ । नेपाली कांग्रेसको सानेपा स्थित केन्द्रिय कार्यालय भवन जोशीकै सक्रीयतामा बनेको हो । तर त्यही कार्यालयमा २०६२ सालमा सम्पन्न नेपाली कांग्रेसको ११ औ महाधिबशेनमा रामचन्द्र पौडेलले सबै भन्दा बढी भोट ल्याएर केन्द्रिय सदस्य पदमा चुनाव जित्दै गर्दा जोशीले पराजित भए । जबकी त्यतिबेला माओवादी हिँसा र शाही शासनको चरमोतकर्षका कारण धेरै जसो जिल्लामा कांग्रेसको महाधिबेशन स्वभाविक रुपमा हुन सकेको थिएन । धेरैजसो महाधिबशेन प्रतिनिधिहरु काठमाडौंमा बसेर गरिएका थिए । आफ्नो अनुकुलका महाधिबशेन प्रतिनिधि आएका कारण पौडेलले चुनाव हार्ने र आँफूले सर्वाधिक मत ल्याएर चुनाव जित्ने हिसाव कितावका साथ जोशी ढुक्क थिए । तर आँफैले ल्याएका महाधिबशेन प्रतिनिधिले जोशीलाई भोट दिएनन्, पौडेललाई दिए ।
केवी गुरुङ र डा. रामवरण यादवलाई नेपाली कांग्रेसको महामन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेको जोशीले नै हो । कृष्णप्रसाद सिटौलालाई गिरिजाप्रसाद कोइरालाको बेडरुमको ढोका खुलाई दिएको पनि जोशीले नै हो । यी त उदाहरण मात्रै हुन् , जोशीकै कारण राजनीतिक उचाईमा पुग्नेहरुको संख्या नेपाली कांग्रेसमा उल्लेख्य छ । जोशीकै कारण आर्थिक उन्नती गर्नेहरुको संख्या पनि नेपाली कांग्रेसमा उल्लेख्य छ । तर राजनीतिको ओरालो यात्रा सँगै जोशी एक्लिँदै गए । सँधै धेरै मतको अन्तरमा चुनाव जितेर प्रतिनिधिसभामा पुग्ने गरेका जोशी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा पुग्ने गरी पराजित भए । आधा भन्दा बढी मतदातालाई प्रतक्ष फाइदा हुने गरी उनले तनहुँका मान्छेलाई जागिर लगाइ दिएका थिए । उनले जागिर लगाइदिएका व्याक्तिको परिवारले मात्रै भोट दिएको भए पनि चुनाव जित्न असंभव थिएन । उनको ग्रासरुट कमजोर भएको सन्देश यो चुनावले देशव्यापी प्रवाह ग¥यो । संविधानसभाको दोस्रो निर्वाचनमा टिकट नै पाएनन् । संविधान जारी भए पछिको पहिलो आमनिर्वाचन २०७४ मा स्वतन्त्र उमेदवारी दिए तर रामचन्द्र पौडेलको उजुरीका कारण उमेदवारी खारेज भयो । २०८० सालको आम निर्वाचनमा फेरी स्वतन्त्र उमेदवारी दिएर नेपाली कांग्रेस सँगको संवन्ध टुटाए ।
जोशीका दुर्वल पक्ष
नेपाली कांग्रेस भित्र जोशीलाई मन पराउनेहरुको भन्दा मन नपराउनेहरुको जमात ठूलो छ । तर जोशीलाई मन नपराउने कांग्रेसजनहरु पनि जोशीलाई गैर कांग्रेस ठान्दैनन् । कांग्रेसको वर्तमान संगठनबाट जोशीको दूरी निकै टाढा भइसकेको छ । तर उनको नाम उल्लेख नगर्दासम्म नेपाली कांग्रेसको इतिहास अधुरो हुने हैसियत उनले बनाइसकेका छन् । राजनीतिक शक्ति चरम उत्कर्षमा पुगेको बेला जोशी स्वयं भन्ने गर्थे –‘ कोही पनि व्याक्तिको पतनमा अरुको भूमिका भन्दा स्वयंमको व्याक्तिगत कमजोरी मुख्य हुन्छ ।’
जोशीको राजनीतिक समाप्तीमा रामचन्द्र पौडेल लागेकै हुन् । किनकी यी दुई हस्ती वीच आगोको झिल्को निस्कने गरी भेडाको थुमे जुधाई भएकै हो । दुनै काण्ड पछि नेपाली सेनाले कालोसूचिमा राखेकै हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रम्ख आयुक्त सुर्यनाथ उपाध्यायले पुरानो तुष साँधेकै हुन् । यो कुरा कांग्रेसका सचेत पुराना नेता तथा कार्यकर्तालाई थाह छ । तै पनि उनीहरु जोशी प्रति सहानुभूति राख्न मन लगाउँदैनन् । जोशीले शब्द चित्रमा नेपाल भन्दै एउटा पुस्तकाकारको ठेली नै लेखेका छन् । जुन ठेलीमा कांग्रेसका होनाहार कयौं नेता तथा कार्यकर्ताको मानमर्दन गरिएको छ , भने कयौं बकम्पुसहरुको देवत्वकरण गरिएको छ । बास्तवमा उनलाई भ्रष्टाचार प्रकरणमा जेल पु¥याएको यही पुस्तक आकारको ठेलीले हो । उनले आफ्नो आम्दानीको स्रोत देखाउने क्रममा यही पुस्तक आकारको दुराग्रहपूर्ण ठेली विक्रिलाई अघि सारे । यस्तो ठेली विक्रिबाट करोडौं आम्दानी भएको कुरा कांग्रेसका कार्यकर्ताहरुले कसरी पत्याउनु ? त्यसैले ऋषिमुनीहरु भन्ने गर्थे शब्द भनेको ब्रह्मास्त्र हो , यसको दुरुपयोग गरियो भने आँफै माथि ब्रज्रपात आइ पर्छ । उस्तै आरोप लागेर राजनीतिक पतन बेहोरोका खुमबहादुर खड्का आज पनि कांग्रेसजनको मनमनमा छन् , तो जोशी राजावादी कित्तामा उभिएका छन् ।
कात्तिक १७ गते शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा बिनासकारी भूकम्प गयो । मुख्य प्रभावित क्षेत्रबाहेकका नेपालीहरुले भोलिपल्ट बिहान कुखुरा नबास्दै फेसबुक खोले पछि मात्रै थाह पाए । राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स भ्रमण रद्ध गर्नु पर्ने मागमा भूकम्पलाई कारण जोडेर फेसबुकमा स्टाटस शेयर गर्नेहरु उल्लेख्य थिए । उनीहरुले भनेका थिए –‘देश भूकम्पको यस्तो पिडामा गुज्रिएको छ , राष्ट्रपति पौडेल फ्रान्स भ्रमणमा जाँदैछन् , त्यो खर्चले भूकम्प प्रभावितलाई ठूलो रहत हुनसक्छ । देशको ढुकुटी राष्ट्रपतिको भ्रमणमा सिध्याउने की ? भूकम् पीडितको राहतमा खर्च गर्ने ?’
शनिबार दिनभर भूकम्प भन्दा राष्ट्रपतिको फ्रान्स भ्रमण देशका लागि घातक रहेको विचार एकथरीले फेसबुकमा प्रवाह गरिरहे । भूकम्प नजाँदासम्म राष्ट्रपति पौडेलको फ्रान्स भ्रमण कात्तिक २२ गतेदेखि हुने गरी तय भएको थोरैलाई मात्रै थाह थियो । राष्ट्रपतिको फ्रान्स भ्रमण भूकम्प जाना साथ तय भएको पनि थिएन । धेरै दिन पहिले तय भएको थियो । तर यी दुवै घटनालाई एकै ठाउँमा मिसाएर प्रचार गरियो । भूकम्प गएको आधा घण्टा वित्दा नवित्दै राप्रपाका सहअध्यक्ष रविन्द्र मिश्रले यो बेहोराको स्टाटस हाले । त्यस पछि गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले । मुलप्रवाहका मिडियाले पनि देश शोकमा डुवेका बेला राष्ट्रपति विदेश भ्रमणमा जाँदा गणतन्त्र प्रति नकरात्मक सन्देश जाने टिप्पणी गरे । भोलिपल्ट आइतबार राष्ट्रपति पौडेलले फ्रान्स भ्रमण स्थगित गरे । जनदवावले हो या आफ्नै स्वविवेकले राष्ट्रपति पौडेलले यो निर्णय लिएका हुन् भन्ने कुरा विश्लेषणको छुट्टै पाटो हो ।
आइतबार फ्रान्स भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल सोमबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जाजरकोट पुगे । राष्ट्रपति पौडेलको स्थलगत अवलोकनलाई राजावादी कित्ताबाट झन ठूलो विरोध भयो । ‘रहत सामाग्री लिएर जाजरकोट पुग्नुपर्ने हेलिकप्टर राष्ट्रपतिले ओगटे , वाह गणतन्त्र’ भन्दै फेसबुकमा सामाग्री पोष्ट गरिए । यसको अगुवाई पनि दीपकराज जोशीले नै गरेका हुन् । भूकम्पको पराकम्पन आइरहेकै बेला राष्ट्रपति जाजरकोट पुुग्न हुन्थ्यो या हुन्नथ्यो ? भन्ने कुरा विश्लेषणको छुट्टै पाटो हो ।
राष्ट्रपति रामचन्द्र पौडेलका हरेक गतिविधिलाई नकरात्मक रुपमा प्रस्तुत गर्नु राजावादी कित्ताको धर्म नै हो । किनकी राजतन्त्र पुनर्वहालीको वातावरण निर्माणका लागि पहिलो खुड्किलो भनेकै राष्ट्रपति संस्थाको बद्नाम गराउनु हो । गणतन्त्रको देखिने प्रतिक भनेकै राष्ट्रपति हुन् । राष्ट्रपति लोकप्रिय हुँदा गणतन्त्र पनि लोकप्रिय हुन्छ । राष्ट्रपति अलोकप्रिय हुँदा गणतन्त्र पनि अलोकप्रिय हुन्छ । पूर्वपर्ती राष्ट्रपति विद्यादेवी भण्डारीका कतिपय व्याक्तिगत कमजोरी पछि देशमा राजावादीहरु उत्साहित भएको सबैले देखे जानेकै कुरा हो । वर्तमान राष्ट्रपति पौडेलले पूर्ववर्ती राष्ट्रपतिका कतिपय कमजोरीबाट शिक्षा लिने प्रयास नगरेका होइनन् , तर पौडेलबाट केही थप कमजोरी नभएका होइनन् ।
आफ्नो राजनीतिक मिसनका साथ अघि बढेका राजावादीहरुले
राष्ट्रपतिलाई बद्नाम गर्न आफ्नो भएभरको बल बर्कत प्रयोग गर्नु कत्ति पनि अनौठो होइन । तर राजावादीहरुको यो अभियानलाई थपमलजल पु¥याउन नेपाली कांग्रेसका पाका नेता गोविन्दराज जोशीले आफ्नो छोरा दीपक जोशीलाई किन शिखण्डीका रुपमा प्रस्तुत गरिरहेका छन् ? भन्ने कुरा भने अनौठो हो । लाटो सुत्र प्रयोग गरेको जोड, घटाउ, गुणान तथा भागाको हिसाव गर्दा पनि राष्ट्रपति बद्नाम हुँदा कांग्रेसका पाका नेता राज जोशीले प्राप्त गर्ने राजनीतिक उपलव्धी केही पनि देखिन्न ।
वर्तमान राष्ट्रपति पौडेल र पाका नेता गोविन्दराज जोशी एउटै पार्टीमा रहेर पनि कुनै बेला नेपालको राजनीतिमा प्रतिस्पर्धी थिए । सत्तामा पनि प्रतिस्पर्धी थिए , नेपाली कांग्रेस भित्र पनि प्रतिस्पर्धी थिए । तर अहिले कुनै प्रतिस्पर्धा छैन । यी दुवै जना अब सक्रीय राजनीतिमा छैनन् । राष्ट्रपति पौडेल चौरासी पुजा गर्ने तरखरमा छन् । जोशी पनि ८० वर्ष पुग्न लागिसके । अब केही वर्ष पछि पौडेल राष्ट्रपति पदबाट स्वतः हट्छन् । फेरी राष्ट्रपति बन्ने संभावना छैन ।
बास्तवमा लोभ, इष्र्या , डाह , मानसिक छटपटी मानवीय गुण हुन् । धेरै ज्ञानी मान्छे मात्रै यी गुणबाट मुक्त हुन्छन् । निकै लामो समयसम्म आपसमा प्रतिस्पर्धा मात्रै होइन एकले अर्काको राजनीति सिध्याउने अभियानमा एकलव्य भएर जुटेका नेता हुन्–‘ रामचन्द्र पौडेल ।’ नियतिले यतिबेला पौडेल आफ्नो जीवनकै सबै भन्दा सन्तोषजनक चुचुरोमा पुगेका छन् । नेपाली नागरिकले हासिल गर्न सक्ने सबै भन्दा ठूलो उचाई हो राष्ट्रपति पद । व्याक्तिगत र पारिवारिक लोभलालचबाट मुक्त हुन सके भने पौडेल अमर हुनेछन् । एक हिसावले पौडेलले अमरत्व प्राप्त गरिसकेका छन् । नेपाल देश रहेसम्म रामचन्द्र पौडेलको नाम रहन्छ । कसैले चाहेर पनि मेटाउन सक्दैन भन्ने कुरामा जोशी अनभिज्ञ छैनन् तर मनले मान्दो रहेनछ । मान्छेको कमजोरी भनेकै यही हो ।
प्रतिक्रिया