भेरीगंगा । रुकुम पश्चिम आठबिसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो । दाईहरु भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उनी माइतीमा जान पाएकी थिइनन् ।
यही कात्तिक १७ गते उनी घरको कामबाट फुर्सद मिलाएर भेटघाटको लागि माइतीमा गइन् । धेरैपछि आएकी बहिनीलाई माइतीमा मिठोमसिनो खुवाउनुपर्छ भनेर उनका दाइले मासु किनेर ल्याए । अनि सबै जना खाना खाएर सुख दुःखका कुराकानी गर्दै थिए । अनि हीराको दाइले रात धेरै गइसक्यो बहिनी अब सुत्नुपर्छ भनेपछि सबै जना आफ्नो–आफ्नो कोठामा गए ।
उनीहरु सबै जना सुत्नेबेला घडीमा रातको साढे ११ बजेको थियो । ‘म माइतीमा पाहुना आएको थिएँ, हीराले भनिन्, ‘धेरैपछि माइतीमा आउँदाको खुसी धेरै थियो, सबै जना सुख दुःखका कुरा गरेर बसिरहेका थियौँ, दाइले अब धेरै रात बित्यो सुत्नुपर्छ भनेपछि हामी सबै सुत्न आफ्नो आफ्नो कोठामा गयौँ, कोठामा भर्खर सुतेका थियौँ, घर हल्लिन थाल्यो एकै छिनमा सबै घर तल खस्यो ।’
भाग्यले आफ्नो ज्यान जोगिएकी हीराले बाहिर चिच्यावट आवाज आएपछि मात्रै घर भत्किएको थाहा भएको उनले बताइन् । ‘हामी सबै घरभित्र पुरियौँ, उनले भनिन्, ‘गाउँका बाँचेका दाइभाइ आएर आधा घण्टापछि हामीलाई निकाल्नुभयो,’ हीराले भनिन्, ‘सबै बेहोस अवस्थामा थिए, कोही बाँच्नुभयो भने कोही सधैँको लागि छोडेर गए ।’
दाइभाइ र भदाभदैसँग भेट्न आएकी हीराले सबैसँग भेट्न पाइन् । तर दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ । ‘कानले सबै कुरा सुनेको थिएँ, भदैनीले फूपु बचाउनुहोस् बचाउनुहोस् भनेको याद ताजै छ, अलि छिटो निकालेको भए सकभर भदैनी बाँच्थिन होला ।’
हीराले भक्कानिदै भनिन्, ‘भदैनी छोडेर गइसकी, अरु दाइहरु घाइते हुनुहुन्छ, नत घर रह्यो नत भदैनी ।’ माइतीमा मात्रै होइन, आफ्नो घरमासमेत त्यस्तै पीडा रहेको उनी बताउँछिन् । उनको घरसमेत पूर्णरुपमा क्षति भएको छ ।
मानवीय क्षति भने हुन पाएन । तथापि घर भने केही बाँकी छैन । ‘हामीले भोग्नसम्म पीडा भोगिरहेका छौँ, माइतीमा यति ठूलो समस्या भयो, घर केही रहेनन्, आफ्नो घरपनि सबै गइसक्यो, सबैतिर समस्या नै समस्या छ ।’
सरकारले अहिले राहत त दिइरहेको छ । तर पुनः स्थापनाको काम छिटो गरिदिन उनको सरकारसँग माग छ । अहिले जाजरकोट र रुकुम पश्चिममा अधिकांश गाउँमा यस्तै पीडामा मानिस रहेका छन् । यो पीडामा मल्हम लगाउनको लागि सरकार र विभिन्न निकायबाट राहत सहयोग त गइरहेको छ । तर राहत वितरणमा ढिलाइ भइरहेको गुनासो पनि छ ।
मनोविद्हरुले भूकम्पबाट प्रभावित भएकालाई मनोसामाजिक समस्या देखिनसक्ने जनाउँदै सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । विशेषगरी भूकम्पको त्रासमा रहेको महिला बालबालिकालाई मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यतातर्फ ध्यान दिन मनोविद्हरुको सुझाव छ ।
प्रतिक्रिया